बुढीगण्डकीको आन्दोलनप्रति क्रान्तिकारी माओवादी गोरखाको ऐक्यवद्धता

बुढीगण्डकीको आन्दोलनप्रति क्रान्तिकारी माओवादी गोरखाको ऐक्यवद्धता

budhigandakiगोरखा । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आन्दोलनप्रति ने.क.पा.(क्रान्तिकारी माओवादी)गोरखाले समर्थन र ऐक्यवद्धता जाहेर गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा गोरखा संयोजक नारायण अधिकारीले जनाएका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मंसिर १६ गते बिहीबार गोरखाको घ्याल्चोकस्थित बुढीगण्डकी आयोजना विकास समिति कार्यालय बाहिर शान्तिपूर्ण कार्यक्रम मार्फत मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा घोषणाको विरोध गर्दै बुढीण्डकी विकास समितिको कार्यालय तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी डुबान क्षेत्रका तीन जनालाई घाइते बनाएको थियो । घाइते भएका गोरखा तान्द्राङ गाविसका बलराम पाण्डे, फुजेलका मेगनाथ न्यौपाने र धादिङ मैदीका महाप्रसाद लामिछानेको धादिङ बेनिघाटको मेडिकलमा उपचार भइरहेको छ ।

तालाबन्दीकै क्रममा डुबान क्षेत्रका ९ जना पक्राउ परेका छन् । गोरखा आरुआर्बाङ ९ का विकास दाहाल, बोर्लाङका नवराज ढकाल र राजन कुमाल, नाम्जुङका सुनिल माझी र दीपेन्द्र पोखरेल, आरुचनौटेका ज्ञानबहादुर गुरुङ, दर्बुङका हरि आले, धादिङ खरीका कृष्ण काप्री र दीपेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउपर्ने मध्येमा नवराज ढकाल क्रान्तिकारी माओवादीको जिल्ला सदस्य भएको भन्दै ढकाल लगायत सबै गिरफतार आन्दोलनकारीको रिहाईको क्रान्तिकारी माओवादी गोरखाले माग गरेको छ ।

यसैबीच, सरोकार समितिका अध्यक्ष हरेराम ढकालले शुक्रबार एक विज्ञप्ती जारी गरी शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको अधिकारलाई कुण्ठित गरी प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरिएकोप्रति घोर आपत्ति प्रकट गरेका छन् । विज्ञप्तीमा भनिएको छ, “बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति पक्राउ परेकाहरुलाई विना शर्त २४ घण्टाभित्र रिहाइ गर्न र घाइतेको निःशुल्क उपचार व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।”

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला मुआब्जा निर्धारण समितिले डुबान क्षेत्रका वासिन्दालाई सुकुम्बासी बनाउने गरी जग्गाको मुआब्जा निर्धारण गरेकाले डुबान पीडित जनता आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनकारीहरुले मुआब्जा समितिलाई मुआब्जा पुनराबलोकन गर्न र जग्गाको अवैज्ञानिक बर्गीकरण खारेज गरी हालको भोगचलनको आधारमा बर्गीकरण गर्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।