क्रान्तिकारी माओवादीले भन्यो, ‘संशोधन विधेयक विस्तारवादी, एमालेको विरोध सामन्तवादी’

क्रान्तिकारी माओवादीले भन्यो, ‘संशोधन विधेयक विस्तारवादी, एमालेको विरोध सामन्तवादी’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक विस्तारवादी कोणबाट आएको र एमालेले त्यसमा गरिरहेको विरोध सामन्तवादी भएको निश्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा पुस ८ देखि १० गते सम्म बसेको केन्द्रीय समितिको बैठकले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक विस्तारवादी र एमालेको विरोध सामन्तवादी कोणबाट आएकोले त्यसको विरोध गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय समिति बैठकका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

अध्यक्ष मोहन वैद्य ‘किरण’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी कोण र एमालेद्वारा गरिएको विरोध सामन्तवादी कोणमा आधारित भएकोले ती दुवैको विरोध गर्ने, पहिचान तथा सामथ्र्यका आधारमा राज्य पुनर्संरचना गरिने भनिएकोमा सो पनि नगरिएको स्थितिमा बसोबासको सघनता एवम् जातीय पहिचान सहितको स्वशासनमा आधारित संघीय स्वायत प्रदेशहरुको स्थापनामा जोडदिने, श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदायका बिचमा ऐक्यवबद्धता कायम गर्ने र वर्तमान पश्चगामी संविधान खारेज गरी संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि संघर्षलाई विकसित तुल्याउने नीति अवलम्वन गरिएको छ ।’

यसैगरी क्रान्तिकारी माओवादीले संगठन निर्माण, विस्तार तथा सुदृढीकरण गर्दैै राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यावारे जनतालाई जागरुक बनाउने र सविधानको खारेजी तथा संघीय जनगणतान्त्रिक संविधानको स्थापनाको पक्षमा जनाधार तयार पार्ने, भष्टाचार कालावजारीको विरोध गर्ने लगायतका विषयलाई लिएर माघदेखि चैत्रसम्म तीन महिने अभियान संञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी क्रान्तिकारी माओवादीले फागुनमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै केही समयका लागि पर सारिएको छ । राष्ट्रिय सम्मेलनको अर्को मिति आगामी केन्द्रीय समितिको बैठकले निर्धारण गर्नेछ ।

नयाँ ढंगको पार्टी निर्माण तथा ध्रुविकरणमा विशेष जोड दिँदै विभिन्न रुपमा छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने पनि निर्णय भएको छ ।

बैठकले अध्यक्ष किरणले पेश गरेको तात्कालिक राजनीतिक प्रस्तावसहितको प्रतिवेदन र तीन महिने संगठन तथा जनपरिचालन अभियान संम्बन्धी प्रस्ताव छलफल र संशोधन सहित सर्वसंम्मतले पारित गरेको छ ।