आजदेखि सातौं राष्ट्रिय खेलकुद, राष्ट्रपतिबाट उद्घाटन

आजदेखि सातौं राष्ट्रिय खेलकुद, राष्ट्रपतिबाट उद्घाटन

काठमाडौं । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिक रुपमा सुरु हुँदैछ । 

शुक्रबार दिउँसो विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुने एक विशेष समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । 

पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा हुँदैछन् । प्रतियोगितामा कुल ३० खेल समावेश गरिएको छ । 

जसमध्ये फुटबल र भलिबलका खेल दुहवी र धरानमा सुरु भइसकेका छन् । आर्चरी, स्क्वास, फेन्सिङ र साईक्लिङको पदकलाई तालिकामा गणना गरिने छैन ।

मौसम र भूगोलका कारण पूर्वमा अहिले गर्न कठिन हुने ट्राएथ्लन, पौडी र शारीरिक सुगठनका खेल काठमाडौंमा सम्पन्न भईसकेका छन् ।

सातौं राष्ट्रिय खेलकुदमा रग्बी, रक क्लाईम्बीङ, साम्बो, डान्स स्वोर्ट्स र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । 

प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई पहिलो पटक नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।