काठमाडौं । गोरखा भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत पुनर्निर्माणको काम सरकारी प्राथमिकतामा नपर्दा भूकम्पपीडितको बिचल्ली भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण उच्च हिमाली जिल्लाहरुमा भारी हिमपात भएपछि भूकम्पपीडितको कन्तविजोक भएको हो ।
हिमपातका कारण गोरखा भूकम्पको केन्द्रविन्दु रहेको बारपाक, लाप्राकलगायतका स्थान सेताम्मे भएका छन् भने सिन्धुपाल्चोक लगाउतका जिल्लाको जनजीवन पनि कष्टकर बनेको छ ।
हिमाली लिल्लाका माथिल्लो क्षेत्र हिमपातका कारण प्रभावित बनेका छन् भने तल्लो क्षेत्रमा पनि दुई दिनदेखिको बर्षा र अत्याधिक चिसो बढेको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट घरवारविहीन भएकाहरु अझै टहरामा नै जीवन गुजार्न बाध्य बनेका छन् ।
भूकम्पपछि ३ पटक सरकार फेरिएपनि पुनर्निर्माणको काम प्राथमिकतामा पर्न सकेको छैन । अहिलेसम्म एकसरो जस्ताका टहरामा जीवन गुजार्दै आएका सर्वसाधारण जस्ताले बारेको टहरोबाट शीत चुहिनेदेखि चिसो हुरिले पाल समेत उडाउने भएका कारण थप मारमा छन् ।
भूकम्पपीडितले अहिलेसम्म २ बर्षायाम र २ जाडो याम टहरामा नै बिताइसकेका छन् । पछिल्लो समयमा भूकम्प पीडितलाई दिने भनिएको रकम समेत एकमुष्ट नदिँदा र पुनर्निर्माणको कामलाई सरकारी स्तरबाट अघि नबढाईदा अहिलेको समस्या आएको पीडितको गुनासो छ ।
घाम लागेको दिन केही सहज भएपनि साँझ ढल्कँदै गएपछि रात कसरी कटाउने भन्ने कुराले पिरोल्ने गरेको पीडितहरुको भनाई छ ।