काठमाण्डौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी र नेकपा मसालका नेताहरुले राष्ट्रिघाती जलस्रोत सम्झौताहरु खारेजीका निम्ति राष्ट्रिय प्रतिरोध आन्दोलनको आवश्यकतामाथि जोड दिएका छन् । तीनै पार्टीले वानेश्वरको अल्फाविटा कम्लेक्समा आयोजना गरेको ‘जलस्रोतमाथिको हस्तक्षेप र स्वाधीनता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य‘किरण’ले इमान्दारितापूर्वक राष्ट्रिय प्रतिरोध आन्दोलनको उठान गर्नुपर्ने बताउनु भयो । नेपालमा जलस्रोतमाथि राष्ट्रहित विपरीतका विदेशी लगानी खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले भारतीय विस्तारवाद र नेपालको दलाल सामन्ती सत्ताले नेपाली जनतामाथि चरम शोषण र लुट मच्चाईरहेको भन्दै यो सत्ता ढाल्नुपर्ने बताउनु भयो । दलाल सत्ता ढलेपछि मात्रै देशमा विकास हुने बैद्यको तर्क थियो ।
नेकपा ९माओवादी०का महासचिव नेत्र विक्रम चन्दले नेपाललाई भारतले यहाँका दलालहरुमार्फत् फसाउने गरेको भन्दै देशलाई र जनतालाई धोका दिने दलालहरुलाई पनि नछाड्ने बताउनु भयो । ३ करोड नेपाली जनताको भावना अनुसार काम गर्न उहाँले भारतलाई आग्रह गर्नुभयो ।
यसैगरी जनमोर्चाका सचिव हेमलाल पुरीले जल, जमिन र जंगल भारतलाई बुझाएर राष्ट्रघात गरेको भन्दै ठूला दलका नेताहरुको आलोचना गर्नुभयो । यस्तै जलस्रोतविद दिपक ज्ञवालीले भारतलाई नेपालको बिजुली भन्दा पनि पानी चाहिएको दावी गर्दै खानेपानी र जलस्रोतको अभाव रहेकाले भारत पानी कब्जा गर्न लागि परेको बताउनु भयो ।
कुनै पनि भारतसगँको जल सम्झौताले नेपालको हित नगरेको भन्दै उहाले स्वदेशका लागि चाहिने बिजुली उत्पादन गरीसके पछि आवश्यक पर्ने बिजुली पानी बेच्न सकिने भन्दै नेताहरुको कमजोरीका कारण देशमा समस्या परेको उल्लेख गर्नुभयो । जलस्रोत क्षेत्रका विशेषज्ञ रत्न संसार श्रेष्ठले भारतले नेपालमा हस्तक्षेप गरेको भन्दा पनि नेपाली नेताहरुले भारतलाई हस्तक्षेपका लागि निम्त्याएको बताउनु भयो । जलस्रोत क्षेत्रमा अध्यता रतन भण्डारीले भारतले सुगौली सन्धिदेखि नै नेपालको जलस्रोतमा कब्जा गर्न थालेको बताउनु भयो । कार्यक्रको संचालन माओवादीका नेता धर्मेन्द्र बाँस्तोलाले गरेका थिए ।