यही २०१७ जनवरीको तेस्रो साताका अन्तिम दिनहरुमा विश्वको अर्थ–राजनीतिमा दीर्घकालिन अर्थराख्ने दुईबटा महत्वपूर्ण परिघटना घटेका छन् । जनवरी २०का दिन डोनाल्ड जोन ट्रम्पको ४५औं अमेरिकी राष्ट्रपतिका रुपमा सपथ ग्रहण सम्पन्न भएको छ । सपथ ग्रहण समारोहका क्रममा उनले अमेरिकी जनतालाई करीव १८ मिनेट लामो सम्बोधन गरेका छन् । अर्कोतिर, यही जनवरी १७ देखि २० सम्म स्विटजरल्याण्डको डेभोसमा विश्व आर्थिक मञ्च (World Economic Forum)को वार्षिक बैठक सम्पन्न भएको छ । उक्त बैठकको सुरुका दिन चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङ्गले करीव १ घण्टा लामो अर्को एउटा संबोधन गरेका छन् । सरसर्ती हेर्दा, एउटा देशको राष्ट्रपतिले सपथ ग्रहणका क्रममा आफ्ना देशका जनतालाई गरेको संबोधन र अर्को कुनै देशको राष्ट्रपतिले अन्यत्र कतै एउटा सामान्य बैठकमा बोलेको विषयलाई त्यति ठूलो महत्व दिईरहनु पर्र्छ जस्तो देखिंदैन । तर, ती सम्बोधनहरुको अन्तरवस्तु औपचारिक अर्थमा मात्र सिमित छैन । ती सम्बोधनले विश्व अर्थ–राजनीतिको आगामी दिशालाई आ–आफ्नो ढङ्गले दिशानिर्देश गरेका छन् । यसले विश्वलाई एउटा नयाँ स्थितितिर धकेली रहेको छ । यो छोटो लेख यही विषयको वरीपरी केन्द्रित रहने छ ।
गएको अमेरिकी निर्वाचनमा डोनाल्ड जोन ट्रम्पले अप्रत्यासित जीत हासिल गरेका थिए । उनको गैर–राजनीतिक पृष्ठभूमी, ठाडो एवं आक्रामक प्रस्तुती, पार्टीभित्र आन्तरिक एकताको अभाव र महिलाबारे उनको विवादास्पद छवी आदिका कारण उनले विजय प्राप्त गर्छन् भन्ने प्रायः मानिसलाई लागेको थिएन । विश्व जनमत र संचार जगतको ठूलो हिस्सा उनका विरुद्धमा थियो । उनले मूख्यतः दुईबटा विषयलाई आफ्नो निर्वाचन प्रचारको मुद्दा बनाएका थिए । पहिलो थियो “अमेरिकालाई पुनः महान् बनाउ” भन्ने नारा र दोस्रो थियो नवउदारवाद र भूमण्डलीकरणको चर्को विरोध । उनको पहिलो नाराले जातीय अहंकारवादी अमेरिकी गोराहरुको अन्धराष्ट्रवादी तप्कालाई आकर्षित गर्न सफल भयो भने दोस्रो मुद्दाबाट साम्राज्यवादको नव–उदारवादी विचार र भूमण्डलीकरणद्वारा पीडित मजदुरहरुले थोरै भए पनि राहत पाउने अपेक्षा गरे । उनको विजयका पछाडिका मूख्य आधारहरु यीे नै थिए ।
ट्रम्पले आफ्नो सपथ ग्रहण समारोहको संबोधनका क्रममा यी र यस्तै विषयलाई पुनः जोडदिएर उठाएका छन् । उनले आफ्नो भाषणमा भनेका छन्, “गएका दशकहरुमा, हामीले अमेरिकी उद्योगहरुको मूल्यमा विदेशी उद्योगहरुलाई धनी बनाएका छौं, हाम्रै देशको सेनाको क्षमतालाई कमजोर बनाएर अन्य देशका सेनालाई आर्थिक सहायता दिएका छौं, हामीले आफ्नो सिमालाई बेवास्ता गर्दे अन्य देशका सिमाको रक्षा गरेका छौ, हामीेले समूद्रपारका मुलुकहरुमा खरवौं डलर खर्चगरेका छौं, जव कि अमेरिकाका भौतिक पूर्वाधारहरु जीर्ण भएर सकिंदै छन् ।” उनले अर्को ठाउंमा भनेका छन्, “आजका दिनबाट हाम्रो देशलाई नयाँ विचारले शासन गर्ने छ । … … व्यापार, कर, आप्रवासन तथा विदेश मामिलाका सम्बन्धमा गरिने सबै निर्णयहरु अमेरिकी मजदुरहरु र अमेरिकी परिवारलाई फाईदा हुने गरी गरिने छन् । हाम्रा कम्पनीलाई चोरेर र हाम्रा रोजगारीलाई सिध्याएर हाम्रो उत्पादनलाई ध्वस्त पारिएको छ, यसको हामीले रक्षा गर्नु पर्दछ । रक्षाले नै महान समृद्धि र सामथ्र्यको बाटो खोल्ने छ ।”
अर्को ठाउंमा उनले भनेका छन्, “हामीले दुईबटा नियम पालन गरौं – अमेरिकी सामान किनौं, अमेरिकी सामान भाडामा लिऔं । हामीले, विश्वका अन्य राष्ट्रहरुसंग मित्रता र सद्भावको चाहना राख्ने छौ । तर त्यो हामीले आफ्नो हितलाई प्राथमिक स्थानमा राख्ने सबै राष्ट्रको अधिकार हुनेछ भन्ने मान्यताका आधारमा गर्ने छौ ।” अन्तमा उनले आफ्नो संबोधनलाई “हामीले अमेरिकालाई फेरी बलियो बनाउने छौं, हामीले अमेरिकालाई फेरी सम्पन्नशाली बनाउने छौं, हामीले अमेरिकालाई फेरी स्वाभिमानी बनाउने छौं, हामीले अमेरिकालाई फेरी सुरक्षित बनाउने छौं, हामीले अमेरिकालाई फेरी महान बनाउने छौं” भनेर टुंग्याएका छन् । ट्रम्पका यी विचारहरु र भाषणमा व्यक्त उनका अन्य भनाईहरुले अहिलेको विश्व परिस्थितिमा विशेष अर्थ राख्दछ । अमेरिकालाई पुनः महान् बनाउनका निम्ति उनले आफ्नो संबोधनमा वारंवार राष्ट्रिय एकताको कुरा उठाएका छन् । त्यो एकता बुर्जुवा अन्ध–राष्ट्रवादमा आधारित छ र त्यसमा फासीवादको नमीठो गन्ध आउंछ । अर्कोतिर, उनले नव–उदारवादको उच्चारण नगरी संरक्षणवादको सिधा वकालत गरेर आफुलाई नवउदारवाद र भूमण्डलीकरण विरुद्धमा उभ्याएका छन् ।
अर्कोतिर, चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङ्गले नवउदारवाद र आर्थिक भूमण्डलीकरणको पक्षमा बलियो वकालत गरेका छन् । डेभोस बैठकमा गरेको सम्बोधन भाषणमा उनले भनेका छन्, “यो साँचो हो कि आर्थिक भूमण्डलीकरणले नयाँ समस्याहरु जन्माएको छ, तर यतिले मात्र आर्थिक भूमण्डलीकरणलाई पूर्णतः खारेजगर्नु पर्दछ भन्ने कुराको पुष्टि हुन सक्दैन । बरु हामीले आर्थिक भूमण्डलीकरणलाई परिस्थिति अनुकुल बनाउनु पर्दछ, यसका नकारात्मक असरलाई कमगर्नुृ पर्दछ र यसका उपलव्धीलाई सबै देश तथा राष्ट्रहरुसम्म पु¥याउनु पर्दछ ।” उनले भूमण्डलीकरणका सामु मूख्यतः तीनवटा समस्या रहेको उल्लेख गरेका छन् । ती हुन् – “पहिलो, भूमण्डलीय आर्थिक बृद्धिका लागि आवश्यक बलियो चालक शक्तिको अभावले विश्व अर्थतन्त्रको स्थिर बृद्धिलाई कायम राख्न अप्ठ्यारोे भएको छ । … … दोस्रो, अपर्याप्त भूमण्डलीय आर्थिक प्रशासनले भूमण्डलीय अर्थतन्त्रमा देखिएका नयाँ विकासलाई परिस्थिति अनुकुल बनाउन गाह्रो भएको छ । … … तेस्रो, असमान भूमण्डलीय विकासले सम्बृद्ध जीवन बाँच्ने जनताका अपेक्षालाई संबोधन गर्न मुस्किल भएको छ ।”
उनले समस्या तेस्र्याएका मात्र होईनन् तीनको समाधान पनि दिएका छन् । उनका समस्या समाधानका उपायहरु यी हुन् – “पहिलो, हामीले उत्पादनका लागि गतिशील र नवीनता उन्मूख मोडेल विकासगर्नु पर्दछ । … … हामीले आर्थिक बृद्धि र त्यसको गतिलाई धान्नका लागि आवश्यक क्षेत्र विस्तार गर्न नयाँ नीति तथा उन्नत संरचनागत सुधार गर्नु पर्दछ । हामीले उत्पादन बृद्धिका नयाँ मोडेलहरुको विकास गर्नु पर्दछ र नयाँ औद्योगिक क्रान्ति र अंकीय अर्थतन्त्रबाट फाईदा उठाउनु पर्दछ । … … दोस्रो, हामीले खुला र सबैलाई फाईदा हुने खालको मोडेल विकास गर्नका लागि राम्रोसंग समन्वय गरिएको र परस्पर–संबन्धित रहेको दृष्टिकोण अवलम्बन गर्नु पर्दछ । … … तेस्रो, हामीले समयको प्रवृत्ति संग मेलखाने गरी स्वच्छ र न्यायोचित प्रशासनको विकास गर्नु पर्दछ ।” यसरी चिनियाँ राष्ट्रपति सी जिङ्ग पिङ्गले नवउदारवादी नीति र आर्थिक भूमण्डलीकरणको समर्थन मात्र गरेका छैनन् बरु त्यसलाई समयानुकुल विकास गरेर विश्वभरी आफ्नो एकलौटी आर्थिक साम्राज्य निर्माण गर्ने अभियानमा पनि लागेका छन् ।
वितेका करीव ६ दशकदेखि साम्राज्यवादी विश्व व्यवस्थाको नाईके बनेर आएको अमेरिकाका राष्ट्रपति र पछिल्लो चरणमा त्यही अमेरिका संग बलियो प्रतिस्पर्धा गर्दे आएको चीनका राष्ट्रपति दुई विपरित ध्रुवमा देखिने परिघटना सामान्य राजनीतिक संयोग मात्र होईन । सारमा अमेरिका र चीन दुबैको उद्देश्य विश्व बजार कव्जा गर्ने नै हो, यसमा कुनै शंका छैन । तर, चीनको बढ्दो व्यापारिक वर्चश्वलाई नियन्त्रण गर्न र अन्य मूलुकहरुमा आफ्नो खस्केको आधिपत्यलाई पुनस्थापित गर्न ट्रम्पले संरक्षणवादी नीतिका आधारमा अगाडि बढ्न आवश्यक देखेका छन् भने सि जिङ्ग पिङ्गलाई नवउदारवाद र भूमणलीकरण कै आडमा आफ्नो वर्चश्व कायम गर्न सकिन्छ भन्नेमा विश्वास छ । यसरी अमेरिका र चीन दुई ध्रुवमा उभिएका छन् । यसले आजसम्म बहुध्रुवमा विभाजित देखिएको साम्राज्यवादी विश्व ट्रम्पको उदय पछि दुई ध्रुवमा ध्रुविकृत हुदै जाने संकेत गरेको छ । यो ध्रुवीकरणको वैचारिक आधार संरक्षणवाद र नवउदारवाद हुने स्पष्ट देखिन्छ ।
समान्यतः साम्राज्यवादको नवउदारवादी नीतका कारणले र विशेषतः २००८ देखि सुरुभएको भयानक आर्थिक संकटले विश्वभर संरक्षणवादका पक्षमा जनमत निर्माण गर्दै लगेको थियो । त्यो सबै भन्दा पहिला संगठित र व्यवस्थित रुपमा बेलायतमा व्यक्त भयो । त्यहाँका प्रमूख राजनीतिक पार्टीहरु आफैभित्र विभाजित भए, कन्जर्भेटिक पार्टी खुलेर ब्रेक्सिट (युरोपियन युनियनबाट बेलायत बाहिरिने प्रक्रिया)को पक्षमा उभियो र बेलायती मजदुरहरुको ठूलो हिस्साले ब्रेक्सिटको पक्षमा मतदान ग¥योे । यो वस्तुतः विश्वभरी कै नवउदारवादीहरुका लागि अनपेक्षित राजनीतिक प्रहार थियो । त्यसमाथि अहिले आएर अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प संरक्षणवादको पक्षमा उभिएका छन र उनले ब्रेक्सिटलाई महान् कार्य भनेर त्यसको उच्च प्रशंसा समेत गरिसकेका छन् । यतिमात्र होईन ट्रम्पले युरोपियन युनियनलाई जर्मनीको हतियार बनेको बताएर युरोपका देशहरुले युरोपियन युनियन छाडनु पर्ने आह्वान गरेका छन् । यसबाट युरोप तरंगित भएको छ । जर्मनीकी चान्सलर मर्केलले हामी युरोपियनहरुको भाग्य हाम्रो आफ्नै हातमा छ भनेर यसको जवाफ दिएकी छन् । फ्रान्सका राष्ट्रपति होल्याण्डेले युरोपले के गर्नु पर्छ भनेर हामीलाई कसैले सल्लाह दिइराख्नु पर्दैन भन्ने ठाडो जवाफ फर्काएका छन् ।
अर्कोतिर, अमेरिकामा ट्रम्पको उदय पश्चात् सामान्यतः विश्वभरी र मूख्यतः युरोपमा बुर्जुवा अन्धराष्ट्रवादको पक्षमा लहर आउने संभावना एकाएक बढेर गएको छ । यसै बीच, फ्रान्सको बुर्जुवा अन्धराष्ट्रवादी संगठन राष्ट्रीय मोर्चाकी प्रमूख मेरिन ले पेनले युरोप भरीका युरोपियन युनियनका विरोधी र त्यो संग असन्तुष्ट रहेका नेताहरुका साथमा बैठक बसी संयुक्त अभियान अगाडि बढाउने पहल गरिसकेकी छन् । बेलायती प्रधानमन्त्री थेरेसा मेले डोनाल्ड ट्रम्पलाई भेटन अमेरिकाको भ्रमण गर्ने मिती समेत तय भैसकेको छ । यसबाट अमेरिका, बेलायत र युरोपका संरक्षणवादीहरुका बीच आउने दिनमा एउटा बलियो अन्धराष्ट्रवादी ध्रुब निर्माण हुने स्पष्ट देखिन्छ । निर्वाचनको प्रक्रियादेखि नै ट्रम्पले रुसी राष्ट्रपति पुटिनसंग सहकार्य गर्न खोजेको विषय पनि यही कडीसंग जोडिएको छ भन्ने बिर्सनु हुदैन ।
ट्रम्पले यो भन्दा अगाडीका सरकारले गरेका व्यापारिक संझौताहरु खारेज गर्न सुरु गरिसकेका छन् । ओवामाले २०१०मा एशिया प्यासिफिक क्षेत्रका १२वटा राष्ट्रका बीचमा गरेको ट्रान्स एटलान्टिक पार्टनरसिप (TPP) नामको व्यापारिक संझौता खारेज भैसकेको छ । खारेजीको आउने सूचीमा उनले अमेरिका, मेक्सिको र क्यानाडाका बीचमा भएको उत्तर अमेरिकी स्वतन्त्र व्यापार संझौता (NAFTA) लाई राखेका छन् । ट्रम्पले अमेरिका र मेक्सिकोका बीचमा पर्खाल लगाउने घोषणा गरेपछि मेक्सिकोका राष्ट्रपति ईन्रिक पेना निएटोले गर्ने भनेको अमेरिकी भ्रमण रद्द भएको छ । नयाँ सन्धीहरु गरेर व्यापारमा एकाधिकार कायम गर्न “अमेरिकालाई फेरी महान बनाउ” भन्ने ट्रम्पले नयाँ अभियानको जुन थालनी गरेका छन् त्यसले स्वभावतः नयाँ–नयाँ अन्तरविरोधहरु जन्माउने छ र यसले अमेरिका समर्थक मात्र होइन अमेरिका विरोधी ध्रुवीकरणको प्रक्रियालाई पनि तीव्र बनाउने कुरा निश्चित छ । यो लेख प्रकासित हुने दिन सम्म अरु नयाँ–नयाँ निर्णयहरु हुने देखिन्छ । जे होस, ट्रम्प आफ्नो अभियानमा अगाडि बढ्न दृढ छन् ।
अमेरिका र चीनका बीचको अन्तरविरोध यो भन्दा अगाडि नै सतहमा आईसकेको थियो । अमेरिकामा ट्रम्पको उदय पछि त्यो अन्तरविरोध संरक्षणवाद र नवउदारवादका बीचको अन्तरविरोधका रुपमा विकास भएको छ । यसको सबैभन्दा नराम्रो धक्का चीन र अमेरिकाका बीचको व्यापारले बेहोर्ने कुरा निश्चित छ । सपथ ग्रहणको बेला आफ्नो भाषणमा केही नबोले पनि चीनिया सामान माथि अमेरिकाले ४५ प्रतिशत कर लगाउने छ भन्ने उदघोष ट्रम्पले निर्वाचनको बेलामा नै गरिसकेका थिए । डेभोसको मिटिङ्गलाई गरेको सम्बोधनमा सि जिङ्ग पिङ्गले “व्यापार युद्धमा कोही पनि विजयी हुने छैन” भनेर ट्रम्पलाई कुटनीतिक जवाफ दिएका थिए । गत जनवरी १८का दिन प्रकासित ग्लोवल टाइम्स नामक चिनियाँ अनलाईन पत्रिकाकोे सम्पादकीयले चीनको धारणा अभिव्यक्त गरेको छ । उक्त सम्पादकीयले लेखेको छ “… व्यापार युद्धका बेला चीन चुप लागेर बस्ने छैन । यदि ट्रम्प प्रशासनले चीनिया सामान माथि सजाय सरहको (उगलष्तष्खभ) भंसार शुल्क लगाउंछ भने चीनले त्यसको बदला लिन हिचकिचाउने छैन । प्रतिकार गर्ने चीनको क्षमतालाई घमण्डी ट्रम्पको टिमले अबमूल्यन गरेको छ ।” कम बोल्ने तर धेरै काम गर्ने चिनियाँहरुबाट यति प्रतिक्रिया आउनुलाई सामान्य मात्र ठान्नु हुंदैन ।
अमेरिका र चीनका बीचमा यो भन्दा अगाडि पनि अन्तरविरोधहरु थिए । मूख्यतः साउथ चाईना सीका कारण ती दुई देशका बीच पैदा भएको अन्तरविरोध युद्धको स्तरसम्म विकसित हुन सक्ने आंकलन विगतमा पनि नभएको होईन । त्यो अन्तरविरोध समाधान भएको छैन । अहिले अमेरिकामा भएको ट्रम्पको उदय, उनको अमेरिकालाई एक नंबर बनाउने अभियान तथा उनको संरक्षणबादी नीतिका कारण अमेरिका तथा चीनका बीचको अन्तरविरोध पहिलेको निरन्तरतामा मात्र छैन, गुणात्मक ढङ्गले विकास हुंदै गएको छ । यही मंगलबार चाईनाले अमेरिकालाई साउथ चाईना सीका बारे होस पु¥याएर बोल भनेर अमेरिकालाई धम्क्याएको छ । त्यसमाथि निक्सनको समयदेखि अमेरिकाले लिएको एक चीनको नीतिलाई डोनाल्ड ट्रम्पले छलफलगर्नु पर्ने विषय बताएका छन् । यो सबैले आउने दिनहरुमा अमेरिका र चीनका बीचको अन्तरविरोध असामान्य ढङ्गले चर्किदै जाने देखिन्छ ।
अहिलेको भूमण्डलीकृत युगमा विश्वका १ नंबर र २ नंबरका अति महाशक्तिहरुका बीचको यो असामान्य द्वन्द्व तिनीहरुका बीचमा मात्र सिमित रहने छैन । त्यसले विश्वमा नयाँ ध्रुविकरण ल्याउने कुरा निश्चित छ । कुन देश कुन ध्रुवतिर लाग्ने हुन् त्यो त भोली थाह हुंदै जाला, तर यसका सँकेतहरु भने देखिन थालिसकेका छन् । यसले आउने दिनमा विश्वको अन्तर–साम्राज्यवादी अन्तरविरोधले गुणात्मक छलाङ्ग हानेर प्रधान अन्तरविरोध बन्न जाने र त्यसले विश्वयुद्धको स्तरमा फड्का मार्न सक्ने संभावना एकाएक बढेर गएको छ । ट्रम्प जस्ता अन्धराष्ट्रवादी, हठी र त्यस माथि राजनीतिक पृष्ठभूमी नभएका नेता यो अन्तरविरोधमा एउटा प्रमूख पात्र भएको कारणले पनि विश्वभर अमेरिकी फासिवादी हस्तक्षेप बढेर जाने र त्यसले तेस्रो विश्व युद्धलाई अझ नजिक्याउने खतरा बढेको हो ।
यो साम्राज्यवाद र सर्बहारा क्रान्तिको युग हो । सर्बहारा क्रान्तिका लागि अहिले क्रान्तिकारी कम्युनिस्टहरुको आत्मगत स्थिति कमजोर छ, तर वस्तुगत परिस्थिति भने अनुकुल बन्दै गैरहेको छ । विश्वका अतिमहाशक्तिहरु अमेरिका र चीनका बीचमा यति बेला अन्तरविरोध चर्केको छ, विश्व युद्धको संभावना बढेको छ । प्रतिक्रियावादीहरुका बीचको अन्तरविरोध चर्किनु क्रान्तिका लागि राम्रो कुरा हो । यो स्थितिमा सचेत प्रयत्नको बलमा आत्मगत शक्तिको निर्माण गर्नु, संभावित विश्व युद्धका विरुद्धमा जनमत तयार पार्नु र क्रान्तिकारी आन्दोलनको विकासमा जोडदिनु नै हाम्रो पार्टी लगायत विश्वभरीका सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको एकमात्र काम हुनु पर्दछ । क्रान्तिको विकासले नै विश्वयुद्धलाई रोक्न संक्छ अथवा विश्वयुद्ध भै हाले छ भने पनि पछि त्यसलाई क्रान्तिमा बदल्न सकिने संभावना रहन्छ । तसर्थ क्रान्ति नै अहिलेको एक मात्र उपाय हो र अहिलेको मूल प्रवृत्ति पनि हो ।
माघ १३, २०७३