
काठमाडौं । संंघीय समाजवादी फोरम नेपालले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकले आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको बताएका छन् ।
यादवले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गल्ती गरेको उल्लेख छ ।

‘संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन गरेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधन प्रस्तावले सम्बोधन गरिएको छैन । जातीय र सामुदायिक जनससंख्याको आधारमा समानुपातिक समावेशिकरण र राष्ट्रिय पहिचानको मान्यताका कहीं चर्चासम्म पनि छैन ।’
संशोधन प्रस्तावले वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय आदि भेद्भावलाई अन्त्य गर्न नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ– ‘यसले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रियता, राष्ट्रिय एकता र विकासको सट्टा थप द्वन्द्व, अन्यौल र अस्थिरतातर्फ लैजाने खोजेको छ ।’