जुनसुकै मूल्य चुकाएर भए पनि भारतीय कन्सुलर कार्यालय हटाइछाडिनेछ : गजुरेल

जुनसुकै मूल्य चुकाएर भए पनि भारतीय कन्सुलर कार्यालय हटाइछाडिनेछ : गजुरेल

बिराटनगर । भारतले आफ्नो सुरक्षा फौजसहित अनधिकृत रुपमा नेपालको भूभाग (बिराटनगर)मा राखेको कार्यालय हटाउन माग गर्दै तीन वाम घटकले शुक्रबार बिराटनगरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरेका छन् । भारतीय कन्सुलर कार्यालयको सयमिटर नजिकमा विरोध सभा गर्दै तीन वाम घटकले कन्सुलर कार्यालय तत्काल हटाउन जोडदार माग गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देजमो, नेपालका अध्यक्ष सीपी गजुरेलले जुनसुकै मूल्य चुकाएर भएपनि अवैधानिक रुपमा राखिएको भारतीय कन्सुलर कार्यालय हटाइ छाड्ने बताए । विरोध प्रदर्शनका विरुद्ध ठूलो संख्यामा तैनाथ गरिएको प्रहरीतर्फ इंगित गर्दै अध्यक्ष गजुरेलले भने, “तपाईंहरु नआत्तिनुस्, हामीले अहिले कन्सुलर कार्यालय हटाउन सांकेतिक रुपमा विरोध जनाउन मात्रै आएका छौं, तत्काल यो कार्यालय हटाइएन भने हामी लाखौ जनतासहित आएर यो कार्यालय हटाइछाड्नेछौं । त्यसबेला आवश्यक परे जनता सशस्त्र रुपमा पनि आउन सक्नेछन् ।”

 

बिराटनगरको मुख्य बजारबाट निस्किएको ¥याली ट्राफिक चोक, लोकतान्त्रिक चोक हँुदै कन्सुलर कार्यालयतर्फ अगाडि बढ्दै गर्दा चार घेरामा तैनाथ गरिएको जनपथ र सशस्त्र प्रहरीसँग प्रदर्शनकारीको केहीबेर झडप समेत भएको थियो । प्रहरीले कन्सुलर कार्यालयतर्फ अगाडि बढ्न अवरोध खडा गरेपछि करिब सय मिटर नजिक साल्ट ट्रेडिङको कार्यालय अगाडि ¥याली र प्रदर्शन विरोधसभामा परिणत भएको थियो ।
विरोध सभालाई नेकपा (माओवादी)का नेता धर्मेन्द्र बाँस्तोला, मसालकी नेतृ मिना पुनले सम्बोधन गरेका थिए । उनीहरुले पनि जसरी पनि कन्सुलर कार्यालय हटाइछाड्ने विचार व्यक्त गरेका थिए । क्रान्तिकारी माओवादीका कोचिला इन्चार्ज केदार गुरागाईको अध्यक्षतामा भएको उक्त विरोध सभाको संचालन जनमोर्चाका विशाल पहाडीले गरेका थिए । हजारबढीको संख्यामा तीन पार्टीका नेता कार्यकर्ता र स्थानीय जनताको सहभागिता रहेको उक्त विरोध प्रदर्शनलाई निस्तेज पार्न भारतीय विस्तारवादको कठ्पुतली सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।