नाक र छालाका आधारमा प्रदेश सीमांकन घातक : भण्डारी

नाक र छालाका आधारमा प्रदेश सीमांकन घातक : भण्डारी

रोल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जातीय आधारमा प्रदेशको सीमांकन घातक हुने बताएका छन् । 

सांसद समेत रहेका भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमांकन गर्न नहुनेमा जोड दिए । ५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा भएको सभामा नेता भण्डारीले हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकता हुनसक्ने बताए ।

यसैगरी एमाले नेता पुष्पराज कँडेलले नीति, सिद्धान्त र आदर्शलाई दाउमा राखेर एमालेले राष्ट्रघाती काम गर्न नसक्ने दाबी गरे । संसदमा जबर्जस्त ढङ्गले टेबुल गरिएको संविधान संशोधन विधेयकलाई विपक्षी दलले कुनै हालतमा पारित हुन नदिने उनको भनाई थियो । 

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कुमार शाहले अहिलेको संविधान संशोधन विधेयक दक्षिणपन्थी कोणबाट आएको भन्दै संविधान संशोधनले मात्रै अहिलेको संकटको निकास निस्कन नसक्ने बताए । 

कार्यक्रममा एमाले सचेतक गोकुलप्रसाद घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वोमबहादुर खत्रीलगायतले पनि आफ्नो धाराणा राखेका थिए ।