आफ्ना कार्यकर्ता भर्ना गर्न प्राधिकरणका सिइओ हटाइयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्ता भर्ना गर्नका लागि पुनर्निर्माण प्राधिकरणको सिइओ हटाएर सरकारले ‘घटिया’ काम गरेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालय धुम्बारहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले जनता अझै त्रिपाल मुनी रहेको र बास नपाएको अवस्थामा सीईओ हटाउने सरकारको निर्णय मानवीय र संवैधानिक दुवै दृष्टिकोषणले गलत रहेको बताए ।

उनले प्राधिकरणलाई सरकार आफैंले असहयोग गरेको भन्दै १६५ जना कर्मचारी हुनुपर्नेमा ६५ जनामात्रै रहेको र सरकारले नै काम गर्न कर्मचारी नदिएर काम गरेन भनेर स्पष्टिकरण सोध्नु न्यायोचित नभएको उल्लेख गरे ।

उनले विदेशी दातृ निकायले समेत प्राधिकरणले राम्रो काम गरेको प्रतिक्रिया जनाइरहेका बेला सीइओलाई हटाएर राम्रो काम नगरेको बताए । एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा ५ वर्षको लागि नियुक्त गरेको थियो ।