देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ, यसले गरेका महत्वपूर्ण निर्णयहरु के के हुन् ?
यो बैठकले संगठनात्मक अभियान सञ्चालन गर्ने र शक्ति सञ्चय गर्ने, क्रान्तिकारी शक्तिको आत्मगत अवस्थालाई बलियो पार्ने र मोर्चालाई नेपाली राजनीतिको वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर संघर्षका कार्यक्रममा जोड गर्ने लगायतका विषयमा महत्वपूर्ण निर्णय लिएको छ ।
शक्ति सञ्चयको कुरा गर्नुभयो, शक्ति सञ्चयका आधारहरु के के हुन् ?
पहिलो आधार भनेको विगतमा नेपाली जनताले जुन क्रान्ति गरे, जुन मागका लागि उनीहरु संघर्ष गरे, लडे त्यो संघर्षको नेतृत्व गरिरहेको पार्टीका केही नेताहरुले त्यसप्रति विश्वासघात गरे । तर ती एजेण्डाहरु अहिले पनि यथावत छन् । जुन कुराका लागि लडे त्यो चाँही माग पूरा भएको छैन । त्यो एजेण्डा बोकेर हिँड्ने नेपालमा अर्को पार्टी छैन । क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा हो । यो कुरा जनताको बीचमा करिब करिब स्थापित भइसकेको छ । मुख्य आधार भनेको ति समस्याहरु समाधान भइसकेका छैनन् । हामीले जनतामा फेरि ति मागहरुलाई स्थापित गर्नका लागि फेरि क्रान्ति सम्भव छ, ति मागहरु पूरा गराउन सकिन्छ भनेर जनतामा गएका छौं । जनतामा जनयुद्धका एजेण्डा बोकेर हिड्ने पार्टी क्रान्तिकारी माओवादी मात्र हो भन्ने स्थापित भएर गएको छ । मानिसहरु निराश भएका छन्, तर निराश भएपनि समस्या त यथावत छ । निराश भएर बसिदिएर समस्याको समाधान त हुन्न । यसका लागि जनता अघि बढ्नु अवश्य पर्छ । यो नै हाम्रो पार्टीको शक्ति संचयको प्रमुख आधार हो ।
पार्टीसँगै मोर्चा पनि यो एक महिना जनताको बीचमा छ । आम जनतामा यो एक महिनाको अवधिमा देजमोप्रति जनताको धाराणा कस्तो पाउनु भएको छ ?
यो अभियानसँगै प्रत्यक्षरुपले म जनताको बीचमा छु । हामी पुगेको ठाउँमा जनता स्वस्फूर्त रुपमा संगठित भएका छन् । संगठन निर्माणका लागि कुनै कठिनाई छैन । मानिसहरु अत्यन्तै निराश थिए । अब निराशाबाट मात्रै त्यसको समाधान भएन । त्यसकारण मानिसहरु केही गर्नुपर्छ भन्नेमा लागे । अब केही गर्न चाँहि कहाँबाट गर्ने भन्ने कुरा त बुझ्नु प¥यो । त्यसकारण अहिले हाम्रो पार्टीका विषयमा तल जनतामा राम्रो र सकारात्मक धाराणा पाइएको छ । हाम्रा साथीहरुले जनताकोमा गएर संगठन बनाउँदा मानिसहरुले अस्वीकार गर्दैनन्, अहिले भएको यो एउटा नयाँ अनुभूति पनि हो । मानिसहरु सकारात्मक बन्दै गएका छन् । हाम्रो पार्टीप्रति जनताको समर्थन बढ्दै गएको छ ।
आम जनताले जुन वैकल्पिक शक्तिको अभाव महसुस गरेका छन् । त्यो वैकल्पिक शक्तिको राष्ट्रिय रुपमा हैसियत देखाउन सकिन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
हाम्रो तीन महिने अभियान छ । यसको १ महिना पनि पूरा भएको छैन । यो अवधिलाई हेर्दा अझै रफ्तार बढ्दा ठूलै तागत आईहाल्ला भन्ने ग्यारेन्टी त म गर्दिनँ । परिस्थिति त्यस्तो आउन पनि सक्छ, नआउन पनि सक्छ । तर हाम्रो पार्टी यो भन्दा सदृढ र क्रान्तिको नेतृत्व गर्नलाई जनताले भरपर्दो शक्तिको रुपमा लिने अवस्थमा हामी अवश्य पुग्छौं ।
जनताका विषयलाई लिएर संघर्ष गर्ने सन्दर्भमा विप्लव माओवादीसहितका केही पार्टीले क्रान्ति गर्ने पार्टी हौं भन्ने देखाउन खोजिरहेका छन्, त्यसको प्रभाव चाँहि कस्तो छ ?
त्यसको प्रभाव आम जनतामा त्यति परेको छैन । क्रान्तिप्रति विश्वास गर्ने परिपक्व मान्छेले विप्लव नेतृत्वको पार्टीले गर्छ भन्ने कुरा पत्याएका छैनन् । ठोक्नुपर्छ, हान्नु पर्छ भनेर मात्रै क्रान्ति हुँदैन र विप्लवको पार्टीलाई जनताले स्वीकार नै गरेका छैनन् भन्ने लाग्छ । त्यसकारण केही मानिसले जनतालाई क्रान्ति गरिन्छ भनेर भ्रम पारेको मात्रै देखिन्छ । वास्तविकतामा गरेको पनि देखिदैन, धेरैलाई भ्रम के छ भने यो चाँहि उग्र वामपन्थी विचार राख्ने संगठन हो, जस्तो पनि लाग्छ । तर त्यस्तो होइन । बाहिर उग्रवामपन्थी कुरा गरे पनि उसले भित्रबाट दक्षिणपन्थी धारलाई नै समाएको छ । केही युवाहरु सक्रियतापूर्वक लागेको पनि देखिन्छ । तर त्यो बिना विचार, विना योजना कति दिन लाग्ने, त्यसकारण उनीहरुले नेपालको राजनीतिक क्रान्तिको नेतृत्व गर्न सक्दैनन् ।
पछिल्लो समय क्रान्तिकारी माओवादीप्रति जनताको आशा बढेर गएको देखिन्छ । पार्टीमा एकीकरण र ध्रुवीकरण पनि बढेको छ । अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुलाई के आव्हान गर्नुहुन्छ ?
यसबीचमा एकता र ध्रुवीकरणको प्रक्रिया चलिरहेको छ । यो सकारात्मक कुरा हो । सहि विचार र सही राजनीतिक लाईन लिनेहरु एकताबद्ध हुनुपर्छ । अझै पनि एउटा ठूलो ध्रुवीकरणको सम्भावना छ । माके र विप्लव समूहमा रहेका क्रान्किारीहरु क्रान्ति गर्नका लागि हामीसँग आउँछन् भने त्यहाँ हामी संकीर्ण हुँदैनौं । यो वीचमा ती पार्टीका तल्ला कमिटिमा रहेका क्रान्तिकारीहरु फर्किएर हाम्रो पार्टीमा आएका छन् । र, हामीले उनीहरुलाई उचित जिम्मेवारी दिएर काममा लगाएका छौं । पछिल्लो चरणमा देखा परेको यो सकारात्मक प्रवृत्ति हो । यसले क्रान्तिकारी पार्टीलाई नै बलियो बनाउने काम गर्छ ।
तर विप्लव माओवादीका नेताहरुले त सार्वजनिक रुपमा नै पार्टी एकतामा जोड गर्दै आएको सुनिन्छ नि ?
विप्लवजीसँग हाम्रो अध्यक्षसँग केही कुराकानी भएको छ । कोही कुराकानी गर्न आउँछ भने ढोका नै बन्द गर्ने कुरा भएन । तर हाम्रो तर्फबाट स्पष्ट रुपमा तपाईहरुसँग तत्काल पार्टी एकता सम्भव छैन भन्ने कुरा राखेका छौं । अहिलेकै विद्यमान वैचारिक राजनीतिक लाईनको आधारमा पार्टी एकता सम्भव छैन । त्यति हुँदाहुँदै पनि जुन तरिकाले पार्टी एकता हुँदैछ भनेर प्रचार भएको छ, त्यो गलत प्रचार हो । त्यसरी प्रचार गर्नुहुँदैन थियो । उनीहरुसँग कार्यगत एकता भएपनि पार्टी एकता हाम्रो एजेन्डामा छैन ।
राष्ट्रियता, जनतन्त्र जनजीविकाका सवालमा तीन वाम घटक बीच एक महिना कार्यगत एकता गर्नुभयो, अब त्यसको सम्भावना कस्तो छ ?
यो एक महिने अनुभवले हामीलाई के देखाएको छ भने जुन प्रकारका कार्यक्रम गरियो, ती प्रभावकारी नै भए । जनतामा उत्साह त पैदा गरायो । तर कार्यगत एकता गर्ने अन्य शक्तिहरुको जुन भूमिका रह्यो, त्यो चाँहि त्यति सकारात्मक हामीले देखेनौं । हाम्रो पार्टीलाई कमजोर बनाउने, हाम्रो पार्टीको भूमिकालाई कमजोर बनाउने किसिमका क्रियाकलाप पनि गरेको हामीले पायौं । कार्यगत एकताको दौरानमा त्यस्तो गरिनु हुन्न । एक महिनाको अनुभवले तत्कालै कार्यगत एकता गरिहाल्नुपर्छ भन्ने उत्साह हामीमा पैदा हुन सकेन ।
राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरु असाध्यै जटिल र संकटपूर्ण अवस्थामा जनताको अपेक्षाअनुरुप देजमो खरो रुपमा उत्रिन नसकेको भन्ने गुनासो छ, के भन्नुहुन्छ ?
ठीकै कुरा हो, जनताको अपेक्षा अनुरुप खरो रुपमा उत्रिन सकेनौं । जनताको अपेक्षा हुनु आफैमा एउटा राम्रो कुरा हो । तर के हुन्छ भने चाहना राख्ने एउटा पक्ष हो, व्यवहारिक रुपमा त्यसलाई पूर्ति गर्ने आत्मगत शक्ति त एकैपटक मजबुत भइहाल्दैन । त्यसका लागि समय चाहिन्छ । कैयौं उदारचढावका बीचबाट जानुपर्छ । आम जनताले यसलाई त्यति धेरै बुझेका हुँदैनन् । उनीहरुमा गरिहालोस्, भैहालोस भन्ने हुन्छ । यस्तो परिस्थितिमा किन ढिलो गर्ने भन्ने हुनाले जनताको अपेक्षा बढी हुन्छ । तर, जसले त्यो काम गर्नुछ, त्यही संगठनका लागि चाँहि थुप्रै जटिलता हुने भएकाले त्यसलाई पूरा गाह्रो हुने अन्तरविरोध हुन्छ । क्रान्तिकारी शक्तिसँग जनताले धेरै अपेक्षा गर्नु र त्यो शक्तिले त्यसलाई पूरा गर्न नसक्ने अवस्था प्रायः हुन्छ ।
अहिले संसदवादीको विकल्प संसदवादी जस्तो देखिन खोजिरहेको छ । राष्ट्रियताको विषयमा पनि संसदवादी नै सडकमा आउने जुन अवस्था पैदा भएको छ, त्यसलाई चिरेर जाने तपाईहरुले केही कार्यक्रम ल्याउनु भएको छ ?
हामीले ल्याएका छौं । सत्तामा बसिसकेका शक्ति भएकाले त्यहीभित्रका सबैलाई परिचालन गर्न उनीहरुलाई अनुकलता छ । त्यहीका एउटा शक्ति एकातिर र अर्को अर्कातिर छ । हामीलाई त्यो अनुकलता छैन । त्यसकारण आम क्रान्तिकारी शक्ति नै जुर्मुराएर उठ्नुपर्छ । सत्तासँग नजिक भएकालाई जस्तो न मिडियाले हामीलाई साथ दिन्छ, न कर्मचारीले हामीलाई साथ दिन्छन्, जबकि उनीहरुले पूरै साथ पाइरहेका हुन्छन् । सानो काम गरेपनि उनीहरुको धेरै ठूलो प्रचार हुने, हामीले ठूलै काम गरेपनि प्रचार नहुने अवस्था छ । किनभने यो जुन मिडिया छ, त्यो पनि प्रायोजित छ । क्रान्तिकारी शक्तिसँग धेरै चुनौती र कठिनाई छ । यसका बिचबाट क्रान्तिकारी शक्तिले अघि बढ्नुपर्छ । जो चाँहि सत्तामा नै छ, भोलि पनि जान सक्छ, त्यस्ता शक्तिलाई अनुकुलता हुन्छ । त्यसैले अनुकुलताजस्तो देखिएको छ ।
देजमोले अबको चुनाबमा भाग लिने कुरा पनि चर्चामा छ, बैठकमा भाग लिने÷नलिनेबारे के कुरा भयो ?
भाग लिने नलिने विषयमा छलफल भएको छैन । अहिले आवश्यक पनि छैन । पहिलो कुरा चुनाव हुने नहुने टुंगो लागेको छैन । दोस्रो कुरा यो जुन प्रतिगामी संविधान हो, यसलाई जसरी पनि कार्यान्वयन गर्नका लागि मात्रै चुनावको कुरा गरिएको छ । त्यसकारणले हामीले अहिले एजेण्डा बनाएर छलफल गरेनौं । अर्को कुरा प्रतिक्रियावादी व्यवस्थाको निर्वाचनलाई उपयोग गर्ने कि नगर्ने भन्ने कुरा कार्यनीतिक प्रश्न हो । उपयोग गर्दा फाइदा हुने भए उपयोग गर्छौ, नभए भाग लिदैनौं, अहिले यसै हो भनेर निर्णय भइसकेको छैन ।
अब यो मोर्चा वैधानिक संघर्षका लागि बनेको हो । यसको दर्ताको विषय पनि उठेको छ । अहिलेसम्म मोर्चा दर्ता नगर्नुको कारण चाँहि के हो ?
यहाँ अनौठो के छ भने निर्वाचन आयोगले दर्ता गर्दछ । यहाँ दर्ता भएपछि सामान्यतया निर्वाचनमा जान दर्ता भएको भन्ने अर्थ लाग्छ । जबकी हाम्रो निर्वाचनमा जाने÷नजाने निश्चित भइसकेको छैन । बहिस्कार पनि गर्न सकिन्छ । त्यसकारण वैधानिक संगठनलाई पहिले पनि दर्ता गर्न सकिन्थ्यो । तर निर्वाचन प्रायोजनकै लागि दर्ता भएको भनिने हुनाले हामी त्यो म्यासेज दिन चाँहदैनौं ।
अहिले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिलाई चाँहि पार्टी र मोर्चाले कसरी हेरेको छ ?
यो प्रतिक्रियावादी व्यवस्था, राज्य र शक्तिहरु संकटमा छन् । यो क्रान्तिका लागि राम्रो कुरा हो । यो नभई क्रान्ति पनि हुँदैन । उनीहरुको अन्तरविरोध हल नहुनु पनि क्रान्तिकारीलाई अघि बढाउन क्रान्तिकारीलाई सहज पर्छ । अर्को यसको चाँही मुल्यांकन गर्दा हामी के पाउँछौं भने क्रान्तिकारी शक्तिको आत्मगत अवस्था बलियो हुने हो भने क्रान्तिलाई पूरा गर्न सम्भव छ । तर क्रान्तिकारीहरुको आत्मगत अवस्था पनि कमजोर नै छ । त्यो अन्तरविरोधको हल गर्नुपर्छ ।
अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि उनका गतिविधिले जुन प्रकारको विश्व राजनीतिमा शक्ति सन्तुलनमा परिवर्तन ल्याएको छ, यसले कतातिर संकेत गरेको छ ?
अब डोनाल्ड ट्रम्पले जुन नीति अघि सारेका छन्, यो खुला हस्तक्षेपकारी नीति र पश्चगामी सोच अनुसारको नीति हो । यसले साम्राज्यवादीको क्याम्पमा अन्र्तविरोध बढेको छ । किनभने यसले साम्राज्यवादी विश्वव्यवस्था नै धरापमा पर्छ । त्यसकारण यसले अन्र्तविरोधहरु बढेका छन् । तेस्रो विश्वयुद्ध हुन्छ भन्न पनि थालिएको छ । नवउदारवादी स्थायी व्यवस्था हो भन्नेहरु नै यसमा संकट आएको रुपमा लिन थालेको छ । यसले उनीहरुबीचको यो फुट पनि क्रान्तिकालाई अनुकुल अवस्था नै हो ।
भारतमा पनि माओवादी आन्दोलन चलिरहेको छ । नेपालमा पनि त्यसलाइै जोड्ने गरी क्रान्तिकारी माओवादीले केही सोचेको छ कि छैन ।
हामीले सोचेका छौं । पहिले हामीले रिममा सक्रिय थियौं । ती सम्बन्धहरु यथावत कायम छन्, राज्यको दमन, हस्तक्षेपलगायत अन्य कतिपय व्यवहारिक कारणले त्यसलाई मूर्तरुप दिन कठिनाई भएको छ ।