काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले महोत्तरीको बर्दिवासस्थित मुसहर समुदायका लागि एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।
उनीहरुले गिरान्चौर एकीकृत वस्ती निर्माणका क्रममा बचेको १ करोडले मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनहरुसँग आग्रह पनि गरेका छन् ।
धुर्मुस सुन्तलीले यसअघि नै भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमुना बस्ती निर्माण गरिसकेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास २ महोत्तरीमा एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।
उनीहरुले गत वर्ष राजमार्ग सरसफाईका क्रममा पुगेको सो बस्तीमा रहेका मुसहरहरु चरम जिबिकोपार्जनका लागि दाउरा बेच्ने काम गर्दै आएका छन् ।
शीतलहरबाट प्रभावित उनीहरुलाई धुर्मुस सुन्तलीले गत वर्ष न्यानो कपडा वितरण समेत गरेका थिए । भूकम्प पीडितका लागि बस्ती निर्माण गर्दै आएका उनीहरुले मानवता र सद्भावका लागि तयारीमा बस्ती निर्माण कार्य सुरु गर्न लागेको जनाएका छन् ।
कुल ४ करोड ७८ लाख लगानीमा निर्माण हुने मुसहर एकीकृत बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेको भनाई छ ।