इतिहास रच्ने पार्टी बनाउने विप्लवको दाबी

इतिहास रच्ने पार्टी बनाउने विप्लवको दाबी

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले इतिहास रच्ने पार्टी बनाउने उद्घोष गरेका छन् ।

पार्टीका ८ औं महाधिवेशन तथा २२ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले विगतमा पार्टी धर्मराए पनि प्रतिक्रियावादी शक्तिसँग कुनै हालतमा घुँडा नटेक्ने बताए ।

क्रान्तिको नेतृत्व गरेकाहरु नै क्रान्तिलाई सडकमा छाडेर केही बिकाउ माओवादीहरु संसदमा छिर्दैमा माओवादी सकिएको सपना नदेख्न संसदवादी दलसँग आग्रह गरे ।

उनले पार्टीमा साम्राज्यवादी र विस्तारवादीका किटाणुहरु छिर्दा अस्वस्थ भएको उल्लेख गर्दै त्यस रोगविरुद्ध आफूहरु लडिरहेको उल्लेख गरे ।

पार्टीको महाधिवेशन देशविरुद्धको षढयन्त्रविरुद्ध क्रान्तिको उद्घाटन भएको उल्लेख गर्दै उनले आफूहरुले बाटो देखाउने र जनताले क्रान्ति गर्ने उल्लेख गरे । माओवादी शक्ति हारेर नभई जितेर शान्ति प्रक्रियामा आएको हेक्का राख्न संसदवादी दलहरुलाई आग्रह गरे ।

अहिलेको राज्यसत्ता दलालको राज्यमा परिणत भएको भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेको पार्टीले नै अहिले देश र जनताविरुद्ध कदम चालेर विस्तारवादीको नांगो दलाली गरिरहेको उल्लेख गरे ।

उनले देशमा ४० लाख सुकुम्बासीको टाउको ओताउने ठाउँ नभएका बेला सरकारले सुकुक्बासीको टहरामा डोजर लाएको स्मरण गर्दै उनीहरुको पुर्नस्थापना नहुन्जेलसम्म आफूहरुले लडिरहने उल्लेख गरे ।

विगतमा माओवादी नामधारी केही व्यक्तिले धोका दिएका कारण अहिले पनि जनतामा फेरि धोका हुन्छ कि भन्ने आशंका रहेको उल्लेख गर्दै महाचिव विप्लवले आफूहरु जनताको झुपडीबाट जनताको अधिकारका लागि बलिदान दिन तयार रहेको तर जनतालाई धोका दिन र संसदवादीका अघि लत्रिन तयार नरहेको उल्लेख गरे ।

अहिले युवाहरु बेचिइरहेको उल्लेख गर्दै विदेश गएका युवाको रेमिट्यान्सबाट अर्थतन्त्र चलेपनि उनीहरुलाई संरक्षण गर्ने राज्यसँग कुनै नीति नै नरहेको उल्लेख गरे । उनले अहिलेको सरकारले उद्योगी व्यापारी, महिला, दलित, जनजाति कुनै पनि वर्ग क्षेत्र र सम्प्रदायलाई अधिकार नदिने उल्लेख गर्दै अहिलेको संघीयताको खाका जनताको अधिकार खोस्ने र दलालहरुको शासन लाद्ने नयाँ तरिका भएको बताए ।

पहाडे र मधेसी जनतालाई भिडाउने कसरतमा अहिलेको सरकार रहेको उल्लेख गर्दै जनतालाई भ्रममा नपरी समाजवाद र साम्यवादका लागि लडाईमा तयार हुन आग्रह गरे । नेपाली जनतालाई फुटाउन ठूलो षढयन्त्र भइरहेको उल्लेख गर्दै यहाँका सर्वहारा वर्गले सामन्तवादी राज्यसत्ताका विरुद्ध गरेको संघर्ष गरेको स्मरण गरे ।

अहिलेको सरकारले भूकम्प पीडितलाई अहिलेसम्म राहत प्रदान नगरेको, सहिद परिवार, वेपत्ता र घाइतेलाई अहिलेसम्म राहत नदिएको उल्लेख गर्दै निम्सरा राज्यले केही पनि गर्न नसक्ने भएकाले पुनः नयाँ संघर्षको तयारीमा लाग्न उनले आग्रह गरे ।

विगतका सबै सन्धी सम्झौता खारेज हुनुपर्छ भन्ने प्रचण्डले नै असमान सन्धी सम्झौतालाई संस्थागत गरेको उल्लेख गर्दै उनले विगतमा राष्ट्रियताको नारा प्रचण्ड बाबुराम भारतीय विस्तारवादका अघि गरुढका अघि सर्प लट्पटिएको जस्तो लटपटिएको उल्लेख गरे ।

काठमाडौंको खुल्लामञ्चमा उद्घाटन भएको विप्लव नेतृत्वको माओवादीको ८ औं महाधिवेशनको बन्दसत्र रोल्पाको थवाङमा हुनेछ ।