
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले गाईको बथानमा ब्वाँसो छिरेजस्तै क्रान्तिकारी पार्टीमा प्रतिक्रान्तिकारी धोकेबाज छिरेका कारण क्रान्तिमा धोका भएको बताएका छन् ।
क्रान्तिकारी माओवादीको तीन महिने संगठन सदृढिकरण तथा जनपरिचालन कार्यक्रमको उद्घाटन गर्दै उनले विगतमा क्रान्तिकारी पार्टीभित्रै रहेका प्रतिक्रान्तिकारीहरुका कारण पार्टी कमजोर अवस्थामा पुगेको बताउँदै अब पुनः जनतामा जान लागेको बताए ।

जनताबाट शक्ति लिएर पुनः क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष किरणले संगठन सुदृढिकरण गर्दै अघि बढ्ने बताए । उनले भने, ‘जनताबाट लिएर जनतालाई नै दिनुपर्दछ । जनसमुदायबाट उर्जा प्राप्त गरेर, जनसंगठनलाई सुदृढिकरण गर्दै क्रान्तिको तयारीमा जुट्नुपर्ने हुन्छ, हामी त्यतैतिर जाँदैछौं ।’
अहिले संसदवादी दलहरुबीच लडाई परेको जस्तो देखिएपनि वास्तममा उनीहरुको लडाई सत्ताका लागि भएको उल्लेख गर्दै उनले पालैपाले गरेर सत्तामा बस्ने र जनताका लागि केही पनि नगर्ने संसदवादी दलको व्यवहारले जनता आजित भइसकेको उल्लेख गरे ।
अहिले संविधान संशोधनको पक्ष र विपक्षमा उभिएका दलहरु दुई वटा बोतलका एउटै रक्सी भएको उनको भनाई थियो । उनीहरुबाट जनताले धोका पाएका कारण अब क्रान्तिकारी माओवादीले वास्तविक अर्थमा जनताको मुक्ति आन्दोलनको नेतृत्व गर्ने स्पष्ट पारे ।
माओवादी पार्टीको नेतृत्वमा सञ्चालित १० वर्षे जनयुद्ध पराजित भएको नभई क्रान्ति नहारेको भन्दै धोका दिइएको उल्लेख गरे । विगतमा ७ डिभिजन सेना निर्माण गरेको स्मरण गर्दै उनले आवश्यक परेमा फेरि पनि सेना निर्माण गरेर क्रान्तिको बाटोमा अघि बढ्ने उद्घोष गरे ।
अध्यक्ष किरणले संसदीय व्यवस्था जनताको नाम लिएर जनतालाई नै धोका दिने व्यवस्था भएको उल्लेख गर्दै उनले विगतमा क्रान्तिबाट आएको एउटा तप्का पनि जनतालाई धोका दिने संसदीय भासमा डुब्न पुगेको बताए ।
अहिलेको संविधानले जनताका समस्याको हल नगर्ने स्पष्ट पार्दै अध्यक्ष किरणले जनताको समस्या समाधान गर्न सक्ने जनसंविधान निर्माण गर्नुको विकल्प नरहेको बताए ।
अहिले सामन्त, दलाल, पुँजीपति, नोकरशाही शक्ति सरकारमा रहेको र उनीहरुले राष्ट्रियतालाई नै खतरामा पारिरहेको उल्लेख गरे ।
पार्टीको ३ महिने संगठन सदृढिकरण अभियानका क्रममा मुख्यगरी संगठन बलियो बनाउने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दालाई लिएर संघर्ष गर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका कार्यलय सदस्य रामसिंह श्रीसले वास्तममा नेपालमा क्रान्ति नै नभएको उल्लेख गर्दै आफ्नो अधिकारका लागि बर्षौदेखि लड्दै आएको र अझैपनि लडिरहने बताए ।
सत्तामा बस्नेहरुले जनताका एजेण्डाहरु छाड्दै गइरहेको उल्लेख गर्दै उनले मजदुर, किसान, उत्पीडित, जाति, वर्ग, क्षेत्र र लिंगका जनताको अवस्था ज्युका त्यु रहेको उल्लेख गरे ।
जनता अजय शक्ति र इतिहासका निर्माता भएका कारण आफूहरु जनताकोमा जान लागेको उनको भनाई थियो ।
सो पार्टीका नेवाः राज्यका इन्चार्ज दिनेश शर्मा सागरले अबको संघर्षबाट नेपालमा संघीय जनगणतन्त्रको स्थापना गरेरै छाड्ने बताए । उनले मुलुक सिक्किमीकरणको दिशातर्फ अघि बढिरहेको उल्लेख गर्दै देश बचाउनका लागि देशभक्त शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
पार्टीका सचिवालय सदस्य पवनमान श्रेष्ठले शान्ति प्रक्रियामा आइसकेपछि पार्टीमा देखा परेको टुटफुट र विभाजनले केही कमजोर भएपनि मूल रुपमा जनताको नजरमा आफूहरु रहेको बताए । उनले पार्टीका विचारहरुलाई जनतासम्म पु¥याउनका लागि अभियानको सुरु गरिएको बताए ।
अभियानको उद्घाटन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका गजुरेलले क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरी नयाँ जनवादी क्रान्तिलाई पूरा गर्नुको विकल्प नरहेको उल्लेख गरे ।
उनले अहिले सत्तामा बसेकाहरु आफ्नो स्वार्थसिद्धीका लागि केन्द्रीत रहेका कारण जनताको समस्या समाधान हुन नसकेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिले मात्रै जनतालाई वास्तविक अर्थको मुक्ति दिनसक्ने उल्लेख गरे ।
कोचिलाको अभियानका लागि मोरङमा ४ वटा, सुनसरीमा २ वटा र झापामा एउटा टोली निर्माण गरी अभियान सुरु गरिएको केन्द्रीय सदस्य मनोज श्रेष्ठले जानकारी दिए ।
कोचिला राज्यका इन्चार्ज केदार गुरागाई रत्नको सभापतित्वमा भएको कार्यक्रममा कोचिला राज्यका ३ वटै जिल्ला झापा, मोरङ र सुनसरीका जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता थियो ।