
एजेन्सी । दोस्रो विश्व युद्धका समयमा मारिएका अमेरिकी सैनिकहरुको मानव अवशेष भारतको अरुणाञ्चलमा भेटिएको छ ।
अरुणाञ्चल प्रदेशको तल्लो दिवाङ उपत्यकाका बासिन्दाहरुले अवशेष फेला पारि अमेरिकी खोजी टोलीलाई बुझाएका हुन् ।




सोही स्थानबाट गत वर्ष पनि केही अवशेषहरु फेला परेका थिए । दोस्रो विश्व युद्धताका म्यानमार र चीनको सीमानामा करिब ४ सय अमेरिकी सैनिकहरु विमान दुर्घटनामा मारिएको अनुमान गरिएको थियो । अझै पनि उनीहरुको अवशेष फेला पर्न सकेको थिएन् ।
जापान विरुद्ध लडिरहेको चिनियाँ कोमिन्ताङको सैनिकलाई सहयोग गर्न पुगेका ती अधिकारी बोकेको जहाज दुर्घटनामा परेको थियो । सो दुर्घटनामा करिब ४ सय सैनिक मारिएको बताइन्छ ।
सैनिकहरुको अवशेष खोज्न अमेरिकी रक्षा मन्त्रालयको टोली अरुणाञ्चल प्रदेशमा पुगेको छ । कलकत्तास्थित अमेरिकी कन्सुलेट कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँका स्थानीयहरुसँगको सोधपुछका क्रममा केही मानव अवशेषहरु फेला परेका छन् ।’
दोस्रो विश्व युद्धताका चीन, भारत र बर्माको सीमा क्षेत्रमा करिब १३ सय अमेरिकी सैनिकहरु हराएका थिए । त्यस्तै करिब ४ सय सैनिक चढेको जहाज सोही क्षेत्रमा दुर्घटना भएको अनुमान गरिएको थियो ।