दाङ । प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले यस वर्षको ‘चिन्तामणि–जमुना साहित्य पुरस्कार’ प्रगतिवादी साहित्यिक क्षेत्रका अग्रज साहित्यकार हिरामणि दुःखीलाई दिने निर्णय गरिएको जनाएको छ । उक्त पुरस्कारको राशी रु. १० हजार र सम्मान पत्र रहेको छ ।
प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका दुःखीले हाल सांस्कृतिक आन्दोलनका अगणी सहिद कृष्ण सेन इच्छुकका नाममा स्थापित ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ का सदस्य सचिव पदको जिम्मेवारी सम्हाली रहेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका दुःखीका ‘परिभाषा’ र ‘जून पश्किने यात्रामा’ कवितासङ्ग्रह ‘युद्धका कथाहरु’ (साझा प्रकाशनद्वारा प्रकाशित) कथासङ्ग्रह र ‘स्मृतिका कुइनेटा’ (शमीसम प्रकाशनद्वारा प्रकाशित) संस्मरणसङ्ग्रह प्रकाशित भएका छन् । यस अतिरिक्त समालोचना र निवन्धमा पनि कलम चलाइरहने साहित्यकार दुःखी प्रत्रकारिता क्षेत्रमा पनि त्यतिकै स्थापित छन् । जनादेश, नौलो जनउभार, दायित्वबोध जस्ता स्थापित पत्रिकाहरुको सम्पादक समेतको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका दुःखी कलम, बेदना, नयाँ यथार्थ, नवचेतना, पहल लगायतका दर्जनौ साहित्यिक पत्रिकाहरुको सम्पादन समेत गरेका छन् ।
विगत चालीसको दशकदेखि प्रगतिशील साहित्यका क्षेत्रमा अनवरत क्रियाशील रहेका हिरामणि दुःखी पत्रकार तथा राजनीतिक व्यक्तित्व पनि हुन् । उनी यस अघि प्रलेस दाङ र बाँके तथा नेपाल पत्रकार महासङ्घ दाङ र क्रान्तिकारी पत्रकार सङ्घबाट पनि पुरस्किृत र सम्मानित भइसकेका छन् ।
सदाझैँ यस बर्स पनि प्रलेस दाङले पाँच जना स्रष्टाहरुलाई पुरस्कृत गर्ने भएको छ । मंगलबार घोराहीमा बसेको प्रतिभा छनोट समितिको बैठकले पाँच जना स्रष्टाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
जसअनुसार प्रगतिशील साहित्य पुरस्कार साहित्यकार शरद देवकोटालाई दिने भएको छ भने अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार जागेश्वर शर्मा घिमिरेलाई, गोविन्द चीस सर्जक पुरस्कार साहित्यकार भुपेनलाई र गोविन्द ज्ञवाली साहित्य पुरस्कार साहित्यकार दीपा धिताललाई दिने निर्णय गरिएको प्रतिभा छनोट समितिका संयोजक तथा प्रलेस दाङका अध्यक्ष शरद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार अघिल्ला दुई पुरस्कारको राशी १०÷१० हजार रहेको छ भने अनन्त–टीका प्रतिभा पुरस्कारको राशी रु. ५ हजार र अन्य दुई पुरस्कारको राशी २५÷२५ सय रुपैयाँ रहेको छ ।
प्रलेस दाङ शाखाको २४ औं स्थापना दिवसको अवसरमा आगामी पुस ३ गते घोराहीमा आयोजित कार्यक्रममा ती स्रष्टाहरुलाई सम्मान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । साथै छनोट समितिको बैठकले पुरस्कृत प्रतिभाहरुको परिचयका लागि प्रलेस दाङका उपाध्यक्ष डिल्ली मल्ललाई जिम्मेवारी दिएको जानाइएको छ ।