एजेन्सी । अमेरिकाको फेडेरल रिजर्भ बैंकले ०.२५ प्रतिशतले ब्याजदरमा वृद्धि गरेको छ । यो एक दशकमा दोस्रोपटक गरिएको वृद्धि हो ।
फेडरल ओपन मार्केट कमिटीले अमेरिकी अर्थव्यवस्थाको मजबुतीलाई मध्यनजर गर्दै ब्याजदरमा शून्य दशमलव ५ देखि शून्य दशमलव ७५ प्रतिशतसम्म ब्याजदर बढाउनेमा समर्थन जनाएको थियो ।
फेडरल रिजर्भकी अध्यक्ष जेनेट येलेनले आर्थिक परिदृश्य अत्यन्तै अनिश्चयपूर्ण बनेको उल्लेख गर्दै ब्याजदरमा गरिएको वृद्धि सानो बदलाव भएको उल्लेख गरेकी छन् ।
एक वर्षअघि पनि ब्याजदरमा वृद्धि गरिएको थियो । एक पत्रकार सम्मेलनका क्रममा अध्यक्ष येलेनले बैंकको नीतिगत निर्णयमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभाव रहन सक्ने आशंकालाई पनि अस्वीकार गरेकी छन् । उनले भनिन्, ‘म फेडरल रिजर्भको स्वतन्त्रताको समर्थक हुँ ।’
ब्याजदरमा भएको वृद्धिलाई बैंकले देशको आर्थिक विकासमा लगातार भइरहेको वृद्धि र बड्दो रोजगारसँग जोड्ने दाबी गरिएको छ । हालको मुद्रास्फीति दर फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै तल रहेको छ । फेडरल रिजर्भले आगामी तीन वर्षका लागि आर्थिक अनुमानको पनि घोषणा गरेको छ ।
आर्थिक अनुमानअनुसार फेडरल रिजर्भको कोषमा आमामी वर्ष १ दशमलव ४ प्रतिशतले वृद्धि हुनेछ । सन् २०१८ मा यो २ दशमलव १ प्रतिशत र २०१९ मा २ दशमलव ९ प्रतिशत रहनेछ ।
केन्द्रीय बैंकले सम्पूर्ण घरेलु उत्पादनमा आगामी वर्ष २ दशमलव १ प्रतिशत बढोत्तरी हुनेछ भने आगामी तीन वर्षमा पनि यो सोही आसपासमा रहने अनुमान गरेको छ ।
बैंकका अनुसार सन् २०१७÷१९ मा बेरोजगारी दर ४ दशमलव ५ प्रतिशतले घट्नेछ भने मुद्रास्फीति दरमा आगामी वर्ष १ दशमलव ९ प्रतिशत बढ्नेछ । त्यसैगरी, आगामी दुई वर्षमा पनि सोही अनुपातमा रहनेछ ।