sambodha-f

काठमाडौं । कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव जनविरोधी र राष्ट्रिय एकताविरोधी रहेको भन्दै सत्तारुढ दल कांग्रेस र माकेकै नेताहरु सडकमा उत्रिएका छन् । प्रदेश नम्बर ५ बाट संसदमा प्रतिनिधित्व गरेका दलका नेताहरुले ५ नम्बर प्रदेश टुक्राउने गरी भएको संशोधन प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

शुक्रबार बुटवलमा प्रदेश नम्बर ५ स्तरीय संयुक्त अगुवा कार्यकर्ता भेलामा बोल्दै एमाले उपाध्यक्ष बामदेव गौतम, विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी लगायतका नेताहरुले प्रदेशका नागरिकको अहित र देश विखण्डनका लागि ल्याइएको प्रदेश टुक्राउने विधेयकलाई सडक, सदन र अदालतबाटै विफल पार्ने चेतावनी दिए । पहाड र तराईलाई जोडेर बनेको प्रदेश टुक्राउने विधेयक कुनै आस्था, पार्टी र सम्प्रदायको माग नभएकाले नागरिकको मन टुक्राउने विधेयकविरुद्ध डटेर लड्ने र सरकारलाई चुनौती दिने बताएका छन् ।

९० प्रतिशतमा बनेको ५ नं प्रदेश १० प्रतिशतको अडानका कारण टुक्र्याइएको भन्दै संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल हुन नदिने माके नेता रायमाझीले दावी गरे । अल्पमतको प्रस्तावलाई कुनै अर्थमा सफल हुन नदिने जिकिर गरे । कांग्रेस नेता चन्द्र भण्डारीले सरकार र आफ्नै दलका नेताहरुले ५ नम्बर प्रदेशलाई आइसीयुमा पु¥याएकाले यसलाई टुक्रन नदिइ निको बनाउन आफू आन्दोलनमा होमिएको बताए ।

भेलामा सम्बोधन गरेपछि विभिन्न दलहरुका १२ वटै जिल्लाबाट आएका नेता, कार्यकर्ता, सामाजिक संघसंस्था, नागरिक अगुवा र सर्वसाधारणहरु बुटवलको राजमार्ग चौराहबाट निकालिएको विरोध जुलुसमा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर