भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसदमा आफूहरुलाई पेलेर बलजफ्ती संविधान संशोधन प्रस्ताव पेश गरिए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
पुस २२ गते एमालेले गर्न लागेको प्रदर्शनका विषयमा प्रेस चौतारी भक्तपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले संसदमा संशोधन प्रस्तावविरुद्ध उत्रिने बताए ।
आफूहरुलाई पेल्न खोजिए ठेल्न बाध्य हुने चेतावनी दिँदै उनले जबरजस्ती नगर्न समेत भनेका छन् ।
खनालले प्रदेश नम्बर ५ को सीमाना हेरफेर गरेर मधेस–पहाड अलग गर्ने एजेण्डा नेपालभित्र नभई बाह्य शक्तिको निर्देशनमा भइरहेको दाबी गर्दै विदेशीको एजेण्डा नेपालको संसदबाट जर्बजस्ती पारित हुन नदिने प्रतिबद्धता जनाए ।
खनालले पुस २२ गते एमालेसहित संविधान संसोधनको विपक्षमा रहेका दलहरुको प्रदर्शनले संविधान संशोधन बिरुद्ध जनमत प्रकट गर्ने उल्लेख गरे । उनले सो जनप्रदर्शन एमालेको मात्र नभई देशभक्तहरुको भएको दाबी समेत गरे ।
एमाले नेता खनालले माओवादी केन्द्र आफ्नै कारण पतनको दिशामा गएको भन्दै यही प्रकारले अघि बढ्ने हो भने अर्को चुनावसम्म बत्ती बालेर खोज्नुपर्ने अवस्था आउने उनको चेतावनी थियो ।