काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका घोषणाको मापदण्ड परिमार्जन गर्ने गरी प्रस्ताव ल्याएको छ ।
मन्त्रालयको नयाँ मापदण्डका आधारमा हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका घोषणा गर्नमा थप सहजता हुने अनुमान गरिएको छ । अहिले हिमाली जिल्लामा नगरपालिका हुनका लागि १७ हजार जनसंख्या हुनुपर्ने व्यवस्था छ ।
त्यस्तै पहाडमा कम्तिमा ३१ हजार र काठमाडौ उपत्यका तथा तराई एवं भित्री मधेसमा कम्तिमा ६० हजार जनसंख्या भएपछि मात्रै नगरपालिका घोषणा गर्न सकिने व्यवस्था थियो ।
मन्त्रालयले हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका घोषणा गर्न जनसंख्याको मापदण्ड अनिवार्य नहुने व्यवस्था प्रस्ताव गरेको छ । यसका कारण अब हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका बनाउन सहज हुनेछ ।
देशमा हालसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको संख्या २ सय १७ छ । मन्त्रालयले हिमाली जिल्लामा नगरपालिका घोषणाका जनसंख्याको आकार घटाए पनि अन्य भौतिक पूर्वाधार भने पुरानै मापदण्डका आधारमा हुनुपर्नेछ ।