
एजेन्सी । अमेरिकी संसदका रिपब्लिकन सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माथि छानविन गर्न माग गरेका छन् ।
उनको रुससँगको सम्बन्धलाई लिएर अमेरिकी संसदमा उनीमाथि प्रश्न उठेको छ ।

अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नु अगाडि रुससँग भएको टेलिफोन संवादलाई लिएर राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लाइनको आलोचना भएको थियो । उनले सोमबार नै राजिनामा दिइसकेका छन् ।
मंगलबार ह्वाइट हाउसका प्रवक्ताले यस विषयमा राष्ट्रपति ट्रम्पले हप्तादिन अगाडि मात्र जानकारी पाएको बताएका छन् । यो टेलिफोन वार्ताको विषयमा स्वतन्त्र छानविन गर्न रिपव्लिकन सांसदले नै माग गरेका हुन् ।
न्यूयोर्क टाइम्सले टेलिफोन रेकर्डका बारेमा समाचार प्रकाशित गरेसँगै उनी विवादमा तानिएका हुन् । राष्ट्रपतीय निर्वाचन अगाडि ट्रम्पका अभियानकर्ताहरुले लगातार रुपमा रुसी गुप्तर संस्थाका उच्च अधिकारीसँग लगातार सम्पर्कमा रहेको रिपोर्टमा उल्लेख छ ।
अधिकारीहरुले ट्रम्पको चुनावी अभियानका क्रमा रुसी अधिकारीसँग डेमोक्रेटिक नेशनल कमिटिको इमेल ह्याक वा निर्वाचनलाई प्रभावित पार्ने विषयमा छलफल भयो की भएन भन्ने प्रमाण भने फेला परेको छैन् ।
यस विषयमा अमेरिकी गुप्तचर संस्था एफबीआई र संसदको गुप्तचर समितिले अध्ययन गरिरहेका छन् । यस विषयमा माइकलको संलग्नता रह्यो हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
बाराक ओवामा प्रशासनले देश निकाला गरेका रुसी राजदुतसँग माइकलले वार्ता गरेको बताइएको छ । राष्ट्रले देश निकाला गरेका कुटनीतिज्ञसँग वार्ता गरेको भन्दै उनीमाथि अमेरिकी लोगान एक्ट उल्लंघनको आरोप लागेको छ । उनले त्यो समय वार्ता गरेका थिए जतिवेला उनी एउटा स्वतन्त्र नागरिक थिए ।
अवकास प्राप्त लेफ्टीनेन्ट जनर माइकलले यसअघि आरोप अस्वीकार गर्दै आएका थिए । अमेरिकी उपराष्ट्रपति माइक फेन्सलेसमेत माइकलको बचाउ गर्दै उनले दे निकाला गरिएका राजदुत सरगेइ किस्लेकसँग वार्ता नगरेको दाबी गर्दै आएका थिए । त्यस्तै ट्रम्पले समेत उनले कानुन उल्लंघन नगरको भन्दै उनको बचाउ गर्दै आएका छन् ।