एजेन्सी । टर्कीमा एक प्रहरी अधिकारीले नै रुसका राजदूत एन्ड्रे कार्लोफको गोली हानी हत्या गरेका छन् ।
राजधानी अंकारामा एक आर्ट ग्यालरीमा प्रदर्शनीमा भाषण दिनका लागि उडेका कार्लोफमाथि २२ वर्षीय मेभलुत मेर्त एडिन्टासले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्ने मेभलुत अंकारामा दंगारोधी प्रहरीका सदस्य भएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका छन् । टर्कीका मिडियाहरुले आक्रमणकारीको पनि जवाफी कारबाहीमा मृत्यु भएको उल्लेख गरेका छन् ।
सिरियामा चलिरहेको युद्धमा रुसले राष्ट्रपति बसर अल असदलाई सहयोग गरेको विरोधमा हालै टर्कीमा प्रदर्शन भएको थियो । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले हमला रुस र टर्कीबीचको सम्बन्ध विगार्ने मनसायसाथ भएको बताएका छन् ।
एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी रुस र टर्कीको सम्बन्ध बिगार्न चाहनेको उद्देश्यक पूरा हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
रुस राष्ट्रपति पुटिनले भने रुस र टर्कीबीच सामान्य हुँदै गएको सम्बन्ध र सिरियाको शान्ति प्रक्रियामा रोकावट पैदा गर्नका लागि गराएको बताएका छन् ।
गोली लागेर गम्भीर घाइते भएका एन्ड्रे कार्लोफलाई उपचारका लागि अस्पताल भर्ना गरिएपनि केही समयमा नै चिकित्सकले मृत घोषणा गरेका थिए ।
रुसी मिडियाहरुले कार्लोफले प्रदर्शनीलाई सम्बोधन गर्न सुरु गरेलगत्तै बन्दुकधारीले सिरियाको एलेप्पो सहरका बारेमा नाराबाजी गदैए गोली चलाउन सुरु गरेका थिए ।
उनले सो प्रदर्शनीमा छिर्नका लागि पनि प्रहरी परिचयपत्र देखाएका थिए । आक्रमणका क्रममा अन्य केही घाइते भएका छन् । गत वर्ष टर्कीले एक रसियाली विमान खसालेपछि दुई देशको सम्बन्धमा तित्तता आएको थियो ।
सिरिया सरकारलाई रुसले सहयोग गरेको विषयमा पनि दुई देशका सरकारबीच फरक धारणा रहँदै आएको थियो । यद्यपि रुस र सिरियाले पछिल्लो समयमा एलेप्पोमा युद्धविरामा मिलेर काम गरिरहेका थिए ।