काठमाडौं । पछिल्ला केही दिनदेखि रातो नम्बरबाट आएको नम्बर उठाउन नहुने र उठाएमा ज्यानै समेत जाने हल्लाले सर्वसाधारणमा ठूलै आतंक मच्चियो ।
रातो नम्बरबाट आउने भनिएको फोनले सर्वसाधारणदेखि सचेत तप्कासम्म नै भ्रम फैलियो भने कतिपय स्थानमा त रातो नम्बरबाट आएको फोन उठाउँदा बेहोस भएको जस्ता हल्ला समेत चलाए ।
सोही क्रममा गायिका प्रशना पाण्डेले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्क्रिन सट हालिन् । सोही विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै यसबारे अनुसन्धान थाल्यो । र, गायिका पाण्डेलाई सोधपुछका लागि बोलायो ।
सुरूमा रातो नम्बरबाट कल आएको दाबी गरेकी उनले पछि भने सत्यलाई लुकाउन सकिनन् र आफ्नो मोबाइलमा फोन नआएको नभई र गायक दीपक बराइलीको मोबाइलमा भेटिएको स्क्रिन सट आफूले फेबुकमा पोष्ट गरेको बयान दिइन् ।
लगत्तै सीआईबीको टोलीले गायक दीपक बराइलीलाई पक्राउ गरेपछि बल्ल रातो नम्बरको भेद खुल्यो । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार मोबाइलमा कल आएको समयमा नम्बरको रंग बदल्ने एपहरुलाई दुरुपयोग गरी नेपालमा रातो रंगको आतंक मच्चाइएको रहेछ ।
सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार यो एप डाउनलोड गरेपछि मोबाइलको सेटिङ परिर्वतन गर्नासाथ फोन आउँदा आफूले चाहेको रंगमा नम्बर देखिन्छ । बराइलीले पनि त्यही गरेका थिए ।
सोही अनुसार स्क्रिन सट भएको नम्बरलाई गायिका पाण्डेले फेसबुकमा राखेपछि थप भाइरल बनेको थियो । प्रशनाले फेसबुकमा हालेको तस्वीरमा देखाइएको नम्बर नेपालमा एलोकट नै नभएको नम्बर भएको र यसका लागि ‘फेक कल’ एप प्रयोग भएको सीआईबीको भनाई छ ।
यसमा नम्बर आफैंले सट गर्न मिन्छ र आफूले सेट गरेको टाइममा कलिङ भनेर नम्बर देखाउँछ । बुधबार पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख नवराज सिलवालले गुगल प्लेस्टोरमा गएर जसले पनि यस्तो बनाउन सक्ने भएकाले भ्रममा नपर्न आग्रह गरे ।