काठमाडौं । आज बालाचतुर्दशी पर्व, दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषमान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी मनाइँदैछ ।
सत्वीज छर्न विहानै पाशुपत क्षेत्रमा भक्तजनको ठूलो भीड लागेको छ भने देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
हरेक वर्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।
भक्तजन आइतबाररातिदेखि नै महादीप बालेर जाग्राम बसेका थिए । बालाचतुर्दशीमा मृगस्थली वा श्लेषमान्तक वनमा छरेको सतबीज दिवंगत भएकाका लागि बाली रोपिएको भन्ने मान्यता रहेको छ ।
सतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने जनविश्वास छ ।