
‘कुनै काममा धेरै अन्तर्विरोध छन् भने तीमध्ये एउटा नेतृत्वदायी र निर्णायक भूमिका भएको मुख्य अन्तर्विरोध हुनै पर्छ । जब बाँकी भएका अरूले गौण र सहायक स्थान लिएका हुन्छन् । अतः दुई वा बढी अन्तर्विरोध भएको कुनै जटिल कामको अध्ययन गर्दा हामीले मुख्य अन्तर्विरोधलाई पत्ता लगाउन हरेक कोशिस गर्नै पर्छ । एकचोटि या मुख्य अन्तर्विरोधलाई बुझेपछि सबै समस्याहरूको सजिलैसित समाधान हुन सक्छ ।’ – माओत्सेतुङ
संसारमा अनगिन्ती अन्तरविरोधहरू हुन्छन् । दैनिक जीवनमा मानिसले निरन्तर यस्ता अन्तरविरोधहरूको सामना गरिरहेको हुन्छ । विभिन्न किसिमका विज्ञानले यिनै अन्तरविरोधहरूको विश्लेषण गर्दछन् । माक्र्सवादी द्वन्द्ववादले यी विज्ञानहरूका विपरीत अति आम अन्तरविरोधहरूको मात्र अध्ययन गर्दछ । ती मध्ये पनि यहाँ आन्तरिक र बाह्य, सत्रुतापूर्ण र सत्रुता रहित, प्रमुख र गौण अन्तरविरोध जस्ता ठूला र महत्वपूर्ण अन्तरविरोधहरू बारेमा चर्चा गर्ने प्रयत्न भएको छः




आन्तरिक तथा बाह्य अन्तरविरोध
माक्र्सवादी द्वन्द्ववादले सर्वप्रथम आन्तरिक तथा बाह्य अन्तरविरोधहरूको भेद छुट्टयाउनु आवश्यक र पहिलो शर्त ठान्दछ । आन्तरिक अन्तरविरोध भनेको निश्चित वस्तुहरूको परस्पर विरोधी पक्षहरूको संघर्ष हो । त्यस्तै निश्चित वस्तुको वरिपरिको परिवेशसित र त्यो परिवेशमा रहेका वस्तुहरूसित निश्चित वस्तुको विरोधाभासपूर्ण सम्बन्धलाई बाह्य अन्तरविरोध भन्दछन् ।
माक्र्सवादी द्वन्द्ववादका विरोधीहरू विकासमा अन्तरविरोधहरूको विभिन्न समूहको भूमिकालाई बङ्गयाउँछन् । उनीहरू आन्तरिक अन्तरविरोधहरूको निर्णायक महत्वलाई अस्वीकार गर्दछन् र बाह्य अन्तरविरोधहरूलाई नै विकासको एक मात्र स्रोतको रूपमा हेर्दछन् । उनीहरूको दृष्टिकोण अनुसार वर्गविभाजित समाजको विकासको स्रोत परस्पर विरोधी वर्गहरूबीचको संघर्ष होइन, समाज र प्रकृतिका बिचको अन्तरविरोध हो तर विकासमा मुख्य र निर्णायक चाहिँ आन्तरिक अन्तरविरोध नै हुन्छ, जुन स्वयम् वस्तुमा सन्निहित रहन्छन् । वस्तुमा निहीत अन्तरविरोधहरू नै गतिका मुख्य स्रोत हुन् । यसप्रकारले माक्र्सवादी द्वन्द्ववादले पदार्थको आत्मगतिको रूपमा अर्थात् आन्तरिक गतिको रूपमा गतिको व्याख्या गर्दछ ।
आन्तरिक अन्तरविरोधहरूले स्वयम् वस्तुको स्वभाव र रूप निर्धारित गर्दछन् । त्यसै कारणले ती विकासका स्रोत हुन जान्छन् । आफ्नो आन्तरिक अन्तरविरोधभन्दा बाहिरी वस्तु त्यो रूपमा रहन सक्तैन, जुन रूपमा त्यो विद्यमान छ । जस्तो धनात्मक विद्युत नाभी र ऋणात्मक विद्युताणु–इलेक्ट्रोनहरूको ‘संघर्ष’ बिना जसरी अणुको अस्तित्व रहन सक्तैन, त्यसरी नै परिपाचन र विपाचन बेगर जीवाङ्गको पनि अस्तित्व रहँदैन इत्यादि ।
वस्तुमा पर्ने बाहिरी प्रभावहरू सदैव नै त्यसमा सन्निहित आन्तरिक अन्तरविरोधहरूको माध्यमबाट प्रकट हुन्छन् । यसमा पनि विकासमा आन्तरिक अन्तरविरोधहरूको निर्णायक भूमिका नै अभिव्यक्त हुन्छ । बाह्य परिवेशमा भएको परिवर्तनले जीवाङ्गहरूको विकासको निम्ति केवल प्रेरणात्मक धक्का मात्र दिन्छ तर विकासले कुन दिशा लिनेछ र कस्तो परिणाम उत्पन्न गर्छ भन्ने कुरा अन्ततोगत्वा जीवाङ्गमा रहेको उपापचायनको प्रकारमा नै निर्भर हुन जान्छ अर्थात् त्यो जीवाङ्गको निमित्त परिपाचन तथा विपाचनको अन्योन्यक्रियाको विशेषतामा त्यो निर्भर रहन्छ ।
समाजको विकासको स्रोत पनि त्यसैभित्र निहित हुन्छ । त्यसका आन्तरिक अन्तरविरोधहरूमा विद्यमान हुन्छ । कुन देशले कुन दिशातर्फ विकास गर्दै जानेछ र कुन देशमा कस्तो सामाजिक व्यवस्था स्थापित हुनेछ भन्ने कुरा त्यो देशमा आन्तरिक वर्गीय अन्तरविरोधहरू कसरी समाधान गरिन्छ भन्ने कुरामा निर्भर हुन्छ ।
भौतिक वास्तविकताका वस्तु तथा घटनाहरूको निम्ति आन्तरिक र बाह्य अन्तरविरोधहरू स्वाभाविक हुन्छन् । आन्तरिक अन्तरविरोधले नै सम्पूर्ण वस्तुहरू तथा घटनाहरूको विकासलाई निरूपण गर्ने भएकोले व्यावहारिक गतिविधिमा पनि सर्वप्रथम यिनै अन्तरविरोधहरूको उद्घाटन र समाधान गर्नु जरुरी हुन जान्छ तर बाह्य अन्तरविरोधहरूलाई पनि बेवास्ता गर्नुहुँदैन किनभने विकासमा तिनको ठूलो भूमिका रहन्छ । आन्तरिक तथा बाह्य अन्तरविरोधहरूको पारस्परिक सम्बन्ध र अन्योन्यक्रियालाई सही रूपमा मुल्याङ्कन गर्न सकेमा मात्रै वस्तुको विकासले सफलता प्राप्त गर्न सक्छ ।
सत्रुतापूर्ण अन्तरविरोध भनेको सबभन्दा पहिले त ती वर्गहरूका बिचको विरोधाभास हो जसका हितहरूमा कट्टर बैरभाव हुन्छ । यस्ता विरोधाभासहरू ज्यादै तीव्र र स्पष्ट हुन्छन् जुन वर्गहरूको जीवनको अवस्था र उनीहरूको उद्देश्य तथा कार्यमा पू्र्ण विपरीतताको द्योतक हुन्छ । यस्ता अन्तरविरोधहरूको महत्वपूर्ण चरित्र के हो भने तिनलाई त्यो सामाजिक व्यवस्थाको घेराभित्र समाधान गर्न सकिँदैन जुन व्यवस्थाको निम्ति ती स्वाभाविक हुन्छन् । सत्रुतापूर्ण अन्तरविरोधहरू गरिँदै र तीव्र हुँदै जान्छन्, जसले गर्दा प्रायशः भीषण संघर्ष र मुठभेड उत्पन्न हुन्छ । सामाजिक क्रान्तिद्वारा मात्र यस्ता अन्तरविरोधहरूलाई हटाउन सकिन्छ ।
पुँजीवादी समाजमा बुर्जुवावर्ग र सर्वहारावर्ग बिचको अन्तरविरोध विशेष तीव्र र गहन हुन्छ । पुँजीपतिवर्ग र सर्वहारावर्गको बिचको विरोधाभास समाजमा तिनीहरूको वस्तुगत स्थितिले नै पैदा गर्दछ । उत्पादनका सबै साधनहरूमाथि बुर्जुवावर्गको स्वामित्व कायम रहन्छ, जसले गर्दा समाजले उत्पादन गर्ने भौतिक मूल्यहरूको ठूलो हिस्सामा पनि यसै वर्गले अधिकार जमाउँछ । बुर्जुवावर्ग र सर्वहारावर्गका हितहरू पनि परस्पर विरोधी हुन्छ ।
बुर्जुवावर्ग आफ्नो प्रभुत्व सदासर्वदा कायम रहोस् भन्ने चाहन्छ भने सर्वहारावर्ग चाहिँ शोषणबाट मुक्त हुन प्रयत्नशील रहन्छ । यसैको परिणामस्वरूप उनीहरूको बिचमा भीषण वर्गसंघर्ष छेड्छ, जसले समाजवादी क्रान्तिलाई जन्माउँछ । यसप्रकारले वर्गसंघर्ष र समाजवादी क्रान्ति पुँजीवादी व्यवस्थामा सत्रुतापूर्ण अन्तरविरोधलाई निराकरण गर्ने विशेष रूपहरू हुन् ।
क्रान्तिकारी शक्तिहरूको सबभन्दा पहिले त मजदुरवर्ग तथा किसानहरूको संयुक्त प्रयासद्वारा प्रतिक्रान्तिकारी शक्तिहरूको प्रतिरोध दबाएर यो अन्तरविरोधको समाधान गरिन्छ । राष्ट्रिय–जनवादी क्रान्तिको सन्दर्भमा यो अन्तरविरोधको समाधान हुन थाल्दछ । समाजवादी क्रान्तिको क्रममा यो प्रक्रिया पुरा हुन्छ ।
सत्रुतारहित अन्तरविरोधहरू त्यस्ता अन्तरविरोध हुन्, जुन त्यस्ता वर्गहरू र सामाजिक समुदायहरूका बिचमा विद्यमान हुन्छ । जसका मुलभूत र प्रमुख हितहरूमा समानता रहन्छ । यस्ता अन्तरविरोधहरू सामाजिक क्रान्तिद्वारा नभएर विस्तार–विस्तारै निराकरण गरिन्छन् । जस्तो मजदुरवर्ग र कृषकवर्गका बिचको अन्तरविरोध यस्तै किसिमको हुन्छ । पुँजीवादी व्यवस्थामा सहरले गाउँको शोषण गर्दछ र सहरप्रति किसानको द्वेषभाव कुनै हदसम्म मजदुरवर्गमाथि पनि फैलिएको हुन्छ । किसानहरूको आफ्नो सम्पत्ति हुन्छ र यी कुराहरूको संरक्षण होस् भन्ने उसको इच्छा हुन्छ तर मजदुरको आफ्नो सम्पत्ति हुँदैन ।
प्रमुख र गौण अन्तरविरोधहरू
अति सरलदेखि लिएर ज्यादै जटिलतम् सबै वस्तुहरू र घटनाहरूमा एकै समयमा एउटै मात्र नभएर अनेकौँ अन्तरविरोधहरू सन्निहित हुन्छन् । अन्तरविरोधहरूको यी विविधतामा नअल्मलिनका लागि तिनमध्ये प्रमुख र निर्णायक अन्तरविरोध पत्ता लगाउनु जरुरी हुन्छ । प्रमुख अन्तरविरोधले विकासमा मुख्य र अग्रणी भूमिका खेल्दछ । त्यसले अरू सबै अन्तरविरोधहरूमा असर पार्दछ । परमाणुहरूको संयोजन र वियोजनका बिचको अन्तरविरोध रासायनिक प्रक्रियाको प्रमुख र निर्णायक अन्तरविरोध हो । त्यस्तै, उपाचयन–क्रियाको विरोधाभासपूर्ण चरित्र नै जैविक प्रक्रियाको प्रमुख अन्तरविरोध हो इत्यादि ।
सामाजिक जीवनमा प्रमुख अन्तरविरोध पत्ता लगाउनु अति जरुरी हुन्छ । यो अन्तरविरोध पत्ता लाग्यो भने समाजका प्रगतिशील वर्गहरू र माक्र्सवादी पार्टीहरूलाई सही नीतिको निर्धारण तथा प्रभावकारी तरिकाले व्यावहारिक कार्यका सङ्गठनमा सघाउ पुग्छ ।
आन्तरिक र बाह्य, सत्रुतापूर्ण र सत्रुतारहित प्रमुख र गौण अन्तरविरोधहरूको बिचमा कुनै जब्बर पर्खाल छैन । वास्तविक जीवनमा तिनीहरू आपसमा जोल्टिएका हुन्छन् र एउटाले अर्कोको ठाउँ लिन सक्छन् । विकासमा प्रत्येकको आफ्नै भूमिका रहन्छ । तसर्थ, प्रत्येक अन्तरविरोधको विश्लेषणमा निश्चित तरिका अपनाउनुपर्छ अर्थात् त्यो अवस्थालाई ध्यानमा राख्नुपर्छ जहाँ त्यो अन्तरविरोध (समस्याको जरो) उत्पन्न हुन्छ । त्यसले कस्तो भूमिका खेल्छ भन्ने कुरा बुझ्नुपर्दछ र मात्र हरेक अन्तरविरोधहरू वैज्ञानिक रूपमा समाधान गर्न सजिलो हुन्छ ।