बसको ठक्करबाट बर्दियामा पाटे बाघको मृत्यु

बसको ठक्करबाट बर्दियामा पाटे बाघको मृत्यु

बर्दिया । बर्दियामा यात्रु बसको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र कर्णाली–अम्रेनी सडकखण्डमा ना ४ ख २८८७ नम्बरको बसको ठक्करबाट वयस्क भाले पाटेबाघको मृत्यु भएको हो ।

राष्ट्रिय निकुञ्जको बाटोमा सडक पार गर्न लागेको बाघलाई कैलालीको अत्तरीयाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाले बताएका छन् ।

बाघले चितुवालाई लखेट्दै आएको र चितुवाले बाटो क्रस गरे पनि बाघ भने बसमा ठोक्किएको बयान चालकले दिएका छन् । गत वर्षको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ५६ वटा बयस्क पाटे बाघ छन् ।

चालु आर्थिक वर्षमा राजमार्ग दुर्घटनामा पाटे बाघ मरेको यो पहिलो घटना हो तर चित्तल, जरायो, बँदेल, दुम्सी, खरायो लगायतका जनावर भने २५ वटा मरिसकेको वार्डेन थापाको भनाई छ ।