दसगजा मिचेर भारतद्वारा पक्की सडक र नाला निर्माण

महोत्तरी । भारतले महोत्तरीमा पुनः दशगजा क्षेत्र मिचेर भौतिक संरचना निर्माण गरेको छ ।

भारतले महोत्तरीको मटिहानी गाविससँग जोडिएको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको हो ।

भारतीय पक्षले दशगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दशगजा क्षेत्र मिचेर सडक र नाला निर्माण गरेको हो ।

सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बिचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको हो ।

भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस अन्तिम साता नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो ।

तर पुनः भारतले सबै मान्यता र सम्झौतालाई लत्याउँदै तीन साता नबित्दै दसगजामा सडक र नाला निर्माण गरेको प्रहरीले जनाएको छ ।

भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवसहितको सुरक्षा निकायको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

भारततर्फका मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन प्रयास भइरहेको जनाइएको छ ।