नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको आधार

नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको आधार

 कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा विकास गर्न वैचारिक, राजनैतिक र संगठनात्मक मूल्य मान्यता तथा संघर्षका बीचबाट क्रान्तिकारीहरुको ध्रुवीकरण गर्नु समयको माग र आवश्यकता हो । समयको त्यो माग र आवश्यकतालाई पुरा गर्ने उद्देश्यलाई केन्द्रमा राखेर ध्रुवीकरण तथा पार्टी निर्माणको लागि क्रान्तिकारी नेतृत्वले पहल गर्न जरुरी छ । छरिएर रहेका क्रान्तिकारीहरुलाई एकतावद्ध गरेर नै आन्दोलनलाई नयाँ उचाईमा उठाउन सकिने छ । तर, त्यो कार्य त्यति सजिलो र सहज छैन । त्यसका लागि सामान्य प्रकारको अपील वा आव्हानले मात्र पुरा हँदैन । ध्रुवीकरण तथा नयाँ ढङ्गले पार्टी निर्माण गर्ने कुरासँग मुख्यतः विचार, राजनीति नै केन्द्रीय विषय हुन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति क्रान्तिका लागि सकारात्मक तथा अनुकूल बन्दै गएको छ । तर, क्रान्तिकारी शक्तिहरुको आत्मगत परिस्थिति त्यति राम्रो देखिदैन । जसले गर्दा वस्तुगत हिसाबले क्रान्तिको माग गरिरहे पनि आन्दोलनले ठीक दिशा र गति समात्न सकिरहेको छैन । क्रान्तिकारीहरुका लागि यो गम्भीर चुनौतिको विषय पनि हो । निश्चय नै चुनौति जहिले पनि सम्भावनासँग अन्तर–सम्बन्धित हुन्छ । सर्वहारा वर्गीय आन्दोलनले निकै धक्का खाएको र पुँजीवाद मूलतः साम्राज्यवाद पनि एकपछि अर्को रुपमा संकटमा पर्दैै गएको पृष्ठभूमिमा क्रान्तिकारीहरुले सचेतापूर्वक सर्वहारा वर्गीय आन्दोलनलाई अगाडि बढाउन तथा समाजवादी आन्दोलनलाई निर्णायक बनाउने विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ ।

उपरोक्त परिस्थितिप्रति ध्यान दिंदै कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनः निर्माण तथा ध्रुवीकरण गर्ने दिशामा ठोस र मुर्तरुपमा पहल गर्नु यतिवेलाको वस्तुगत आवश्यकता हो । तर, यो कार्य त्यति सजिलो र सहज अवश्य पनि छैन । कम्युनिस्ट आन्दोलनमा देखिएका वेग्ला वेग्लै प्रवृत्ति, चिन्तन र दृष्टिकोणहरुको राम्रो गरी समीक्षा नगरी पक्कै पनि आन्दोलनलाई अगाडि बढाउन कठिन छ । कम्युनिस्ट आन्दोलनको नाममा कृयाशिल थुप्रै समूहरु अहिले अस्तित्वमा छन् । ती सबै समूह वा पार्टीहरु एक भए हुन्थ्यो भन्ने चिन्तन पनि वामपन्थी जनमतमा छ । सामान्य रुपमा त्यसप्रकारको भावना आफैमा नराम्रो होइन । तर, त्यो भावनाले सही अर्थमा कम्युनिस्ट पार्टीको निर्माण र ध्रुवीकरण हुँदैन । कम्युनिस्ट पार्टीको निर्माणसँग जोडिएको आधारभूत कुरा विचार, राजनीति, संगठनात्मक मूल्य, मान्यता संघर्षसम्बन्धी मालेमावादी दृष्टिकोण तथा साँकृतिक रुपान्तरण जस्ता विषय मुख्य हुन् । यी विषयमा आधारभूत रुपमा सहमति भए स्वभाविक रुपमा ध्रुवीकरण हुने हो । ध्रुवीकरण तथा पार्टी निर्माणको कुरा मुख्यतः दुईवटा कोणबाट उठिरहेको छ । एउटा संशोधनवादी तथा अवसरवादीहरुको तर्फबाट, अर्को क्रान्तिकारी तथा मालेमावादी दृष्टिकोणबाट । त्यो स्वभाविक विषय पनि हो ।
कम्युनिष्ट आन्दोलनको सामान्य मान्यता, एउटा देशमा सर्वहारावर्गको एउटै पार्टी हुन्छ र हुनुपर्दछ भन्ने नै हो । तर, त्यो स्थिति हाम्रो देशमा मात्र होइन विश्वमा पनि विरलै देखिन्छ । यसो हुनुमा सर्वहारा वर्गको भरपर्दो अन्तर्राष्ट्रिय संगठन नहुनु पनि एउटा कारण हो । यसका साथै अरु कैयौ कारणहरु पनि योसँग सम्बन्धित छन् । त्यसतर्फ चर्चा गर्नुभन्दा पनि नेपालको क्रान्तिकारी आन्दोलनलाई कसरी ध्रुवीकरण गर्ने, त्यसका आधारहरु के हुने, कसरी गर्ने भन्ने कुरा नै अहिलेको मुख्य विषय हो ।

नेपालमा कृयाशिल आफूलाई कम्युनिस्ट भन्ने समूह वा पार्टीहरु सबै कम्युनिस्ट आन्दोलनका मूल्य, मान्यता र आर्दशमा छन् भन्ने होइन । ती मध्ये अधिकांशले संशोधनवादी तथा अवसरवादी दिशा समातेका छन् । तिनै संशोधनवादी तथा नवसंशोधनवादीहरुले जनतामा कम्युनिस्ट आन्दोलनको नाममा विभिन्न भ्रम सिर्जना गर्न उनीहरु एकहदसम्म सफल पनि रहेका छन् । संशोधनवादी तथा नवसंशोधनवादका विरुद्ध वैचारिक राजनैतिक भण्डाफोर गर्दै मालेमावादी सिद्धान्तको जगमा नै क्रान्तिकारी आन्दोलनको निर्माण र ध्रुवीकरण सम्भव छ । यदि भावनाका आधारमा पार्टी निर्माण तथा ध्रुवीकरण गर्न खोजियो भने त्यो आफैमा अवसरवादको दलदलमा फस्नु बाहेक अरु केही हुनेछैन । तसर्थ, कम्युनिस्ट पार्टीको निर्माण र ध्रुवीकरण चर्चा गर्दा त्योसँग जोडिएका सिद्धान्त, राजनीति संगठन, संघर्ष र साँस्कृतिक प्रश्नहरुमा आधारभूत सहमति देखिनु पर्दछ । जसले समग्र रणनीति र कार्यनीतिको प्रतिनिधित्व गर्दछ । कतिपय अवस्थामा कार्यनैतिक प्रश्नमा संशोधनवादी, नवसंशोधनवादी र विभिन्न अवसरवादी शक्तिहरु क्रान्तिकारीहरु बीचमा समनता देखिन सक्दछ । तर, त्यो आधारमा पार्टी निर्माण ध्रुवीकरण गर्नु भनेको गंभीर प्रकारको भूल हुनेछ । जुन कुरा माक्र्सले गोथा कार्यक्रममा आलोचनामा स्पष्ट गरेका छन् । त्यस सन्दर्भमा भनिएको छ “सैद्धान्तिक प्रश्नमा कुनै मोलतोल हुन सक्दैन ।” यो भनाईले नै स्पष्ट गर्दछ कि पार्टी निर्माणसँग सिद्धान्तको कुरा कति महत्वपूर्ण हुन्छ । त्यसैले पार्टीको निर्माण वा ध्रुवीकरणको चर्चा गर्दा सस्तो लोकप्रियताको लागि होइन क्रान्तिकारी पार्टी निर्माणलाई केन्द्रमा राखेर पहल गर्नु पर्दछ ।

नेपालको विशेषता वा विडम्बना के रहँदै आएको छ भने सिद्धान्त, विचार राजनीति र समग्र कम्युनिस्ट आन्दोलनलाई भन्दा पनि तत्कालिक लाभलाई केन्द्रमा राखेर पार्टी एकता वा विभाजन हुने कुरा सामन्य जस्तै देखिन्छ । यसप्रकारको गलत चिन्तन र दृष्टिकोणका आधारमा होइन, सही मालेमावादी विचारको जगमा नै पार्टीको निर्माण र ध्रुवीकरण गर्न जरुरी छ । यस सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न केन्द्रीय सचिवालयको बैठक पश्चात् पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ले जारी गरेको वक्तव्यमा भनिएको छ “विभिन्न घटकहरुमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध तुल्याउन नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न र ध्रुवीकरणको प्रकृयालाई गति दिनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ ।” उपरोक्त भनाईले ध्रुवीकरण तथा पार्टी निर्माणको प्रश्नमा ऐतिहासिक महत्व बोकेको कुरा स्पष्ट छ । मूख्यतः विभिन्न घटकमा रहेका क्रान्तिकारीहरुको बीचमा ध्रुवीकरण गर्दै नयाँ ढङ्गको पार्टी निर्माणमा जुटनु यतिवेलाको आवश्यकता हो । त्यो आवश्यकतालाई पुरा गर्ने उद्देश्य सहित नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले यो नीतिलाई अगाडि बढाएको कुरा छर्लङ्ग छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको अत्यन्त नकरात्मक पक्ष सामान्य मतभेदमा पनि पार्टी विभाजन गर्ने र समूह निर्माण गरेर पार्टी एकताका चर्चा गर्ने खेति पनि निकै चल्दै आएको छ । त्यो कुरा मूख्यत नेतृत्वका लागि वार्गेनिङ्ग(मोलतोल) गर्ने विषयसँग नै बढी सम्बन्धीत छ । यस प्रकारको चिन्तनले साँचो अर्थमा कम्युनिस्ट आन्दोलनको ध्रुवीकरण र पार्टी निर्माण हुदैन । तसर्थ, कम्युनिस्ट आन्दोलनलाई ध्रवीकरण गर्न र नयाँ ढङ्गको पार्टी निर्माणका लागि सही कार्यदिशा, कार्यक्रम र नेतृत्व अनिवार्य हुन्छ । यो विषयलाई ध्यानमा राखेर नै ध्रुवीकरण र पार्टी निर्माणमा जुट्नु पर्दछ । यतिवेला नेपालको कम्युनिस्ट आन्दोलन विभाजित मात्र होईन, विश्रृङखलीत समेत बन्न पुगेको छ । संगठनात्मक मूल्य मान्यताहरु विशेषतः लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा भन्दा व्यक्तिका इच्छामा पार्टी चलाउने परम्पराले महत्व पाउदै गएको छ । त्यसप्रकारको चिन्तनले सही अर्थमा कम्युनिस्ट पार्टीको निर्माण तथा ध्रुवीकरणलाई भन्दा पनि अवसरवादलाई मलजल गर्दछ । त्यसप्रकारका गलत चिन्तन र दृष्टिकोणको फण्डाफोर गर्दै लेनिनवादी संगठनात्मक सिद्धान्तको जगमा पार्टीलाई ध्रवीकरण तथा निर्माण गरेर नै आन्दोलनलाई नयाँ उचाईमा उठाउन सकिने छ ।

कम्युनिस्ट आन्दोलनमा देखिएको फुटपाथे प्रवृत्तिबाट पार्टीलाई माथि उठाउन तथा पार्टी निर्माण र ध्रुवीकरण गर्न क्रान्तिकारीहरुको एउटा ध्रुव अनिवार्य छ । त्यो ध्रुवको निर्माण मालेमावादको आलोकमा मात्र निर्माण हुन सक्दछ, र त्यसको वैचारिक नेतृत्व क्रान्तिकारी माओवादीले मात्र गर्न सक्दछ ।