संगठन शुद्धिकरणका लागि लागु औषधविरोधी कारबाही स्थगित

संगठन शुद्धिकरणका लागि लागु औषधविरोधी कारबाही स्थगित

एजेन्सी । फिलिपिन्समा प्रहरीले सञ्चालन गर्दै आएको लागु औषधविरोधी कारबाही अभियान स्थगित गरिएको छ ।

राज्य, प्रशासन र प्रहरीभित्रकै खराब र भ्रष्ट व्यक्तिहरुमाथिको कारबाहीलाई तिव्रता दिन भन्दै लागु औषध तस्करविरोधी कारबाहीलाई स्थगित गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

फिलिपिनी प्रहरी प्रमुख रोनाल्ड डेला रोसाले सोमबार पत्रकार सम्मेलनमा भ्रष्ट अधिकारीविरुद्धको कारबाहीलाई प्राथमिकता दिन लागु औषधविरोधी कारबाही रोक्नुपरेको जनाएका छन् । केही समयअघि एक दक्षिण कोरियाली व्यापारीको फिलिपिन्समा अपहरण पश्चात हत्या भएको थियो ।

प्रहरी ती व्यापारी जिइक जुलाई मुक्त गर्न असफल भएको थियो । उनको मृत शरीर फिलिपिनी प्रहरीको मुख्यालयको मैदानमा अक्टोबर महिनामा फेला परेको थियो । उनको टाउको क्षतविक्षत अवस्थामा प्लास्टिकमा पोको पारेको अवस्थामा भेटिएको थियो ।

‘सबै भ्रष्ट प्रहरीबाट सावधान !’ उनले भने, ‘पहिला हामीभित्रैका भ्रष्टविरुद्धको कारबाहीपछि हामी पुनः लागु औषधविरोध कारबाहीमा फर्किनेछौं ।’ डेला रोसाले पहिले आफ्नो संगठनभित्र सफाई गर्न आफूहरुलाई निर्देशन प्राप्त भएको पनि जनाएका छन् ।

उनले कहिलेसम्ममा आन्तरिक संगठनलाई सफाइ गरेर लागु औषधविरुद्धको कारबाहीमा फर्किन सकिन्छ भन्ने बारेमा यकिन गर्न अहिले नै कठिन रहेपनि सबैको सहयोग र सद्भाव रहेमा केही समयभित्रै यो कार्य पूरा हुने विश्वास व्यक्त गरे ।

फिलिपिन्समा रोड्रिगो डुटेर्ते राष्ट्रपति बनेदेखि नै लागु औषध तस्कर विरुद्ध कडा कारबाही अभियान चलाइएको थियो । सो क्रममा केही मेयरसहित लागु औषध तस्करीमा संलग्न ६ हजारको हत्या भएको अनुमान गरिएको छ ।