काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले जातीय आत्मनिर्णयको अधिकारलाई नस्वीकार्ने कम्युनिष्ट हुनै नसक्ने धारणा राखेका छन् । पार्टी निकट अखिल नेपाल आदिवासी जनजाति महासंघको शनिबार ललितपुरको कुपण्डोलमा दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष वैद्यले यस्तो धारणा राखेका हुन् ।
खस ब्रम्हाणवादी र सामन्तवादवादी, विस्तारवादी र साम्राज्यवादीहरुले जातीय, वर्गीयलगायत सबै मुक्ति आन्दोलनको नाराबाट कम्युनिष्टहरुलाई अलग गराउन खोजेको भन्दै अध्यक्ष बैद्यले जातीय मुक्ति आन्दोलनको गलत व्यख्या गरेर उल्ट्याइएको मुद्दालाई क्रान्तिकारी माओवादीले सुल्ट्याउने र नयाँ जनवादी क्रान्तिसँगै जातिलगायत सबै वर्गसमुदायको साँचो मुक्ति सम्भव पार्ने पनि दावी गरे ।
महासंघका संयोजक कमल चौधरीको अध्यक्षतामा सम्पन्न भेलालाई प्रा. माणिकलाल श्रेष्ठ, डा. ओम गुरुङ, प्रा.डा.जगदिशचन्द्र भण्डारी, मरामुमो महासचिव शिवराम यादवलगायतले शुभकामना दिएका थिए । भेलाको संचालन महासंघका महासचिव नगेन्द्र राईले गरेका थिए ।