अक्टोबर क्रान्ति र जनयुद्ध दिवस

अक्टोबर क्रान्ति र जनयुद्ध दिवस

सन् १९१७ अक्टोबरमा रुसमा कम्युनिस्ट पार्टीको नेतृत्वमा महान् समाजवादी क्रान्ति सम्पन्न भएको थियो । अहिले सो क्रान्ति सम्पन्न भएको एक सय वर्ष पूरा भइसकेको छ । अहिले विश्वमा विभिन्न देशका साथै नेपालमा पनि अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउने काम भइरहेको छ । त्यसै क्रान्तिको आलोकमा विश्वमा र नेपालमा पनि सर्वहारा वर्गले आफ्नो तथा उत्पीडित जनसमुदायको मुक्ति र साम्यवादको दिशामा अगाडि बढ्नका लागि ऐतिहासिक उत्प्रेरणा प्राप्त गरेको थियो । २०५२ फागुन १ गते नेपालमा नयाँ जनवादी क्रान्ति संम्पन्न गर्नका लागि सञ्चालित महान् जनयुद्ध पनि रुसी अक्टोबर समाजवादी क्रान्तिकै एक अभिन्न अङ्ग थियो ।

२०७३ साल फागुन १ गते हामीले बाइसौ महान् जनयुद्ध दिवस मनाएका छौ । २२ वर्ष अगाडि नेपालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ता स्थापना गरी समाजवादको दिशामा अगाडि बढ्नका लागि सामन्तवादका साथै साम्राज्यवाद र विस्तारवादद्वारा हुँदै आएका उत्पीडन तथा हस्तक्षेपका विरुद्ध महान् जनयुद्धको उद्घोष गरिएको थियो । आज हामी त्यसै जनयुद्धको सजीव रुपमा संस्मरण गरिरहेको छौं ।

हामी अत्यन्तै छोटो अवधिमा भव्य र आश्चर्यजनक रुपमा रणनीतिक रक्षा र सन्तुलनको प्रक्रिया पारगर्दै देशका विशाल ग्रामीण क्षेत्रहरुमा अनेर्कौ अस्थायी आधार इलाका र जनसरकारहरुको स्थापना गर्दै अगाडि बढेका थियौं । सात डिभिजनसम्म जनमुक्ति सेनाको निर्माण गरिएको थियो । दश वर्षसम्म सञ्चलित महान् जनयुद्धले सिङ्गो देशलाई मात्र थिएन, अपितु विश्वलाई नै चकित तुल्याएको थियो ।
महान् जनयुद्धको प्रक्रियामा झण्डै चौध हजार जति वीर वीराङनाहरुले सहादत प्राप्त गरेका थिए । सयौ योद्धाहरु राज्यद्वारा वेपता पारिएका थिए र विशाल संख्यामा जनमुक्ति सेनाका योद्धाहरु अपाङ्ग बन्न गएका थिए । यस प्रकारको त्याग, वीरता र बलिदानमा आधरित कीर्तिमानहरुका बिचवाट महान् जनयुद्धले निकै ओज, गरिमा र भव्यताका साथ नयाँ उँचाइ स्थापित गर्दै विजयको सन्निकट पुग्दै गइरहेको थियो । परन्तु, विडम्बना पार्टीको मूल नेतृत्वमा गंभीर प्रकारको दक्षिणपन्थी अवसरवादी विचलन पैदा हुनु र त्यसलाई समयमै परास्तगर्न नसक्नुको कारण जनयुद्धले गंभीर धक्का खान पुग्यो । हामीले दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गका साथै वैदेशिक प्रतिक्रियावादी उत्पीडन र पुरानो संसवादी शासन सत्ताका विरुद्ध क्रान्तिको झण्डा उठाएका थियौं । परन्तु, आज तिनै वर्ग, त्यही सत्ता र तिनै शक्तिहरुको हालीमुहाली चलिरहेको छ । त्यतिमात्र होइन, जनयुद्धको नेतृत्व गर्ने कैयौ नेताहरु वर्गीय तथा राष्ट्रिय आत्मसमर्णवादको वाटो पकड्दै प्रतिक्रियावाद उन्मुख बन्दै गएका छन् । यद्यपि हामी पार्टीमा विद्यमान दक्षिणपन्थी नवसंशोधनवादकाविरुद्ध विद्रोहको झण्डा उठाउँदै पुनःक्रान्तिको तयारीको दिशामा अगाडि बढिरहेका छौं, परन्तु, जनयुद्ध र नयाँ जनवादी क्रान्तिले खाएको अजङ्गको धक्का र आहतवाट भने अझै मुक्तहुन सकेको छैनौ ।

आज महान् जनयुद्ध र क्रान्तिका विरुद्ध वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादको बाटो समातेका नवसंशोधनवादी नेताहरु नेपालमा नयाँ जनवादी क्रान्ति पुरा भइ सक्यो र अव समजवादी क्रान्तिको बाटोमा लाग्नु पर्छ भन्दै ठुलो विभ्रमका खडा गरिरहेका छन् । त्यो विभ्रम तोड्न र त्यसलाई सैद्धान्तिक तथा राजनीतिक रुपमा परास्त गर्नका लागि हामीले लेनिनको नेतृत्वमा सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्तिको गरिमामय इतिहासवाट एउटा अविस्मरणीय पाठ सिक्न जरुरी छ । त्यो वेला रुसमा १९१७ फरबरीमै पुँजीवादी जनवादी क्रान्ति संम्पन्न भइसकेको थियो र फरबरी क्रान्तिले रुसमा लोकतान्त्रिक गणतंन्त्रको स्थापना गरेको थियो । परन्तु, लेनिनले त्यस प्रकारको लोकतान्त्रिक गणतन्त्रका विरुद्ध समाजवादी कार्यक्रम र कार्यदिशाको उद्घोषण गरी महान् अक्टोवर समाजवादी क्रान्तिलाई सम्पन्न तुल्याउनु भएको थियो । त्यसको ठीक विपरीत नेपाली नवसंशोधनवादीहरु लोकतान्त्रिक गणतंन्त्रको संविधान कार्यन्वयनको कार्यक्रम र कार्यदिशा अवलम्वन गरी पश्चगामी राज्यसत्ताको रसास्वादनमा डुव्दै अत्यन्तै विचित्र तथा भद्दा ढङ्गको राजनीतिक प्रहसन र गाइजात्रामा लागेका छन् ।

आज हामी एकातिर जनयुद्ध दिवस र अर्कोतिर अक्टोवर क्रान्तिको शतवार्षिकी मनाउन गइरहेका छौं । अहिले हामीसित अक्टोवर समाजवादी क्रान्तिले स्थापना गरेका र त्यस प्रक्रियामा विश्वमा विकसित भएका समाजवादी राज्यसत्ता छैनन् । त्यसैगरी हामीसित जनयुद्धको क्रममा विकसित आधार इलाका र जनसरकार पनि छैनन् । तर हामीसित क्रान्तिले स्थापित गरेका समृद्ध अनुभव, शिक्षा, सहादत, त्याग र वीरताका अमोघ अस्त्र, मूल्य तथा विचार छन् । माक्र्सवाद–लेनिनवाद–माओवादको अपराजेय विचारधारा छ । विश्वमा साम्राज्यवाद र नेपालमा प्रतिक्रियावाद आफ्नै अनेकौं असमाधेय अन्तर्विरोध र सङ्कटहरुमा फसेका छन् । विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदायका क्रान्ति एवम् मुक्तिका आदर्श तथा सपना यो वेला अझै सशक्त रुपमा मुखरित भएका छन् र क्रान्तिको आवश्यकता निकै टड्कारो वन्दै गएको छ । यद्यपि क्रान्तिले हारेको छ, तर त्यो क्षणिक मात्र हो । क्रान्ति हारजितका अनेकौ श्रृङ्खला र आरोह तथा अवरोहका घुम्तीहरु पारगदै अन्तिम विजयको दिशामा अगाडि बढने गर्दछ । इतिहासको द्वन्द्ववादले हामीलाई यही कुरा सिकाउँछ ।

कमरेडहरु, इतिहासबाट शिक्षालिदै वर्तमानमा सचेत एवम् क्रियाशील हुँदै र क्रान्तिको उज्ज्वल तथा जनताको इच्छित भविष्यप्रति आशावादी बन्दै गतिशील रुपमा दृढतापूर्वक अगाडि बढौ, विश्व र नेपालमा पनि क्रान्ति आवश्यक र संभव दुवै छ । यो वेला ऐतिहासिक अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी र महान् जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य यही नै हो ।
१ फागुन २०७३