खण्ड–१
प्लेटोदेखि फुकोसम्मको दर्शन पढेर
दुनियाँको गलत व्याख्या गरेर
मालेमामाथि आक्रमण गर्नेहरुका विरुद्ध
आउनुहोस्,
दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद
आजको सापेक्षतामा नेपाली धर्तीमा फेरि प्रयोग गरौं !
मालेमाको मौलिक विशेषतामा नयाँ युगको सुत्रपात गरौं !
विचार, आदर्श, बलिदान र मुद्दालाई रछ्यानमा मिल्क्याएर
वर्ग र क्रान्तिप्रतिको निष्ठालाई छुद्र स्वार्थमा लिलामी बिक्री गरेर
वर्गवैरीसँग अवैध सम्बन्धमा मदहोश भूतपूर्व कमरेडहरुका विरुद्ध
आउनुहोस्,
मालेमाको सुसज्जित धारिलो हतियारले आक्रमण केन्द्रित गरौं !
मालेमाको अजेयता र श्रेष्ठतालाई फेरि समग्रमा स्थापित गरौं !
इतिहासको गर्भमा हुर्किरहेका लालयोद्धाहरुसँगै नयाँ मोर्चा कसौं !
भूकम्पले भत्काएको भग्नावशेष घरमा जीवनोद्धार नगरी
‘बचाऊ, बचाऊ’भन्दै जीवनको आश र प्यास राख्नेहरुमाथि
डोजर चलाएर जीवनलिला समाप्त पारिदिने अमानवीय क्रूरताविरुद्ध
आउनुहोस्,
भग्नावशेषहरु पन्छाएर जीवितको उद्धार गरौं, घाइतेहरुको उपचार गरौं !
बाँचेका हामी सबै मिलेर भूकम्पप्रतिरोधी घरको जग बसालौं !
अत्याधुनिक प्रविधिले सुसज्जित लाखौं धक्काले नहल्लाउने घरको निर्माण गरौं !
सिकर्मी, डकर्मी, कालिगढ सबैको कुशल प्रयोग गरी बनेको
संसारकै सुन्दर भूकम्प प्रतिरोधी घरमा बस्न नचाहने को होला
जहाँ जीवनको रक्षा होस्, जहाँ न्याय र समानता फुल्न र फल्न पाओस्
आउनुहोस्,
हामी हाम्रा क्षमता र प्रतिभालाई केन्द्रित गरौं, बुद्धि र विवेकको प्रयोग गरौं !
हाम्रो सपनाको महान लक्ष्य यो चुम्न, दरिलो आँट र साहसिला मुठ्ठि कसौं !
मालेमाको ‘ओरिजिनल’अस्त्र बोकी, विजयको लाल मार्चपासमा अघि बढौं !
भो……बरू..
खण्ड–२
भो,
सपनाको मृत्युको घोषणा गर्ने गद्दारहरुको कुरा छाडौं,
बरु,
सपना देख्ने क्रान्तिकारी योद्धाहरुको कुरा गरौं
जो माक्र्स भएर जीवनको परिभाषा खोज्दैछ
जो लेनिन भएर युग बदल्ने सपना देख्दैछ
जो माओ भएर युद्ध र विद्रोहको लेखाजोखा गर्दैछ
भो,
विचारलाई पैसामा लिलामी गर्नेहरुको कुरा छाडौं,
बरु,
अभावमा पनि क्रान्तिकारी जीवन बाँच्नेहरुको कुरा गरौं,
जसले पैसा र पदको लोभमा आफ्नो आदर्श बेचेन
जसले चरम संकटमा पनि सहिद र बलिदान बिर्सेन
जसले वर्ग र क्रान्तिप्रतिको निष्ठा र दायित्व कहिल्यै भूलेन
भो,
क्रान्तिलार्ई धोका दिने अवसरवादीहरुको कुरा छाडौ,
बरु,
अवरुद्ध क्रान्तिमार्ग खुलाउन उद्यत जनयोद्धाहरुको कुरा गरौं
जो चरम निराशाबीच क्रान्तिकारी आशावादले ओतप्रोत छ
जो ‘पहाड पन्छाउने बुढो मान्छे’ झै क्रान्तिप्रति प्रतिबद्ध छ
जो क्रान्तिका निम्ति फेरि पनि जीवन बलिदान दिन तयार छ
भो
ती लाल बन्न नसकेका तथाकथित निपूर्णहरुको कुरा छाडौं,
बरु,
क्रान्तिका निम्ति निपूर्ण बन्न अहोरात्र खटिरहेका लालयोद्धाहरुको कुरा गरौं,
जो जन्मिरहेछन् ‘संसार बुझ्ने र बदल्ने अस्त्र’ बनेर
जो समृद्ध बन्दैछन् ‘विज्ञान÷सूचना प्रविधिको युग’ पढेर
जो अगाडि बढिरहेछन् ‘क्रान्तिको नयाँ मार्ग’ खनेर