यो एकता त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुबीचको एकता हो : अध्यक्ष किरण

यो एकता त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुबीचको एकता हो : अध्यक्ष किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र कम्युनिष्ट न्युक्लियसबीच भएको एकतालाई क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुबीचको एकताको संज्ञा दिएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले यो एकता पदलिप्सा र सत्ता स्वार्थभन्दा माथि रहेका क्रान्तिकारी कम्युनिष्टहरुको त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुको एकता भएको दावी गरे ।

उनले नेपालको क्रान्तिकारी आन्दोलनमा दक्षिणपन्थी नवसंशोधनवाद र वाम खोल ओडेका दक्षिणपन्थी अवसरवादबाट खतरा रहेको उल्लेख गर्दै अवसरवादीसँग कुनै हालतमा पार्टी एकता हुन नसक्ने स्पष्ट पारे ।

पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र ढाँटहरुको केन्द्रमा परिणत भएको उल्लेख गर्दै भारतीय विस्तारवादी व्यवस्था, संसदीय व्यवस्थालाई स्वीकार गरेर अझैपनि क्रान्ति गर्ने भ्रम छरिरहेका कारण अझै केही नेता कार्यकर्ताहरु भ्रममा परिरहेको किरणको भनाई थियो ।

उनले विगतमा जनवादी क्रान्तिमा नै भूमिका खेलेका बाबुराम भट्टराई अब कम्युनिष्ट नरहेको उल्लेख गर्दै उनले आफू वामपन्थी नभएको भनेर स्पष्ट खुलाएर गएकोमा धन्यवाद दिनुपर्ने तर उनको शक्ति नयाँ शक्ति नभएर सबैभन्दा पुरानो, बासी सडेगलेकाहरुको गएगुज्रेको शक्ति भएको टिप्पणी गरे ।

विप्लव नेतृत्वको माओवादी पनि सोही दिशामा केन्द्रित रहेको उल्लेख गर्दै उनले अहिले आएर संघीयता, धर्मनिरपेक्षताजस्ता विगतको जनयुद्धबाट प्राप्त आंशिक उपलब्धिहरुकै विरोध गर्दै हिडेको उल्लेख गर्दै सबैखाले अवसरवाद विरुद्ध विचारधारात्मक संघर्ष चलाएर नयाँ जनवादी क्रान्तिको तयारी गर्न सबैलाई एक भएर लाग्न पनि निर्देशन दिए ।

विगतमा पनि क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्न सकेको भए नयाँ जनवादी क्रान्ति पूरा हुने अवस्था रहेको स्मरण गर्दै उनले पार्टीभित्र देखा परेको दक्षिणपन्थी नवसंशोधनवाद हाबी हुँदा विजयको सन्निकट पुगेर क्रान्ति पराजित हुन पुग्दा समग्र माओवादी आन्दोलन नै रक्षात्मक अवस्थामा पुगेको बताए ।

कम्युनिष्ट न्युक्लियससँगको पार्टी एकताले माओवादी फुट्न मात्र नभएर जुट्न पनि जान्दछन् भन्ने प्रमाणित गरेको उल्लेख गर्दै पार्टी वैचारिक आधारमा एकता र विभाजन हुने स्पष्ट पारे । उनले भने, ‘यो सत्तालिप्सा र पद प्राप्तिको नभई त्याग, बलिदान र दुःखको बाटो हो । संसदीय व्यवस्था, संसदवाद, दलाल, नोकरशाह र सामन्तवादविरुद्ध लड्दै, रगत बगाउँदै आयौं । तर अहिले सत्तामा तिनीहरु नै छन् । यो एकता अहिलेको व्यवस्थालाई खारेज गरेर नयाँ जनवादी व्यवस्था स्थापनाका लागि प्रतिबद्ध भएर लाग्नेहरुको एकता हो ।’
यसैगरी क्रान्तिकारी माओवादीका सचिवालय सदस्य परि थापाले यो एकता क्रान्तिकारी आन्दोलनमा हुने खासखास प्रकारका एकता र ध्रुवीकरणको एउटा प्रक्रियाको अंगको रुपमा रहेको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको उदाहरण दिँदै जर्मनीको कम्युनिष्ट पार्टी रुसको कम्युनिष्ट पार्टीभन्दा ठूलो भएर पनि क्रान्ति पूरा गर्न नसकेको र इटालीको कम्युनिष्ट पार्टीले फाँसीवादविरुद्ध ध्रुविकरण र मोर्चाबन्दी गर्न नमान्दा क्रान्तिलाई अघि बढाउन नसकेको उदाहरण दिए ।

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कंडेल ‘प्रतीक’ ले यो एकताले क्रान्तिकारी आन्दोलनमा ध्रुविकरण र एकता गर्न प्रेरणा दिने उल्लेख गरे । उनले नेपालमा अहिले पनि आफूलाई माओवादी भन्नेहरुले क्रान्तिको भ्रम दिइरहेकाले ठूलो युवाको पंक्ति भ्रमित भएपनि नेतृत्व अवसरवादमा फस्दा क्रान्ति अघि बढ्न नसकिरहेको बताए ।

पार्टी एकता घोषणा कार्यक्रममा कम्युनिष्ट न्युक्लियसका संयोजक भुपेन्द्र न्यौपानेले दुई क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच भएको यो एकता अन्तिम नभएर सुरुवात भएको उल्लेख गर्दै सबै क्रान्तिकारीलाई एक ठाउँमा ल्याउने प्रक्रिया थालनी भएको बताए । उनले विश्वमा नै माओको निधनपछि रक्षात्मक अवस्थामा पुगेको माओवादी आन्दोलनलाई नयाँ चरणमा उठाउने प्रतिबद्धता पनि सँगै गरिएको जानकारी दिए ।
पार्टी एकता गर्दै संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘हामी बाह्य रुपमा साम्राज्यवाद, विस्तारवाद, र नवउपनिवेशवाद विरुद्ध, आन्तरिक रुपमा नेपाली जनताको विकासको प्रमुख बाधक दलाल तथा नोकरशाही पूँजीवाद, सामन्तवाद एबं. कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनमा देखिएका वाम, मध्य र मुख्यतः दक्षिणपन्थी संशोधनवाद तथा नवसंशोधनवाद र ‘वाम’ अवसरवादविरुद्ध लड्न प्रतिवद्ध छौं ।’

नीतिगत दृष्टिकोणले क्रान्तिकारी पार्टी, आन्दोलनलाई बुझ्ने र विकास गर्ने सन्दर्भमा सैद्धान्तिक, वैचारिक एवं व्यवहारिक रुपले एकरुपता कामय भएको दुवै पार्टीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ । आगामी क्रान्तिका सम्पूर्ण कार्यभारहरु पूरा गर्न एकताबद्ध भएर भएर जानुपर्ने ऐतिहासिक जिम्मेवारीलाई आत्मसात गर्दै पार्टी एकताको ऐतिहासिक अभियानमा जुटेको क्रान्तिकारी माओवादीका तर्फबाट हरिभक्त कँडेल ‘प्रतीक’ र कम्युनिष्ट न्यूक्लियस नेपालका तर्फबाट भुपेन्द्र न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । एकता तथा ध्रुवीकरणको प्रक्रियामा ६ बुँदे प्रतिबद्धता पनि जनाइएको छ ।