मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउन अमेरिकी राष्ट्रपतिको आदेश

मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउन अमेरिकी राष्ट्रपतिको आदेश

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

उनले तत्काल पर्खाल लगाउने काम सुरु गर्ने पनि जनाएका छन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीमा भएको एक विशेष कार्यक्रममा ट्रम्पले मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमामा दुई हजार माइलभन्दा लामो पर्खाल बनाउनेसम्बन्धी निर्देशनमा हस्ताक्षर गरेका हुन् ।

यसले अवैध आप्रवासी र लागूऔषधको कारोबारलाई रोक्ने उनले दाबी गर्दै आएका छन् । 

राष्ट्रिय सीमा बिनाको देश नहुने भन्दै ट्रम्पले देशको दक्षिणी सीमामा संकटको अवस्था रहेकाले त्यसलाई समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

राष्ट्रपति निर्वाचनको प्रचारका क्रममा उनले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने र त्यसको खर्च मेक्सिकोले बेहोर्ने बताएका थिए । तर मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटोले त्यसलाई अस्वीकार गरिदिएका थिए । 

अर्बौ डलर खर्च हुने यो प्रस्तावका लागि ट्रम्पले कंग्रेसको स्वीकृति लिनुपर्छ । यस्तै उनले गैरकानुनी आप्रवासीको बसोबास बढी रहेको तथा त्यस्ता आप्रवासीलाई आश्रय दिएका अमेरिकी शहरलाई दिइने सहयोग कटौतीसम्बन्धी दस्तावेजमा पनि हस्ताक्षर गरेका छन् ।