काठमाडौं । बुधबार एक विज्ञप्ती जारी गर्दैं पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको भनेपछि बाबुरामले ट्वीट गर्दै ज्ञानेन्द्र शाहको प्रतिवाद गरे र भने, “बाह्य शक्तिकेन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण छ ।”
शाहले विज्ञप्तिमा भनेका छन्, “आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।”
निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधार किमार्थ बलियो हुन नसक्ने भन्दै उनले भनेका छन्, “नेपाली मन मष्तिस्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखररुपले जाग्नै परेको छ ।”
नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफ्नो ट्वीटमा भनेका छन्, पश्चगामी ध्येयकासाथ आज आएको पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति पहिलेभन्दा गम्भीर छ ! सबै अग्रगामी शक्तिहरूले प्रतिवाद गर्नैपर्छ, सतर्क बन्नैपर्छ !”