नेपाली युवाहरु आफ्नो भविष्यको निम्ति भांैतारिदै यत्रतत्र लरखराइरहेको अवस्था छ । दिन प्रतिदिन यो परिस्थिति झनै विकराल र गम्भीर बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो मुलुकमा कुरुपता र अन्धकारमय जीवनको कहालीलाग्दो अवस्थाले नेपाली जनता छटपटाइरहेका छन् । राज्यका उच्च निकायमा भएकाहरुदेखि ज्याला मजदूरी गरेर जीवन चलाइरहेकाहरु सबै आ–आफ्नै दुनियाँमा कुदिरहेका छन् । यहाँ सत्तामा रहेकाहरुका आ–आफ्नै स्वार्थ र दाउपेचहरु छन् । राज्य लुटिरहेकाहरु जसरी भए पनि लुटको स्वर्गलाई बचाइराख्न चाहन्छन्,दलाली र भ्रष्टाचारीहरु जसरी भए पनि आफ्नो गतिविधिलाई निरन्तर संरक्षण चाहन्छन् भने दलाल शासकहरु दलालीकरण गरेर सत्तामा टिकिरहन चाहन्छन् । तर विडम्बना गरिखाने नेपाली जनता पीडा, अभाव, छटपटाहट, अन्यौल र अस्तव्यस्तताको जीवन बाँच्न वाध्य छन् ।
आज तमाम उत्पीडित जनसमुदायहरु आफ्नै मुलुकमा आन्तरिक शरणार्थीको रुपमा बाँच्न बाध्य छन् । राज्य निरीह छ, कानून सोझा साझा र इमान्दार जनताहरुलाई बाँध्ने साङ्लो बनेको छ भने गरिव, उत्पीडित, उपेक्षित जनताहरु जाँतोमा मकै पिसिए जसरी पिसिइरहेकाछन् । बाह्य हस्तक्षेप खासगरी भारतीय विस्तारवादको हस्तक्षेप र दबदबाले मुलुकको सार्वभौम सत्तामाथि संकटको बादल मडारिइरहेको छ । सत्तामा रहेकाहरु उडुसले रगत चुसेजस्तो जनतालाई चुुसेर विस्तारवादसामु लम्पसार परिरहेका छन् । आफूलाई ठूला भनाउने पार्टीमा आवद्ध युवाहरुले आफ्नो निजी स्वार्थबाहेक अरु कुनै कुरामा चासो नै राखेको देखिदैन । उनीहरुमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा रतिभर पनि चासो र चिन्ता देखिंदैन ।
अहिले समग्र रुपमा राष्ट्रियता, जनतन्त्र र जनजीविका गम्भीर संकटतर्फ धकेलिएको छ । पूर्वमा टिस्टा र पश्चिममा काँगडा सिमाना रहेको नेपाल सन् १८१६ को सुगौली सन्धिदेखि सन् १९५० को नेपाल–भारतबीच सन्धि हँुदै वर्तमान अवस्थासम्म आइपुग्दा परिस्थिति झनै विकराल र जटिल बनेको मात्र होइन, मुलुकलाई भूटानीकरण गर्दै सिक्किमीकरणतर्फ लैजान दलाल शासकहरु नाङ्गो रुपमा लागिरहेका छन् ।
यतिखेर नेपालका शासकहरुले राजनीतिको स्वतन्त्र हैसियत गुमाइसकेको देखिन्छ । नेपाली आफैले कुनै महत्वपूर्ण निर्णय गर्न नसक्नु, केवल बिदेशीले नै सबै मिलाई दिनुपर्ने र निर्णय गरिदिनु पर्ने घटनाक्रमले यही तथ्यलाई उजागर गर्दछ । राजनीतिक पार्टीहरु, तिनका नेताहरु कुनै पनि निर्णय गर्न स्वतन्त्र देखिएका छैनन् । मुलुक र मुलुकबासीको भविष्यमाथि दूरगामी महत्व राख्ने निर्णयहरुमा पनि विदेशीहरु नै प्रभावी रहँदै आएका छन् ।
भारतीय विस्तारवादले त नेपालको माइक्रोमेनेजमेन्ट तहमा नै हस्तक्षेप गर्दै आएको छ । यही कारणले नै हो पछिल्लो समयमा भारतीय विस्तारवादका विरुद्ध स्वाभिमानी नेपालीहरुमा आक्रोश चुलिएर गएको छ र राष्ट्रियताको मुद्दा सबै देशभक्त र क्रान्तिकारीहरुको लागि प्रधान विषय बन्दै गएको छ । तर शासकहरु भने क्रान्तिकारी युवाहरुलाई विदेशतर्फ पलायन गराएर उनीहरुकै पसिनाबाट भित्रिने रेमिट्यान्समा लुट मच्चाएर देशका नदी नालाहरु बेच्न व्यस्त छ ।
यो कस्तो विडम्बना ?दलाल सरकार विदेशिएका युवाहरुलाई स्वदेशमा रोजगारीको सिर्जना गरेर उनीहरुको सीप र श्रमलाई मुलुक निर्माणमा खपत गराउनुको सट्टा विदेशतर्फ नै पलायन गराउन विमाको स्किम घोषणा गर्छ र विदेशी भूमिमा जीवन गुमाए २० लाख विमा पाउने घोषणा गर्छ । मुलुकबाट दक्ष र अदक्ष युवा शक्ति दिनानुदिन बाहिरिरहेको छ । मुलुकको चौतर्फी विकासका निम्ति युवाहरु नै प्रमुख आधार हुन् । आर्थिक विकास र समृद्धिको नारा फलाकेर नथाक्ने संसदवादी राजनीतिक पार्टीहरु र दलाल शासकहरु युवाहरु विदेशमा बेचेर उनीहरुको रेमिट्यान्समा लुट मच्चाएर मुलुकको समृद्धिको नारा दिन्छन्, लाजै नमानी ।
अब त अति भइसक्यो । युवाहरुले इतिहासबाट पाठ सिक्न जरुरी छ । नेपालको राजनीतिक आन्दोलनको इतिहासका वास्तविक चालक शक्ति भनेका युवाहरु नै हुन् । युवाहरु राजनीतिक पार्टी र व्यवस्थाका दास होइनन्, आमूल परिवर्तनका संवाहक हुन् । अब संसारभर छरिएर रहेका आमूल परिवर्तनका पक्षधर युवाहरुले पहल लिनैपर्छ– पटक पटक असफलसिद्ध संसदीय व्यवस्था फाल्न र मुलुकलाई स्वतन्त्र, आत्मनिर्भरसहित आमूल परिवर्तन गराउन ।
७० लाख भन्दा बढी विदेशीएका युवाहरुलाई स्वदेशमै फर्काएर सुन्दर, समुन्नत र स्वाधीन नेपाल बनाउने महानयात्रामा लामबद्ध गराउने परिस्थितिको सिर्जना गराउनै पर्दछ । त्यसको समग्रनेतृत्व क्रान्तिकारी युवाहरुले नै गर्ने हो । यसको अपेक्षा संसदवादी राजनीतिक पार्टी संवद्ध युवाहरुबाट अपेक्षा गर्न सकिन्न । नेपाली युवाहरु आफ्नो मुलुकको भविष्य निर्माण अभियानमा सरिक हुनै पर्दछ । कुनै पनि बहानामा मुलुकलाई बर्बाद पार्नेहरुका बिरुद्ध आम नेपाली युवाहरु एकताबद्ध भई जाइलाग्नै पर्दछ ।
देशको सर्वाङ्गीण विकास गरी विश्वमै नेपाललाई नमुनाको रुपमा स्थापित गराउने दिशामा अघि बढ्ने हिम्मत क्रान्तिकारी युवाहरुले गर्नै पर्दछ । क्रान्तिकारी युवाहरुको दिमागमा हिनता, कुण्ठा, पलायनता, निराशा, निष्क्रियता होइन, आशा, उत्साह, सक्रियता र गतिशिलता हुनुपर्दछ । क्रान्तिकारीहरुमा आगो खाएर अंगार ओकल्ने आँट, हिम्मत र साहस चाहिन्छ, हुन्छ । अब क्रान्तिकारी युवाहरुले जनसमुदायमा आशा र उत्साहको किरण फैलाउने बातावरण निर्माण गर्नै पर्दछ । यसको निम्ति क्रान्तिकारी युवाहरुले पहलकदमी लिन ढिला भइसकेको छ । ठोस परिस्थितिको ठोस विश्लेषणसहित क्रान्तिकारी युवाहरुले ‘क्वीक एण्ड करेक्ट’ निर्णयसहित पहलकदमी लिन सक्नु र सिक्नु पर्दछ ।
अब युवाहरुलाई विदेशी भूमिमा आफ्नो भविष्य होइन, आफ्नै भूमिभित्र भविष्य देखाउन सक्नुपर्दछ ।
क्रान्तिकारी युवाहरुसमग्र ३ करोडको हाराहारी नेपाली जनता र आउँदो पुस्ताको समेत भविष्य निर्माणमा लाग्नु पर्दछ । हाम्रो मुलुक हामीले नबनाए कसले बनाउने ? अहिले नबनाए कहिले बनाउने ? भन्ने कुरालाई आम युवापंक्तिका दिलदिमागमा सेट गराउनु जरुरी छ । जसको निम्ति अथक मेहनत, त्याग, बलिदानी र संघर्ष अपरिहार्य हुन्छ । यसको नेतृत्व क्रान्तिकारी सिद्धान्त र विचारले लैस भएको पार्टीको नेतृत्वमा रहेको क्रान्तिकारी युवाले मात्र गर्न सक्दछन् । जसकारण मोहन बैद्य ‘किरण’ नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी) पार्टीको विचारले संगठित क्रान्तिकारी युवाहरुले यसको पहलकदमी लिने आँट र साहस गर्नै पर्दछ । अहिलेको राजनीतिक चक्रब्युहलाई तोड्नै पर्दछ । तमाम बिकृति र विसंगतीलाई निर्मुल पार्नै पर्दछ । समाजमा रहेका सबै प्रकारका असमानताहरुलाई हटाउनै पर्दछ ।
समग्र रुपमा आमुल परिवर्तनको नेतृत्वदायी भुमिका क्रान्तिकारी युवाहरुले गर्नु पर्दछ । जनहितका लागि जनपक्षीय कार्यहरु गर्नुपर्दछ । जसको निम्ति जनताका दुश्मनहरुका विरुद्ध एटम बम बन्न सक्नु पर्दछ भने जनतासँग कपास जस्तो नरम बन्न पनि सिक्नु पर्दछ र आवश्यक पर्दा जनताको मुक्ति र आमुल परिवर्तनको निम्ति बलिदान दिन पनि तैयार हुनु पर्दछ । जस्तासुकै कठिनाई र चुनौतीका पहाडहरुलाई क्रान्तिमा बदल्ने दृढ संकल्पका साथ अघि बढ्नै पर्दछ ।
सर्वाहारा बर्गको अधिनायकत्वलाई आत्मसाथ गर्दै बल प्रयोगको सिद्धान्तअनुरुप संचालन गरिने जस्तासुकै बैधानिक या अवैधानिक संघर्षमा दृढताका साथ क्रान्तिकारी युवाहरु अघि बढ्नै पर्दछ भने सृजनशिलताका साथ साथै सिद्धान्त र व्यवहारको तालमेल मिलाएर लैजाने क्षमता प्रदर्शन गर्नु पर्दछ । जनसेवाका कार्यहरुलाई विशेष जोड दिंदै जनताका जीवनशैली र कार्यशैलीसँग मेल खाने बनाइनु पर्दछ । हरेक गाउँ बस्तीमा पुगेर जनताका समस्याहरुसँग एकाकार भई पार्टीका नीति, योजना र कार्यक्रमको साथै समग्र राष्ट्रिय राजनीतिक अवस्था र त्यसको दिर्घकालिन निकासबारे जनतालाई प्रष्ट पार्दै संगठित गरी क्रान्तिको महान अभियानमा सहभागी गराउनु पर्दछ ।
क्रान्तिको कार्यभारलाई पुरा गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गर्नैपर्ने वाध्यात्मक परिस्थिति सिर्जना भएको छ । साँच्चैनै अब क्रान्तिकारी युवाहरु डाइनामाइट बन्नै पर्दछ । यो नै क्रान्तिकारी युवाहरुमाथि इतिहासले सुम्पेको जिम्मेवारी हो । यसलाई क्रान्तिकारी युवाहरुले गहिरोगरी बोध गर्न जरुरी छ ।