आफ्नै बाबुले पार्टीबाट निकाले उत्तर प्रदेशका मूख्यमन्त्री अखिलेशलाई

आफ्नै बाबुले पार्टीबाट निकाले उत्तर प्रदेशका मूख्यमन्त्री अखिलेशलाई

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई उनका बाबु मुलायमसिंह यादावले पार्टीबाट ६ वर्षका लागि निष्काशन गरेका छन् । 

समाजवादी पार्टीका अध्यक्ष तथा अखिलेशका बाबु मुलायमले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिध्याउने खेलमा लागेको आरोप लगाउँदै पार्टीबाट निकालेका हुन् । 

मुलायमले अखिलेशको ठाउँमा पार्टीले अब नयाँ मूख्यमन्त्री चयन गर्ने बताएका छन् । 

मुलायमसिंहले भतिजा रामगोपाल उत्तर प्रदेश विधान सभा चुनाव अगाडि पार्टीलाई कमजोर पार्ने काममा लागेको र अखिलेशले पनि उनलाई समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको बताएका छन् ।

रामगोपालले आगामी विधान सभा चुनावमा पार्टीका उम्मेदवार चयन गर्न जनवरी १ तारिखमा पार्टीको राष्ट्रिय सम्मेलन बोलाएपछि रुष्ट बनेका उनले छोरा र भतिजा दुवैलाई पार्टीबाट निकालेका हुन् । 

मुलायम सिंहले पार्टी अध्यक्षबाहेक अरु कसैलाई पनि राष्ट्रिय सम्मेलन बोलाउने अधिकार नभएको जिकिर गर्दै रामगोपालले बोलाएको पार्टीको राष्ट्रिय सम्मेलनलाई अखिलेशले समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको बताएका छन् ।