काठमाडौं । निर्धारित मितिमा नै स्ववियु निर्वाचन गर्ने तीन दलका शीर्ष नेताको सहमति तीन दल निकट विद्यार्थी संगठनले २४ घन्टामा नै उल्टाएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४ मा हुने भनिएपनि पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुले सहमति गरेका हुन् ।
प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुबीच बिहीबार बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन ५ दिन पछि सार्ने सहमति भएको हो ।
बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बालुवाटारमा बसेको बैठकले फागुन १४ मा नै स्ववियु निर्वाचन गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्टै विद्यार्थी संगठनबीच निर्वाचन पछि सार्ने सहमति बनेको हो ।
त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरि प्रक्रिया अघि बढाएपनि विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) ले विरोध गर्दै आएको थियो ।