काठमाडौं । मलेशियामा रोजगारका लागि जाने नेपाली श्रमिकहरुले तिर्दै आएको लेवी अब नतिर्नुपर्ने भएको छ । मलेसियाका गृहमन्त्री अहमद जायिद हमिदिले राष्ट्रको नाममा सम्बोधन गर्दै रोजगारदाताले लेबी तिर्नुपर्ने नियम ल्याएकोले श्रमिकले तिर्न नपर्ने बताएका छन् । गृहमन्त्री हमिदिको सो घोषणापछि मलेसियाका आप्रवासी श्रमिक खुसी भएका छन् ।
मलेसियामा कार्यरत नेपाली सहितका आप्रवासी श्रमिकले रोजगारी गरे बापत प्रतिवर्ष २५ हजार रुपैयाँ लेबीस्वरुप मलेसियन सरकारलाई तिर्दै आएका थिए । जनवरी १ बाट त्यहाँका रोजगारदाता कम्पनीहरुले नै सरकारलाई लेवी तिर्नुपर्ने नयाँ व्यवस्था लागू भएपछि विगत ५ वर्षदेखि श्रमिकबाट असुल्दै आएको रकम रोजगारदाताले नै व्योहोर्नु पर्ने भएको छ । सो नियमपछि मलेसियामा रहेका ५ लाखभन्दा बढी नेपाली श्रमिक लाभाविन्त हुने छन् । मलेसिया सरकारले गत वर्ष आप्रवासी श्रमिकहरुको लेबी शुल्कमा दोव्वरले वृद्धि गरेको थियो ।
मलेसिया सरकारलाई कामदारले सन् २००९ अघि सम्म विदेशी कामदार स्वयंले लेबी रकम तिर्नुपर्दथ्यो । त्यसपछि सोही वर्ष अप्रिलदेखि नीतिमा फेरबदल गर्दै रोजगारदाताले नै तिर्नुपर्ने नीति ल्यायो । पछि सन् २०१२ मे १ देखि न्यूनतम पारिश्रमिक नीति लागू भएसँगै उसले पुनः कामदारले नै लेबी रकम बुझाउनुपर्ने भन्दै पूरानो नीति उल्टाएको थियो । अबदेखि रोजगारदाताले नै तिर्ने छन् ।