दाङ । कैलालीमा गाई गोरुको सामूहिक हत्या भएको भन्दै हिन्दूवादी संगठनले गरेको मध्यपश्चिम बन्दले जनजीवन प्रभावित भएको छ ।
गत बुधबार कैलालीको गोदावरी गाविसको भ्यागुते भन्ने स्थानमा दुई दर्जनभन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेका थिए ।
सो गौहत्याको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विभिन्न हिन्दू संगठनहरुले मंगलबार मध्यपश्चिमाञ्चल बन्द गराएका हुन् । उनीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका थिए ।
बन्द गराउँदै हिँडेका एकजनालाई दाङ प्रहरीले कान समातेर उठबस गराएको छ ।
दाङमा बन्दकर्ताहरु मंगलबार बिहानै बजार पसल बन्द गराउँदै हिँडेका थिए । तिमध्ये एकजनालाई दाङको सहिदगेट नजिकै प्रहरीले नियन्त्रणमा लिएर कान समातेर उठबस गर्न लगाएको थियो ।
सार्वजनिक स्थानमा नै प्रहरीले बन्दकर्तालाई सजाय दिएकोमा आलोचना समेत भएको छ । बन्दका कारण दाङको सदरमुकाम घोराहीमा बजार, पसल, शिक्षण संस्था खुलेका छैनन् भने सार्बजनिक यातायातका साधन पनि चलेका छैनन् ।