काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा मनोमानी भएपछि तीन जना केन्द्रीय सदस्यले विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

नयाँ सदस्यता तथाकथित ठूला भनिएका संगठनले भागबण्डा गरेको र केन्द्रीय सदस्यहरुलाई नै नयाँ सदस्यको नामावली हेर्न नदिइएको उनीहरुको भनाई छ ।

महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवर, रोशन पुरी र माधव दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै सदस्यता वितरणमा मनोमानी र गैरपत्रकारलाई सदस्यता दिएको उल्लेख गरेका छन् ।

‘पत्रकार महासंघको केन्द्रमा समेत यसलाई (सदस्यता वितरणलाई) अपारदर्शी ढंगले भागवण्डाका रुपमा अगाडि बढाउने काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एकातिर गैर पत्रकारलाई सदस्यता दिएको भनेर विवाद हुनु, अर्कातिर यतिधेरै सदस्य एकैपटक थपिनु संयोगमात्रै पक्कै होइन होला ।’

गैरपत्रकार र गैर नेपालीले समेत पत्रकार महासंघको सदस्यता पाएको व्यापक चर्चा भइरहेको बेला तीन जना केन्द्रीय सदस्यहरुले विज्ञप्तिमार्फत गत पुस २७ गते बसेको बैठकमा महासचिव उजिर मगरले केन्द्रीय समितिको बैठकमा नै नयाँ सदस्यको सूची केन्द्रीय समितिमा ल्याउन नमिल्ने बताएको उल्लेख गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा नै नयाँ सदस्यबारे विवाद भएपछि नयाँ सदस्यको नाम सचिवालयमा छलफल गरी उपलब्ध केन्द्रीय समितिमा प्रस्तुत गर्ने र केन्द्रीय सदस्यहरुले राय दिने निर्णय भएपनि त्यसको कार्यान्वयन नभएको उनीहरुको भनाई छ ।

यसैबीच, नेपाल पत्रकार महासंघमा सदस्यताका लागि बाराबाट एक जना भारतीय महिलाको सिफारिस भएर आएको र चितवनमा एमएम चाउचाउका मालिकलाई समेत सिफारिस आएको स्रोतले बताएको छ ।

चितवनमा गैर पत्रकारले सदस्यता पाएपछि नेपाल पत्रकार महासंघ चितवनका पूर्व उपाध्यक्ष समेत रहेका रमेशकुमार पौडेलले सदस्यता नविकरण समेत नगरेको जानकारी आएको एक केन्द्रीय सदस्यले बताएका छन ।

नेपाल पत्रकार महासंघमा लामो समयदेखि तीन दलीय सिन्डिकेट लागु गरेर मनोमानी ढंगले सदस्यता वितरण गर्ने, नीति निर्णयमा समेत तीन दल निकट पत्रकार संगठनहरु मात्रै सहभागी हुने गरेको भन्दै विरोध हुँदै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार