काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनाव गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
अहिलेको राजनीतिक गतिरोधको बाटो फुकाउने माध्यम संविधान संशोधन नै भएको दाबी गरे ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा यादवले भने, ‘यदि जबरजस्ती चुनाव गरियो भने मोर्चाले त्यसलाई मान्दैन, एक समयमा पूर्वराजा ज्ञानेन्द्रले पनि यस्तै चेष्टा गरेका थिए, तर हालत के भयो ?’ उनले भने, ‘समस्या राजनीतिमा छ, अनि चुनाव गराउँछु भनेर हुन्छ ?’
उनले अहिले संविधानले स्थानीय तहको चुनाबको परिकल्पना गरेको उल्लेख गर्दै उनले दलहरुले स्थानीय निकायको चुनाबको कुरा गरिरहेको भन्दै कुन संविधानलाई समातेर निर्वाचन गराउने हुन भनेर व्यंग्य गरे ।
यादवले कांग्रेस र एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धि समाप्त पार्ने खेलमा लागेको आरोप लगाए । यादवले कांग्रेस–कम्युनिष्टहरु मिलेर मुलुकलाई प्रतिगमनतर्फ लैजान खोजेको आरोप पनि लगाए ।





























