
एजेन्सी । पाकिस्तानका सेना प्रमुख जनरल राहिल सरिफ भारतलाई एक पटक फरि चेतावनी दिँदै सैनिक सेवाबाट बिदा भएका छन् ।
मंगलबार सरिफले अवकाश पाएलगत्तै जनरल कमर जावेद बाजवाले नयाँ सेना प्रमुखको रुपमा पदभार सम्हालेका छन् ।
आफ्नो विदाई समारोहमा सरिफले भारतलाई पाकिस्तानको मौनतालाई कमजोरी नठान्न चेतावनी दिए । उनले पाकिस्तानलाई कुनै पनि रुपमा कमजोर नसोच्न चेतावनी दिँदै अन्यथ भारतका लागि खतरनाक साबित हुने र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
उनले पाकिस्तानी सेना भारतीय सेनाको कुनै पनि हर्कतको जवाफ दिन सक्षम रहेको स्पष्ट पारे । सरिफले यसअघि देखि नै भारतीय सेनालाई पाकिस्तानी भूमिमा कुनै पनि गतिविधि गर्ने सपना नदेख्न चेतावनी दिँदै आएका थिए ।
उनले भनेका थिए, ‘भारतीय सेनाले पाकिस्तानमाथि हमला गरेमा जबरजस्त नोक्सान बेहोर्नुपर्नेछ । यो नोक्सान यति धेरै हुने छ कि यसको कथा भारतमा विद्यालयका विद्यार्थीलाई पठाउनु पर्नेछ र भारतका आगामी पुस्ताले पनि भुल्न सक्ने छैन ।’
उनले यसअघि भारतले गरेको भनिएको ‘सर्जिकल स्ट्राइक’ लाई झुठो र मनगणन्ते भएको टिप्पणी गरे ।
सरिफले रावलपिण्डीमा जनरल हेडक्वाटर नजिक रहेको आर्मी हकी स्टेडियममा आयोजिक एक समारोहमा सेनाको कमाण्ड बाजवालाई सुम्पिएका हुन् ।
प्रधानमन्त्री नवाज सरिफले शनिबार बाजवालाई चार तारे जनरलका रुपमा पदोन्नति गर्दै सैनिक प्रमुखमा नियुक्त गरेका थिए ।