गोरखा भुङ्लीचोककी एउटी किशोरी एकाएक छापामा छाउँदा भूङ्लीचोकको यथार्थ बुझ्नेहरुका लागि एकैसाथ खुसी र दुखी दुवै बनायो । खुसी यसकारण कि एउटा विकट बस्तीमा निम्न किसान परिवारमा जन्मे हुर्केकी किशोरी रातारात मिडियाबाट ‘हिट’ भइन् । उनलाई विद्युतीय सञ्चार जगतले हिट गरायो । त्यो उनको प्रतिभाबाट होइन खाली उनको तस्बीर पोष्टका कारणले हो । गोलभेंडाको क्रेट बोक्नु कुसुमको अभिनय नभएर उनको श्रमप्रतिको लगाव र आय आर्जनको बाध्यात्मक परिस्थितिको अनिवार्यता हो । दुखी यसकारणले बनायो कि कतै उनको भविष्यमा असैह्य वेदनाका चोटहरु त बर्सदैनन् ? हामीले सुनेका वा पढेका छौं कयौं किशोरीहरु प्रलोभनमा परेर हजारौं हण्डर खाएका छन्, सास्ती व्यहोरेका छन् कतै कुसुम पनि यस्तै शिकार त बन्दिनन् वा बनाइदैन । मिडियामा आएकी कुसुम बारे केही राम्रा प्रतिक्रिया पनि आएका छन तर पनि एउटी गाउँले किशोरीको पछाडि किन यति धेरै मरिहत्ते गरेर दौडन्छन् पत्रकारहरु ? कुसुम, उनका समवयी उनी जन्मिए हुर्किएको भूगोलबारे केही चर्चा गरौं ।
कुसुमलाई पच्छायउँदै जाँदा कुसुमसँग उठाउनु पर्ने विषयमा मिडियाकर्मी पुग्न नसकेको वा नचाहेको सरोकारको विषय यहाँ उठाउन सान्दर्भिक ठहर्ला ।
२०७२ सालको माघ महिनाको दश गते यो पंक्तिकार खल्तिमा सरुवा पत्र र झोलामा एकसरो लुगा बोकेर भुङ्ली चोकको भद्रकाली मा.वि.मा पहिलो चोटि उभिएको हो । लोकमार्गमा गुड्ने बसबाट ओर्लिएर दुईघण्टाको उकालो उक्लिएर पछि देखिन त्यहाँको सौन्दर्य जति मोहक छ त्यो भन्दा बढि जनताको श्रमप्रतिको सौन्दर्य छ । मैंले पहिलो दिनमा नै देखें जब सामेलीको घण्टी बज्यो विद्यार्थीहरु हस्याङ फस्याङ गर्दै पंक्तिमा उभिन आइपुगे । विद्यालय पोशाकमा आएर पनि अधिकांश छात्र छात्रा खालि खुट्टा उभिएका थिए र धेरैको कुर्कुच्चामा गोबर लत्पतिएको थियो । सिङगो गा.वि.स. भरिएको एउटा मात्र प्रस्तावित मा.वि. भएकोले विद्यार्थी संख्या अधिक थियो । जातियताका हिसाबले मगर, गुरुङ, चेपाङ, नेवार र दलितहरु थिए । एउटा अनौठो के लाग्थ्यो भने त्यस मा.वि.मा ब्राह्मण क्षेत्री जातका विद्यार्थीको उपस्थिति शुन्य थियो र अहिले पनि त्यही छ । त्यहाँको भूगोल दक्षिण ढलो, पहारिलो र ढुङ्ग्याने रातोमाटोले वेशिष्ट छ । मकै, कोदो र तरकारी त्यहाँको प्रमुख उत्पादन हो । सुन्दा अनौठो मान्नुपर्छ कि त्यहाँका दुइतीन कक्षामा पढ्ने विद्यार्थीले चामल केबाट बन्छ भन्ने प्रश्नमा फिस्लिङबाट आउँछ भन्ने उत्तर दिन्छन् । पत्रकारहरुले यस्तो विषयको खोजी गर्न सक्नु पर्दथ्यो । अहिले पनि खाजा खाने छुट्टीमा भुटेका मकै उसिनेकोको तरुल वा कोदोको रोटी चपाउँदै पाले दाइसँग पानी मागिरहेको दृश्यले मुटु चस्स दुख्ने गर्छ । कुसुम जन्मिए हुर्किएको धरातलीय यथार्थ यही हो ।
जहाँसम्म कुसुमको प्रतिभा वा रुचिको विषय छ, अलिकति उनको आर्थिक हैसियतसँग जोडिएको छ । उनका वा चन्द्रलाल वा काका पदम विशुद्ध किसान हुन्, मरिमरी श्रम गर्दा पनि गार्हस्थ जीवनमा पुगेस मात्र छ । उनीहरुले उत्पादन गरेको तरकारीको मूल्यमा विचौलियाको रजाइँ छ । जब ‘तरकारी सुन्दरी’ पच्छाउँदै जाँदा फिस्लिङ बजारका विचौलियाको चियो चर्चो किन नगर्नु उनलाई तरकारीसँग जोडेर हेर्दा उचित मूल्य पाए नपाएको प्रश्न किन नगरेको ?
जहाँसम्म कुसुमको अध्ययनको सीमा छ उनले आफ्नै आँगनमा चलेको बालकी प्रा.वि.बाट कक्षा पाँच उत्तीर्ण गरेकी हुन् । जब उनी भद्रकाली मा.वि. मा कक्षा ६ मा भर्ना हुन आइन हल्का लजालु प्रकृतिकि थिइन । उनको दैनिकी पनि बिहानै घाँस काट्नु, मल बोक्नु, ढेला ठोक्नु (डल्ला फुटाउनु) हुन्थ्यो र घाँटीमा तातो भात लिएर एक घण्टाको पैदल उकाली चढेर भद्रकाली मा.वि. पुग्नु हुन्थ्यो । शहरका महंगा बोर्डिङमा पढाउने हैसियत उनको परिवारसित थिएन र त नर्स बन्ने सपना अधुरो रह्यो अर्को कुरा उनको एस.एल.सी. को लब्धाङ्कले पनि साथ दिएन ।
दुःख मान्नु वा डर मान्नु पर्ने अर्को मुख्य कारण चाहिँ के हो भने एउटी सोझी किशोरीको अनुमति विना तस्बीर लिनु रुपचन्द्र महर्जननको अधिकार हो ? के कुसुमको गोपनियताको अधिकार कुण्ठित भएन अनि कुसुमलाई भाडाको पहिरनमा प्रस्तुत गरेर सार्वजनिक गरिनुले उनको रुप वा वैंश माथिको सुरक्षाको सवाल उठ्छ कि उठ्दैन । नेपाली समाज महिलालाई समान हैसियतमा देख्ने चेतनामा उठिसकेको छैन । चाहे ड्युटीमा रहेकी सुन्तली धामी हुन या एस.एल.सी. दिन गएकी, पूजा बोहोरा हुन कहाँ सुरक्षित छन् । सेलीब्रेटी बनाउने नाममा अर्चना पनेरु वा श्रीषा कार्की त बनाउँदैनन् डर यो अर्थमा हो अथवा कुनै मदिरा उत्पादक कम्पनीले पैसा खन्याएर नाङ्गा उरु माथि मदिराको बोतल राख्ने जालमा त फँसाउँदैन यी सम्भावित दुर्घटना हुन सक्दैनन् ?
‘टिनएज’ अर्थात् अल्लारे वयमा हिँड्दै र अध्ययनको माध्यमिक खुडकिलो नकटदैको अवस्थामा उनलाई जवरजस्त ग्ल्यामरको क्षेत्रमा धकेल्नु कति न्याय संगत हुन्छ ? अझ खेद् लाग्दो कुरा त अभियनको रुचि र ज्ञान नै नभएको पात्रलाई अमुक चलचित्रको नायिका बनाइदिने उत्पादक वा प्रबन्धकको ठोकुवालाई लिनु पर्दछ । यदि कुसुमको व्यक्तित्व उठाउने निशर्त चाहाना हो भने उनलाई नर्सिङ कलेजमा भर्ना गरिदिन किन कोही तयार हुँदैन । यो त एउटा निश्छल ग्रामिण किशोरीलाई जबरजस्त ग्याल्मरको दुनियामा तान्नु भनेको पौडन नजान्ने बालकलाई उर्लँदो भेलमा धकेल्नु बराबर हो । अब केही प्रश्नहरु जन्मिएका छन् ।
माथि भनिएको जस्तै अवस्था आउला वा नआउला यस्तो स्थितिमा को जिम्मेवार हुन्छ उनको मूर्त धारणा के बनेको छ । उनलाई किन जबर्जस्त मिडियामा तानियो यस्ता विषयबारे रुपचन्द्र महर्जनको धारणा के हो ? कुसुमको रुपमा र वैंश पच्छयाउने सम्भावित पात्रका एस.एम.एस., मिस्कल वा प्रेम प्रस्तावले हैरानी व्यहोर्न प¥यो भने यस्को पीडा पत्रकारज्यूलाई हुन्छ कि उनलाई ?
कमल हिलोमा फुल्छ भन्ने मान्यता राखेर कुसुमका पछि दौडने मिडियाले उत्खनन गर्नुपर्ने अन्य विषयहरु प्रशस्त छन् । भुङली चोकका मेहनतकश किसानहरुको श्रम, उनीहरुको सेवा सुविधामाथि नपुगेको राज्यको आँखा खोल्नु, कुसुमजस्ता किशोर किशोरीको विद्यालयीय अध्ययन अतिरिक्त खर्चिएको श्रम र त्यसको मूल्य निरुपणका लागि पत्रकारहरुको क्यामेरा र कलम पुगिदिए क्या जाति हुन्थ्यो ।