मजदुरविरुद्ध गार्मेन्ट उद्योगी, अधिकार माग्दा रोजीरोटी गुम्यो

मजदुरविरुद्ध गार्मेन्ट उद्योगी, अधिकार माग्दा रोजीरोटी गुम्यो

एजेन्सी । बंगलादेशका गार्मेन्ट कम्पनीले सेवा सुविधा वृद्धिको माग राखेर आन्दोलनमा उत्रिएकामध्ये १५ सय भन्दा बढी मजदुरहरुलाई कामबाट निकालेको छ ।

पश्चिमी ब्राण्डका कपडा उत्पादन गर्ने ती फ्याक्ट्रीमा सेवासुविधाको विषयलाई लिएर मजदुरहरु आन्दोलित थिए । प्रहरीले आन्दोलन अवैध भएको भन्दै आन्दोलनमा संलग्न ५ जना मजदुुर युनियनका नेतासहित ३० जनालाई पक्राउ गरिएको जनाएको छ ।

राजधानी ढाकामा उद्योगको काम छाडेर दशौं हजार मजदुरहरुले प्रदर्शनमा सहभागिता जनाएका थिए । ती गार्मेन्ट उद्योगहरुले जीएपी, जारा र एच एण्ड एम जस्ता ब्राण्डका कपडा उत्पादन गर्दै आइरहेका छन् ।

प्रहरीका एक अधिकारीले कारबाही पछि ९० प्रतिशत मजदुरहरु पुनः काममा जोडिएको र उद्योगहरुका कार्यरत मजदुरुहरुमाथि छानविन सुरु गरिएको बताएका छन् । ढाका प्रहरीका उपरीक्षक नुर नाबीले करिब १५ सय कामदारलाई उद्योगका मालिकहरुले काम प्रभावित पारेको सहित विभिन्न ५ वटा आरोपमा बर्खास्त गरेको जनाएका छन् ।

यद्यपि बंगलादेश गार्मेन्ट एण्ड वर्कर्स फेडेरेसनले कामबाट ३५ सय भन्दा बढी कामदारलाई हटाइएको आन्दोलनमा सहभागी दर्जनौलाई पक्राउ गरिएको दाबी गरेको छ । फेडेरेसनका अध्यक्ष बाबुल अख्तरले प्रदर्शनविरुद्ध शक्ति प्रयोग गरिएको भन्दै विरोध गरेका छन् ।

उनले भनेका छन्, ‘राज्यले युनियनका नेता र मजदुरविरुद्ध ‘स्पेशल पावर एक्ट’ प्रयोग गरी ५० जना युनियनका नेतासहित ३५ सय भन्दा बढी कामदारलाई निस्काशन गरिएको छ ।’

बंगलादेश गार्मेन्ट मेनुफेक्चर्स एण्ड एक्पर्टर्स एशोसिएसनले अहिले मजदुरले पाउँदै आएको बंगलादेशी ५ हजार ३ सय टाका मासिक तलबमा तेब्बर वृद्धि गर्नुपर्ने मागलाई अस्वीकार गरेको छ । बंगलादेश प्रहरी प्रमुख अशुलियाले भने आन्दोलनका क्रममा हिंसात्मक क्रियाकलापमा संलग्नलाई मात्रै पक्राउ गरिएको जनाएको छ ।

यो घटनासँगै बंगलादेशमा कामदारहरुको आक्रोश बढेको छ । अमेरिका तथा युरोपीय कपडाका ब्राण्डहरुले बंगलादेशी उत्पादकहरुलाई कामदारको सुरक्षाको अवस्था सुढृड गर्न दबाब दिँदै आएका छन् ।