बुटवल । नेकपा (एमाले) निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । तिवारीमाथि सोमबार दिउँसो रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । देब्रे कोखामा गोली लागेका उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै बुटवललगायतका क्षेत्र तनावग्रस्त बनेको छ भने तिवारी हत्याको विरुद्धमा युवा संघले आन्दोलनको घोषणा गरेको छ ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजीलाई तिव्रता दिइएको जानकारी दिएका छन् ।
उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शिल गरिएको र सम्भावित स्थानमा खोजी तिव्र पारिएको बताए । साथै सुरक्षा चेकजाँच बढाइएको छ । हत्याको कारण लेनदेन भएको बताइएको छ । हत्यामा मनोज पुनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
नेकपा एमाले र युवा संघले तिवारी घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ ।