काठमाडौं । सरकारले आज बस्ने संसद बैठकमा प्रतिपक्षी दलहरुकको असहमतिकाबीच संविधान संशोधन प्रस्तावलाई टेबुल गर्ने तयारी गरेको छ ।
सरकारले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेपछि सात पटक अवरुद्ध र तीन पटक स्थगित भइसकेको संसद वैठक आज दिउँसो एक बजे बोलाइएको छ ।
सत्तापक्षले आजको संसद वैठकमा प्रतिपक्षी दलहरुको असहमतिकै बीच संशोधन प्रस्तावलाई टेबुल गर्ने तयारी गरेको छ भने प्रतिपक्षी दलले संसद अवरोध गर्ने बताइसकेका छन् ।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले निरन्तर संसदमा अवरोध गरिरहेका छन् ।
सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर वा स्थगीत गरेर निर्वाचनसम्बन्धी विधेयकलाई अघि नबढाएसम्म संसद वैठक चल्न नदिने प्रतिपक्षी दलहरुले अडान राख्दै आइरहेका छन् ।
सरकारले भने संविधान संशोधन र निर्वाचन सम्बन्धी विधेयकलाई सँगैसँगै अघि बढाउने तयारी गरेको छ ।
संविधानसभाबाट संविधान जारी गर्नुअघि नै संविधानप्रति असहमति राख्दै मधेशमा आन्दोलन गरेको मधेसी मोर्चाका माग संबोधनका लागि भन्दै मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो ।