महान अक्टोबर समाजवादी क्रान्ति सशस्त्र विद्रोहका साथ तत्कालीन रुसका दुई राजधानी मस्को र पेत्रोग्रादमध्ये एक पेत्रग्रादमा परम्परागत पात्रो अनुसार २५ अक्टोबर १९१७ र नयाँ पात्रो अनुसार ७ नोभेम्बर १९१७ मा सम्पन्न भएका् थियो । त्यसपछि रुसमा १९१७ देखि १९२२ सम्म गृहयुद्ध भएको थियो । जुन पछि १९२२ मा सोभियत संघको निर्माण भएपछि टुंगिएको थियो ।
सन् १९१८ पछि ७ नोभेम्बरलाई अक्टोबर क्रान्तिको बार्षिक उत्सवलाई औपचारिक राष्ट्रिय दिवस बनाइएको थियो । अक्टोबर क्रान्तिले विश्व इतिहासमा प्रथमपटक विशाल समाजवादी राज्यव्यवस्थाको जन्म दिएको थियो । आज त्यो क्रान्तिको सतवार्षिकी चलिरहेको छ । त्यो क्रान्तिमा तात्कालिक परिस्थितिको सही मूल्यांकन गरी माक्र्सवादी सिद्धान्त अनुरुप सशस्त्र विद्रोहलाई कसरी कलात्मक ढंगले कार्यान्वयन गरिएको थियो भन्ने बारेमा संक्षिप्त चर्चा गरिएको छ ।
लेनिनको नेतृत्वमा सच्चा माक्र्सवादी–लेनिनवादी सिद्धान्त, नीति र कार्यक्रमका आधारमा सशस्त्र विद्रोह मार्फत् सबैभन्दा पहिलो समाजवादी क्रान्ति अक्टोवर १९१७ मा रूसमा सम्पन्न भएको थियो । त्यसकारण हामीले सशस्त्र विद्रोह सम्बन्धी सही समझ्दारी र बुझाई बनाउनको लागि लेनिन र स्टालिन एवं उनीहरुले नेतृत्व गरेको रूसी कम्युनिष्ट पार्टी (बोल्शेभिक) द्वारा सफलतापूर्वक संचालन गरेको विद्रोहका बारेमा बुझ्न र अध्ययन गर्न आवश्यक छ । तर त्यो भन्दा अगाडी सशस्त्र विद्रोहका वारेमा माक्र्स/एङगेल्सद्वारा व्यक्त गरिएका निम्न लिखित विचारलाई मनन गर्दा राम्रो हुनेछ, किनभने उनिहरुले ब्यक्त गरेका विचारहरुबाट हामीले सही माक्र्सवादी–लेनिनवादी दृष्टिकोण अपनाउन र नीति बनाउन सक्दछौ ।
माक्र्स/एङगेल्सले विद्रोहलाई एउटा कलाको रुपमा उल्लेख गर्दै जर्मनीमा भएको क्रान्ति र प्रतिक्रान्तिको विस्तृत विवेचना गर्दै भन्नु भएको छः
…प्रथम, यदि तपाईले आफ्नो खेलको परिणामलाई पूर्णरूपले सामना गर्न तयार हुनुहुन्न भने विद्रोहसँग कहिल्यै नखेल्नुहोस । विद्रोह भनेको अनिश्चित व्यापकता सहितको विशेष हिसाब (calculus) हो, जसको मूल्य प्रत्येक दिन बदलिन सक्छ; तपाईको विरोधी शक्तिहरूले संगठन, अनुशासन र नियमित सत्ताको सम्पूर्ण सुविधा पाएका छन्; यदि तपाईले उनीहरूका विरूद्ध सशक्त बाजीमार्नु हुन्न भने तपाईले हारखानु हुन्छ र सिद्धिनु हुन्छ ।
दोस्रो, एक पटक विद्रोहात्मक काममा प्रवेश गरेपछि, उच्च प्रतिवद्धताका साथ कार्य गर्नु होस र आक्रामक बन्नुहोस् । प्रतिरक्षात्मक हुनु भनेको हरेक सशस्त्र विद्रोहको मृत्यु हो, त्यसैले त्यसले आफू स्वयमको मापन आफना सत्रुहरू संग गर्दछ भने पहिल्यै हारि सकेको हुन्छ । विरोधिहरूका शक्ति तितरवितर भएका बखत तिनीहरूलाई आकस्मिक ढंगले हमला गर्नु होस, सानै भएपनि दैनिक नयाँ सफलताहरूका लागि तयारी गर्नुहोस, पहिलो सफल विद्रोहबाट तपाइले पाएको नैतिक बललाई उच्चो राख्नुहोस; ति सबै ढुलमुले तत्वहरूलाई आप्mनो पक्षमा गोलबन्द गर्नुहोस्, जो सधै सबै भन्दा बलियो शक्तिको पछि लाग्दछन् र जसले सधै सुरक्षित पक्ष तर्फ हेर्दछन्, तपाईका सत्रुहरूलाई उनीहरूले तपाइका विरूद्ध शक्ति संचय गरि नसक्दै तिनीहरूलाई पछि हटन बाध्य पार्नुहोस, क्रान्तिकारी नीतिका अहिले सम्मकै महान शिक्षक दान्तोनका शब्दहरूमाः de l’adace, de l’adace, encore de l’adace ( Insurrection, Marx/Engels Selected Works Vol. 1 pp 377).
लेनिनले मस्को र पेत्रोग्रादको सोभियतमा मजदुर र सेनाका प्रतिनिधिहरुले बहुमत हासिल गरेपछि माक्र्स/एङ्गेल्सले भने जस्तै विद्रोहलाई एउटा कलाको रुपमा लिएर त्यसलमई धेरै प्रचारको विषय नबनाएरै बोल्शेभिकहरुले तत्काल सत्ताकब्जा गर्न अघि बढ्नुपर्ने उल्लेख गर्दै निम्न कुराहरु बताएका थिए र सोही अनुसार भएको थियो–
बोल्शेभिकहरुले दुवै राजधानीहरुका मजदुर र सैनिक प्रतिनिधिहरुको सोभियतमा बहुमत हासिल गरेको हुनाले आफ्नो हातमा राज्यसत्ता लिन सक्छन र लिनै पर्दछ ।
उनीहरुले किन सक्दछन् भने दुईवटै मुख्य शहरहरुमा भएका क्रान्तिकारी तत्वहरुको सक्रिय बहुमतलाई जनतासगैं परिचालन गराउन विरोधिपक्षको प्रतिरोध माथि जित हासिल गर्न, उसलाई धरासायी पार्न र सत्ता प्राप्तगर्न एवं कायम राख्नकालागि एकदमै प्रयाप्तहुन्छ ।….
हामीलाई अहिले विद्रोह शब्दको संकुचित अर्थमा “दिन” र “क्षण” सँग सरोकार रहेको छैन । त्यो कुराको छिनोफानो जो मजदुर र सैनिकहरुसँगको, जनसमुदायसँगको सम्पर्कमा छन, तिनिहरुको साझा आवाजद्वारा मात्रै हुनेछ । यतिखेरको कुरा के हो भने लोकतान्त्रिक सम्मेलनमा, वास्तवमा हाम्रो पार्टीको आफ्नै अधिवेशन छ (यसले चाहे पनि नचाहे पनि) त्यसले क्रान्तिको भाग्य निर्धारण गर्नै पर्दछ ।
कुरा के हो भने पार्टीको कामलाई स्पष्ट पार्ने हो । बर्तमानको काम भनेको पेत्रोग्राद र मस्को (यसका इलाका समेत) मा सशस्त्र विद्रोह हुनै पर्दछ भन्ने हो । सत्ता कब्जा गर्ने हो र सरकारलाई पल्टाउने हो । हामीले यो कुरालाई संचार माध्यममा धेरै नभनिकनै कसरी आन्दोलित बनाउने भन्ने कुरा विचार गर्नै पर्दछ ।
हामीले विद्रोहका बारेमा “विद्रोह एउटा कला हो” भन्ने शबदहरुलाई सम्झनै पर्दछ र महत्व दिनै पर्दछ इत्यादी ।
मस्को र पेत्रोग्राद दुवै ठाउमा एकसाथ सत्ता लिएर (कुन ठाउँमा पहिला सत्ता हासिल हुन्छ भन्ने कुराले अर्थ राख्दैन, सम्भवतः मस्कोमा पहिला सूरु हुन सक्छ) हामीले निरपेक्ष ढंगले र प्रश्नै नउठ्ने गरि जित हासिल गर्नेछौं (The Bolshevicks Must Assume Power, Lenin Collected Works Vol. 26 pp 19-21)
उनले विद्रोहलाई एउटा कलाकोरुपमा लिएर त्यसका कृयात्मक चालवाजीलाई व्यवहारिक रुपमा कसरि कार्यान्वयन गर्नु पर्दछ भन्ने कुरालाई यसरी स्पष्ट पारेका छनः
…हामीले विद्रोह एउटा कला हो भन्ने माक्र्सको विचारलाई केवल शब्दहरुमा मात्र देखाउने होइन कि त्यही रुपमा व्यवहार गर्नै पर्दछ… ।
साथसाथै हामीले विद्रोहलाई माक्र्सवादी ढंगले अर्थात् एउटा कलाका रुपमा व्यवहार गर्नका लागि एकक्षण पनि नगुमाएर विद्रोही टुकुडीहरुको मुख्यालय स्थापना गर्नु पर्दछ । हाम्रो शक्तीलाई वितरण गर्नु पर्दछ । विश्वासनीय सैन्य टुकडीलाई अति महत्वपूर्ण विन्दुहरुमा परिचालन गर्नु पर्दछ । अलेक्ज्यान्ड्रक्सी थियटरलाई घेर्नु पर्दछ । पिटर र पाउल किल्लाहरुलाई आवाद गर्नु पर्दछ । सैनिक पदाधिकारी र सरकारलाई नियन्त्रणमा लिनु पर्दछ ।
अधिकृत क्याडेटहरु र स्याभेज डिभिजन जो यस्ता फौजहरु हुन जसले शहरको रणनैतिक विन्दुहरुतर्फ पुग्ने अनुमति दिनु भन्दा बरु मर्नेछन– त्यसका विरुद्ध बढ्नु पर्दछ । हामीले सशस्त्र मजदुरहरुलाई परिचालन गर्नै पर्दछ र उनिहरुलाई अन्तिम निर्मम लडाई लड्नका लागि आह्वान गर्नु पर्दछ । आकाशवाणी र दुरसंचार केन्द्र एकैसाथ कब्जा गर्नु पर्दछ । हाम्रो विद्रोहको मुख्यालयलाई केन्द्रीय दुरसंचार कार्यालय तर्फ लैजानु पर्दछ र यसलाई सबै कारखाना, फौज, सशस्त्र लडाइका सबै विन्दुहरुसँग टेलिफोन सम्पर्कमा राख्नु पर्दछ ।
वास्तवमा यदि विद्रोहलाई एउटा कलाको रूपमा व्यवहार गरिदैन भने यो उदाहरणद्वारा तथ्यलाई केलाउन सकिन्छ कि वर्तमान अवस्थामा माक्र्सवाद प्रति इमान्दार हुन, क्रान्ति प्रति इमान्दार रहन असम्भव छ(Marxism and Insurrection, Lenin Collected Works Vol. 26 pp 25-27
स्टालिनले सशस्त्र विद्रोह र त्यसका कार्यनीतिक चालबाजीका सम्बन्धमा जनता स्वयंममा हतियारवन्द हुने उत्कट चहना जगाउनु पर्ने अर खास गरेर सर्वहारावर्गलाई हतियारवन्द गराउनु पर्ने कुरा योजनावद्ध कामहरुका बारेमा यसरी भनेका छनः
…निरंकुशता विरुद्धको हाम्रो संघर्ष त्यस्तो अवस्थामा प्रवेश गरिसकेको छ जवकी हतियारवन्द हुनेकुराको आवश्यकतालाई आम रुपमै स्वीकार गरिएको छ । तर हतियारवन्द हुने कुराको आवश्यकता महसुस गर्नु मात्रै प्रयाप्त हुदैन– त्यो व्यवहारिक कार्यलाई पार्टीका सामु ठोस रुपमा र स्पष्ट रुपमा राख्नै पर्दछ । अतः हाम्रा कमिटीहरुले एकसाथ स्थानियरुपमै जनतालाई हतियारवन्द गराउन, यि कुराको ब्यवस्थापनका लागि विशेष समुहहरु खडा गर्न, हतियार खरिद गर्ने उद्देश्यका लागि जिल्ला स्तरिय समुहहरु संगठीत गर्न, विभिन्न खालका विस्फोटक पदार्थहरु तयार पार्नका लागि कार्यशालाहरु आयोजना गर्न, राज्य एवं हतियार र हतियार शस्त्रागारहरुका निजी भण्डारहरु कब्जा गर्नलाई योजनाहरु बनाउन एकैसाथ अगाडी बढ्नै पर्दछ । नयाँ इस्क्राले हामीलाई सुझाव दिए जस्तै हामीले जनतालाई “उनीहरु स्वयंलाई हतियारबन्द हुने जल्दोबल्दो आकांक्षाका साथ” हतियारवन्द मात्र बनाउने होइन तर “सर्वहारा वर्गलाई हतियारवन्द गराउने जस्तो एकदमै उत्साहप्रद कार्यहरु पनि गर्नै पर्दछ (Armed Inserrection and our Tactics, J. V. Stalin Works Vol. 1 pp 136) .
लेनिनको नेतृत्वमा रहेको बोल्शेभिक पार्टीले रूसमा सामाजवादी क्रान्ति सम्पन्न गर्नको लागि १५ दिन अगाडि मात्रै सशस्त्र विद्रोहको कार्यान्वयन गर्ने निर्णय गरेको थियो । र त्यो विद्रोह गर्ने परिस्थिति किन परिपक्व भएको छ भन्ने बारेमा सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्शेभिक) को इतिहासमा यसरी उल्लेख गरिएको छः
अक्टोबर ७ तारिखमा लेनिन गोप्यरूपमा फिनल्याण्डबाट पेत्रोग्रादमा आइपुग्नु भयो । १० अक्टोबर १९१७ मा पार्टी केन्द्रीय समितिको एैतिहासिक बैठक बस्यो, जसमा आगामी केही दिनमा सशस्त्र विद्रोह चलाउने निर्णय भयो । लेनिनद्वारा लेखिएको पार्टीको केन्द्रीय समितिको प्रस्तावले भन्यो, केन्द्रीय समितिले यो स्वीकार गर्दछ कि रूसी क्रान्तिको अन्तर्राष्ट्रिय स्थिति जर्मन नौसेनामा भएको विद्रोह रूसी क्रान्तिको घाटी निमोठ्ने उद्देश्य सहित साम्राज्यवादीहरूले शान्तिको निष्कर्षमा पुग्ने धम्की दिनु विश्व सामजवादी क्रान्तिको युरोपव्यापी विकासको उच्चतम प्रष्फुटन हो साथसाथै सैन्य अवस्था रूसी बुर्जुवाहरू एवं केरेन्स्की गुटको पेत्रोग्रादजर्मनहरूलाई बुझाउने स्पष्ट निर्णय र सर्वहाराहरूको पार्टीले सोभियतमा बहुमत हासिल गरेको छ– यी सबै कुराहरू, किसान विद्रोहको सम्बन्ध र हाम्रो पार्टीप्रतिको जनविश्वासको लहर (मस्कोमा भएको निर्वाचन) लाई हेर्दा र अन्तत दोस्रो कोर्नीलोभ मामिलाका लागि भैरहेका प्रष्ट तयारी पत्रोग्रादबाट सेनाको फिर्ति, (पेत्रोग्रादतर्फ कोसाकहरूको प्रस्थान, कोसाकहरूद्वारा मिन्स्कको घेराबन्दी इत्यादि) यी सबै कुराहरूले गर्दा सशस्त्र विद्रोहलाई आजको दिनको काम बनाइ दिएको छ ।
त्यसकारण सशस्त्र विद्रोह अपरिहार्य छ र यसका लागि पूर्णरूपले समय पाकेको छ भन्ने कुरालाई विचार गरेर केन्द्रीय समितिले सम्पूर्ण पार्टी संगठनहरूलाई यसै अनुरूप निर्देशित हुन र सबै व्यवहारिक प्रश्नहरूलाई यहि दृष्टिकोणबाट छलफल र निर्णय गर्न (उत्तरी क्षेत्रको सोभियतहरूको अधिवेसन, पेत्रोग्रादबाट सेनाको फिर्ती, मस्को र मिन्स्कमा हाम्रा मानिसहरूको कारबाहि आदि) निर्देशन गर्दछ (October Uprising…..History of the Communist Party of the Soviet Union Bolshevick pp 205)
रुसमा समाजवादी क्रान्तिको तुलनात्मकरुपले सजिलैसित विजय हासिल हुनमा धेरै कारणहरु थिए ।ति मध्ये मुख्य कारण निम्न थिए (सारांश मात्र दिइएको छ) :
१. जारलाई सत्ताच्युत गरेपछि आएको बुर्जुवा सरकार एकदमै कमजोर असंगठीत र अनुभव हिन थियो र त्यसको कामगर्ने तौरतरिका जारको भन्दा फरक थिएन ।
२. क्रान्तिको नेतृत्व दुइवटा क्रान्तिबाट गुज्रि सकेको र लडाईहरुबाट खारिएको क्रान्तिकारी मजदुरवर्गले गरेको थियो ।
३. मजदुरवर्गले गरिव किसानहरुसँग प्रभवकारी एकता कायम गरेका थिए र बोल्शेभिक पार्टीले जमिनदारहरु विरुद्ध लडेर उनिहरुको समस्या समाधान गर्न सक्दछ भनि प्रमाणित गरेको थियो ।
४. मजदुरवर्गको नेतृत्व राजनीतिक लडाइहरुमा प्रयत्नशील र परिक्षित भएको बोल्शेभिक पार्टीले गरेको थियो ।
५. साम्राज्यवादीहरु आफै युद्धमा फसेका र विभाजित भएका थिए, त्यसरी उनिहरु रुसमाथि हस्तक्षेप गर्न असमर्थ थिए ( October Uprising…..History of the Communist Party of the Soviet Union Bolshevicks pp 212-2140.
त्यसरी सशस्त्र विद्रोहको शुरू गरेर बोल्शेभिक पार्टीले अक्तोबर २५ मा अस्थायी बुर्जुवा सरकारलाई सत्ताच्यूत गरेर राज्यसत्ता सोभियतहरूको हातमा आएको घोषण रूसी जनता सामु गरेका थिए । बोल्शेभिक पार्टीको इतिहासबाट के कुरा स्पष्ट हुन्छ भने यदि पार्टी सशक्त छ र जनसमर्थन प्राप्त छ, त्यसै गरेर समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल छ भने राज्य सत्ता कब्जा गरेर अगाडि बढनकालागि तत्कालिन परिस्थितिको ठोस विश्लेषण गरेर सशस्त्र संघर्षको स्वरूप तय र किटान गर्न सकिन्छ । तर सत्ता कब्जा गर्ने नीति भएतापनि बोल्शेभिक पार्टीले उपर्युक्त परिस्थिति तयार हुनुभन्दा अगावै सशस्त्र विद्रोहद्वार सत्ताकब्जा गर्ने घोषणा गरेको थिएन ।महान अक्टोबर समाजवादी क्रान्तिको त्यो गौरवमय विजय र विस्तारको इतिहासको आलोकबाट नेपालका सच्चा क्रान्तिकारीहरुले महत्वपूर्ण पाठ सिक्नुपर्ने र सक्ने कुरा स्वतः स्पष्ट छ ।