काठमाडौं । नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदण्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकोमा पार्टीको विशेष ध्यानाकर्षण भएको भन्दै नेकपा (क्रान्तिकारी मामओवादी)ले एक अर्काे मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र आन्तरिक मामिलामा अहस्तक्षेपको मान्यता र एक चीन नीतिप्रति पार्टी दृढ रहेको कुरा पुनः सार्वजनिक गरेको छ ।
बिहीबार सम्पन्न पार्टीको सचिवालय बैठकले लिएका निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा जारी गरेको २५ बुँदे संयुक्त वक्तव्यदेखि यताका घटनाक्रमहरुले नेपालको कुटनीति असन्तुलित मात्रै भएको देखिएको छैन, नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशिलको मान्यता तथा मापदण्डविपरीत गम्भीर प्रकृतिका गतिविधि राज्यका जिम्मेबार व्यक्तिहरुबाट हुँदै आएको छ । खासगरी कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा, जो भावी प्रधानमन्त्रीको लाइनमा छन्, ले भारतको गोवामा तिब्बतका निर्वासित नेताहरुसँग भेटघाट गरेका थिए र एउटै मञ्चमा बसेर ‘इण्डिया आइडियाज कन्क्लेभ–२०१६’लाई सम्बोधन गरेका थिए । देउवाको यस कदमलाई लिएर चीनले असन्तुष्टी जाहेर गरेको छ भने कुटनीतिक वृतमा देउवाको चर्को आलोचना भइरहेको छ ।
मंसिर १० मा विरोध प्रदर्शन गरिने
क्रान्तिकारी माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयलाई लिएर आउदो मङ्सिर १० गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । संघर्षका कार्यक्रमहरु राज्य तथा जिल्लाले आफ्नो सापेक्षतामा दिनसक्ने पनि पार्टीको सचिवालय बैठकले निर्णय गरेको छ ।
संविधान खारेजीको माग गर्ने शक्तिसित मोर्चाबन्दी गर्ने
अध्यक्ष किरणले शुक्रबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या गम्भीर बन्दै गइरहेको वर्तमान स्थितिमा राज्य पुनःसंरचना, संविधान संशोधन लगायतका विषयलाई सरकारले आफ्नो कार्यसूचीको प्रमुख विषय बनाउँदै आएको छ । विभिन्न ऐतिहासिक जनआन्दोलन र दश वर्षको महान् जनयुद्धको प्रक्रियामा उठाइएका मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रसहित उत्पीडित वर्ग र जनसमुदायका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधान यसप्रकारको राज्य पुनःसंरचनासहितको संविधान संशोधनद्वारा होइन, वर्तमान संविधानको खारेजी र सङ्घीय जनगणतान्त्रिक संविधानको निर्माणबाट मात्रै हुने नीतिप्रति पार्टी दृढ रहिआएको छ । तसर्थ, बैठकमा मुख्यतः दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गका हकहितको प्रतिनिधित्व गर्ने वर्तमान संविधानको खारेजी र सङ्घीय जनगणतान्त्रिक संविधान निर्माणका लागि जनआन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्ने र उक्त विषयसित सम्बन्धित कुनै पनि बँुदासित सहमत हुने राजनीतिक शक्तिसित कार्यगत एकता गरी अगाडि बढ्ने निर्णय लिइएको छ ।”
क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध बनाउन पहल गर्ने
क्रान्तिकारी माओवादीले विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
कार्तिक २४ र २५ गते पार्टी कार्यालय बुद्धनगरमा बसेको सचिवालय बैठकमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीका साङ्गठनिक काम लगायतका विषयबारे अध्यक्ष किरणले मौखिक रूपमा सङ्क्षिप्त रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकले साङ्गठनिक तथा व्यवस्थापनसित सम्बन्धित कतिपय महत्वपूर्ण विषयमा आवश्यक निर्णय लिएको जनाएको छ भने हालै सप्तरी जिल्ला पार्टी समितिका सदस्य लोचन चौधरी र दैलेखका जिल्ला समितिका सदस्य प्रेम चौलागाईंको निधन भएकोमा वहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली दिंदै शोक प्रस्ताव पारित गरेको जनाएको छ ।