अखिल (क्रान्तिकारी) फेरि सडक बाघ बनेर आउनेछ

अखिल (क्रान्तिकारी) फेरि सडक बाघ बनेर आउनेछ

gyanu-khatiwodaक्रान्तिकारी विध्यार्थी आन्दोलन सुस्ताउन पुगेको हो ? 

–सुस्ताउन पुगेकै भन्दा पनि पहिलेको दाँजोमा आन्दोलन त्यति प्रभावकारी बन्न नसकेको हो । तर अखिल (क्रान्तिकारी)ले शैक्षिक मुद्दाहरुलाई लिएर आन्दोलनको उठान गर्ने तयारीमा जुटिरहेको छ । क्रान्तिकारी विध्यार्थी आन्दोलनबाट पलायन भएर एकाथरि समूह दक्षिणपन्थी नवसंशोधनवादी समूहको पुच्छर बनेर गयो भने अर्काथरी क्रान्तिको नाममा हुलदंगा गर्दै हिंडिरहेका छन् ।

संगठनमा आएको विभाजन र दक्षिणपन्थी संशोधनवादी र वामपन्थी अवसरवादी समूहले पारेको भ्रमका कारण पनि आन्दोलन प्रभावकारी ढंगले उठ्न सकेको छैन । उनीहरुका भ्रमहरु विस्तारै साफ हुँदैछ र आम विध्यार्थीहरु हाम्रो संगठन नै क्रान्तिकारी विध्यार्थी आन्दोलनको नेतृत्व गर्ने संगठन हो भन्दै संगठित हुने क्रम बढेको छ । 

अखिल (क्रान्तिकारी)का तत्कालीन कार्यक्रमहरु चाहिं के कस्ता छन् ? 

–हाम्रो संगठनको माघ १४ मा राष्ट्रिय भेला हुँदैछ । त्यसैगरी, फाल्गुन १४ गते टियुले स्ववियू चुनाव तोकेको छ । भेला र स्ववियू चुनावलाई लक्षित गरेर तीन महिना सिंगो संगठनलाई संगठन विस्तार तथा सुदृढीकरण अभियानमा जोड दिएका छौं । 

विध्यार्थी आन्दोलनमा रहेका समस्याहरुलाई चिर्दै आम विध्यार्थी युवाहरुलाई क्रान्तिकारी आन्दोलनमा आवद्ध गराउन के गर्न जरुरी छ ?
विध्यार्थी आन्दोलनमा देखापरेका समस्याहरु : दक्षिणपन्थी अवसरवाद, अर्थवाद, आत्मकेन्द्रित व्यक्तिवादका विरुद्ध विचारधारात्मक संघर्ष चलाएर संशोधनवादी र अवसरवादीहरुले छरेको भ्रमलाई चिर्दै विध्यार्थी युवाहरुलाई क्रान्तिकारी विध्यार्थी आन्दोलनमा संगठित गर्दै लैजान सकिन्छ भन्नेमा हामी विश्वस्त छौं ।

शैक्षिक माफियाहरुले गरिब जनताका छोराछोरीहरुले पढ्नै नसक्ने गरी शुल्क बढाएका छन् । शैक्षिक क्षेत्रमा अनियमितता, भ्रष्टाचार तथा ब्रम्हलुट मच्चाउने माफियाहरुका विरुद्ध हाम्रो आन्दोलनलार्ई जुभारु बनाउनु परेको छ । संशोधनवादी र अवसरवादीहरुले सडकमा मिल्काएका शैक्षिक मुद्दाहरुलाई हामीले उठाएका छौं । फेरि पनि अखिल (क्रान्तिकारी) सडक बाघ बनेर अगाडि आउनेछ । आम क्रान्तिकारी विध्यार्थी आन्दोलनको नेता संगठनको रुपमा स्थापित हुनेछ । र, शैक्षिक माफियाहरुलाई पत्तासाफ पार्नेछ ।